बुधबार १० बजेसम्मको प्रमुख १० खबर

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण

प्रधानन्यायाधीश सिफारिसविरुद्धकाे दरपीठ रिट दर्ता, जेठ ११ गतेको पेसी

संवैधानिक परिषद्ले गरेकाे प्रधानन्यायाधीश सिफारिसविरुद्धको दरपीठ रिट दर्ता भएको छ। प्रधानन्यायाधीशको पदबहालीपछि बुधबार दर्ता भएको रिटको पेसी जेठ ११ गतेलाई तोकिएको छ।

परिषद्ले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गरेपछि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ललाई नै सिफारिस गर्नुपर्ने मागसहित रिट निवेदन परेको थियो।

२५ वैशाखमा आएका तीनवटा रिट निवेदन सर्वोच्च प्रशासनले दरपीठ गरेपछि मल्ल स्वयंले सर्वोच्च प्रशासनलाई गत सोमबार दिउँसो १ बजेभित्र निवेदन दर्ता गरी मंगलबारका लागि पेसी तोक्न आदेश दिएकी थिइन्।

सदस्यता अद्यावधिकमा असहयोग गरे वडा सभापतिलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक कार्यमा असहयोग गरे वडा सभापतिलाई कारबाही गर्ने चेतावनी दिएको छ।

बुधबार सबै वडा सभापतिहरूलाई बोधार्थ गरी जारी विज्ञप्तिमा असहयोग गर्ने वडा सभापतिको विवरण केन्द्रमा उपलब्ध गराउन पालिका कार्यसमितिलाई निर्देशन दिइएको छ।

पशुपति विकास कोष घेराउ गर्दै तिलगंगाका बासिन्दाले भने– हामी पीडित हौँ, पीडक होइन

तिलगंगा क्षेत्रको बस्ती हटाइएपछि त्यहाँका स्थानीयले पशुपति क्षेत्र विकास कोषको कार्यालय पुगेर प्रदर्शन गरेका छन्। ‘हामी पीडित हौं पीडक होइन, हामी स्थानीय हौं सुकुम्बासी होइन’ भन्दै उनीहरुले बुधबार विरोध प्रदर्शन गरेका हुन्।

गुरुयोजनालाई आधार मानेर आफूहरुको सम्पत्ति अधिकरण गरे पनि गुरुयोजनमै लेखिएको स्थान्तरणलाई बेवास्ता गरेको स्थानीयको आरोप छ।

सरकारसँग पाँचबुँदे सहमतिपछि २३औँ दिनमा अनशन तोडिन् रुबि खानले

सरकारसँग पाँचबुँदे सहमतिसँगै अधिकारकर्मी रुबि खानले २३औँ दिनमा अनसन तोडेकी छिन्। बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानलगायतका माग राख्दै उनी अनशनरत थिइन्। 

खानलाई प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले पानी खुवाएर अनशन तोडाएकी हुन्। बाँकेको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज (नेपालगन्ज अस्पताल)मा अनशनरत खानसँग वार्ताका लागि सरकारले टोली खटाएको थियो। 

लिचीबारी जग्गा प्रकरण : पूर्वमन्त्री गुप्तालाई ५० लाख धरौटीमा रिहा गर्न आदेश

पोखराको लिचीबारी जग्गा प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने विशेष अदालतको आदेश सर्वोच्च अदालतले बदर गरिदिएको छ।

न्यायाधीशद्वय सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासले गुप्तालाई ५० लाख नगद धरौट वा सोबराबरको बैंक ग्यारेन्टी वा जेथा जमानतमा तारेखमा छाड्न आदेश दिएको हो।

साइपाल जान लागेको हिमाली गाउँपालिकाको टोलीमाथि आक्रमण, घाइतेलाई हेलिकाेप्टरबाट सुर्खेत लगियो

साइपाल हिमालको आधार शिविर रानीसैनतर्फ जाँदै गरेको बाजुराको हिमाली गाउँपालिकाको टोलीमाथि हुम्लाको खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकाका स्थानीयले आक्रमण गरेका छन्। आक्रमणबाट घाइते भएका ६ जनामध्ये चारजनालाई हेलिकाेप्टरमार्फत उपचारका लागि आज बिहीबार दिउँसो करिब १ बजेतिर सुर्खेत लगिएको छ।

लाम्पाटा र रानीसैन क्षेत्रको सीमाविवादलाई लिएर खार्पुनाथ गाउँपालिकाकाे वडा नं. २ र ३ मा पर्ने थालीगाउँ तथा सर्केगाड गाउँपालिकाकाे वडा नं. ३ मा पर्ने रिप गाउँका स्थानीयले हिमाली गाउँपालिका– ३ लाम्पाटामा पुगेको टोलीमाथि कुटपिट गरेका हुन्।

प्रतिनिधिसभामा दुईवटा विधेयक दर्ता

प्रतिनिधिसभामा दुईवटा संशोधन विधेयक दर्ता भएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा दुईवटा महत्त्वपूर्ण संशोधन विधेयकहरू प्रस्तुत गरिएका छन्। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाह (बालन)को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले व्यवस्थापन कार्यअन्तर्गतका विधेयकहरू सदनमा पेस गरेकी हुन् । 

मन्त्री गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दै उक्त विधेयक सदनमा पेस गरिन् । त्यसैगरी, मन्त्री गौतमले नै ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ लाई पनि सदनसमक्ष प्रस्तुत गरिन् ।

अन्नपूर्ण र एभरेस्ट बेसक्याम्पका भरियाहरूको पारिश्रमिक बढाउन सांसद श्रेष्ठको आग्रह

सांसद रजनी श्रेष्ठले अन्नपूर्ण बेसक्याम्प र एभरेस्ट बेसक्याम्पमा भारी बोक्ने भरियाको पारिश्रमिक दयनीय भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले जोखिमपूर्ण यात्रामा रहेका भरियाहरूको दिनको पारिश्रमिक एक हजार आठ सय भएको र अन्नपूर्ण बेसक्याम्प र एभरेस्ट बेसक्याम्प क्षेत्रमा एक छाकको खानाके ११ सयदेखि १३ सयसम्म हुने भएकाले उनीहरूको पारिश्रमिकले दुई छाक खानसमेत नपुग्ने उल्लेख गरिन्।

नेप्से ३० अंकले बढ्दा तीन अर्ब ८२ करोडकाे काराेबार

दैनिकजसो ओरालो लागेको सेयर बजारमा बुधबार सुधार देखिएको छ। नेप्से परिसूचक ३०.०८ अंकले बढेर दुई हजार ७५४.४८ विन्दुमा कायम भएको छ। आज नेप्से १.१० प्रतिशतले वृद्धि भएको हो।

नेप्से बढे पनि कारोबार रकममा तुलनात्मक रूपमा सुधार देखिएको छैन। यद्यपि, मंगलबारकाे तुलनामा भने बढेकाे छ। आज एक करोड ६ लाख ६१ हजार कित्ता सेयर तीन अर्ब ८२ करोडमा खरिद–बिक्री भएको छ। अघिल्लो दिन तीन अर्ब आठ करोडको सेयर कारोबार भएको थियो।

आज सेयर बजारको १३ वटै समूहको सूचकमा वृद्धि भएको छ। वित्त, होटेल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार समूह एक प्रतिशतभन्दा धेरैले बढ्दा बाँकी समूहको वृद्धिदर एक प्रतिशतभन्दा कम छन्।

ओडिआई बलिङ वरीयतामा ललित १६ स्थान उक्लिए

ललित राजवंशी आइसिसीको ओडिआई बलिङ वरीयतामा १६ स्थान उक्लिएका छन्। आइसिसीले मंगलबार अद्यावधिक गरेको सूचीमा ललित ५३औँ स्थानमा छन्।

यसैगरी, सन्दीप लामिछानेले ६ स्थान सुधार गरेर ३६औँ नम्बरमा स्थान बनाएका छन्। तीन स्थान सुधार गरेका दीपेन्द्रसिंह ऐरी ७९औँ स्थानमा रहँदा आठ स्थान तल झरेका करण केसी ९६औँ नम्बरमा छन्।

सुझावित समाचार