- २१ जेठभित्र अनिवार्य रूपमा सदस्यता अद्यावधिक गरिसक्न सम्पूर्ण वडा कार्यसमितिलाई निर्देशन
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिलाई कारबाही गर्ने चेतावनी दिएको छ । देशभरका ६ हजार ७४३ वटै वडा कार्यसमितिलाई परिपत्र गर्दै कांग्रेसले २१ जेठभित्र अनिवार्य रूपमा सदस्यता अद्यावधिक गरिसक्न निर्देशन दिएको हो ।
‘क्रियाशील सदस्यता अद्यावधिकको कार्यमा असहयोग गरेमा विधानबमोजिम वडा सभापतिको वैकल्पिक व्यवस्था गरिनेछ,’ परिपत्रमा भनिएको छ, ‘असहयोग गर्ने वडा सभापतिको विवरण पालिका कार्यसमितिले केन्द्रलाई उपलब्ध गराउनुपर्नेछ ।’
पार्टीको विद्यमान सदस्यता वितरण र अभिलेखीकरण प्रणालीलाई व्यवस्थित, चुस्त र सहज बनाउन कांग्रेसले विभिन्न डिजिटल माध्यमहरूको प्रयोग गरेको छ । वडाका सभापतिहरूले पनि आफ्नो मोबाइलमा एप स्टोर र गुगल प्ले स्टोरबाट कांग्रेसको एप डाउनलोड गरेर लगइन गरी तोकिएको समय २१ जेठभित्रै क्रियाशील सदस्यता अद्यावधिकको गर्न निर्देशन दिइएको छ ।
अनुगमनको जिम्मेवारी पालिका कार्यसमितिलाई दिइएको छ । कांग्रेसका ७७ वटै जिल्ला कार्यसमिति र ७५३ वटै पालिका कार्यसमितिलाई परिपत्रको बोधार्थ पठाइएको छ । कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधन) तथा केन्द्रीय कार्यसमितिको गत ११ चैतको निर्णयबमोजिम पार्टीद्वारा उपलब्ध गराइएको विभिन्न प्रविधिको प्रयोग गर्दै क्रियाशील सदस्यता अद्यावधिकको कार्य देशभर उत्साहजनक रूपमा भइरहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य एवं सहमहामन्त्री प्रकाश स्नेहीले बताए ।
इतर पक्षले भने १५औँ महाधिवेशनका लागि यसअघि नै सदस्यता नवीकरण भइसकेकाले सोही प्रयोजनका लागि पुनः सदस्यता अद्यावधिक गर्नु बदनियतपूर्ण भएको आरोप लगाएको छ ।
निर्वाचन ब्युरोमा १७ सदस्य मनोनयन
कांग्रेस सभापति गगन थापाले उपसभापति पुष्पा भुसाल संयोजक रहेको प्रदेश तथा स्थानीय तह निर्वाचन केन्द्रित ‘कांग्रेस निर्वाचन ब्युरो’मा सदस्य मनोनयन गरेका छन् । थापाले १७ नेतालाई निर्वाचन ब्युरोको जिम्मेवारी दिएका हुन् । जसमा जीवन परियार (कास्की), ब्युरोलाई पार्टीको देशव्यापी निर्वाचन डाटाबेस निर्माण गर्ने, निर्वाचन तयारीलाई तथ्यांक आधारित र वैज्ञानिक बनाउने, ७५३ स्थानीय तह, ६ हजार ७४३ वडा र सात प्रदेशस्तरमा विस्तृत निर्वाचन योजना तयार गर्ने कार्यादेश दिइएको छ ।
ब्युरोले मतदाता र वस्तुस्थिति विश्लेषण गरी उम्मेदवार छनोट प्रणाली वैज्ञानिक र तथ्यपरक बनाउने, स्पष्ट र प्रभावकारी निर्वाचन रणनीति तय गर्ने, पार्टीको निर्वाचन अभियानलाई आधुनिक राजनीतिक अभियान संरचनामा रूपान्तरण गर्नेछ ।