कांग्रेसमा पटक–पटक देखिँदै आएको क्रियाशील सदस्यता विवाद पुनः चर्किएको छ । संस्थापन पक्षले सदस्यता अद्यावधिक अभियान जारी राख्दा इतर पक्षले भने सदस्यता अद्यावधिक नगर्न आह्वान गरेको छ । तर, संस्थापन पक्षले सदस्यता अद्यावधिक नगरे महाधिवेशनमा सहभागी हुन नपाउने स्पष्ट पारेको छ । र, सदस्यता अद्यावधिक गर्ने समय आगामी २१ जेठसम्म थपेको छ ।
वैशाख मसान्तसम्म सदस्यता अद्यावधिक गरिसक्ने लक्ष्यसहित संस्थापन पक्षले केन्द्रीय नेताहरूलाई देशव्यापी रूपमा परिचालन गरे पनि अझै सम्पन्न भएको छैन । यसअघि क्रियाशील सदस्यताको विषय नटुंगिएकै कारण गत पुसमा निर्धारण गरिएको १५औँ महाधिवेशन हुन सकेको थिएन । नियमित महाधिवेशन हुन नसकेपछि तत्कालीन संस्थापन पक्षविनै तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन भएको थियो । विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा गठित कार्यसमितिलाई सर्वोच्च अदालतले मान्यता दिएपछि आगामी १६–१९ असोजमा १५औँ महाधिवेशनको मिति तोकिएको छ । र, महाधिवेशनको पहिलो चरणअन्तर्गत सदस्यता अद्यावधिकको काम अघि बढाएको हो । सभापति थापाले काठमाडौं महानगरपालिका– ३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै गत १ वैशाखमा अभियान सुरु गरिएको थियो । क्रियाशील सदस्यता अद्यावधिक र पार्टीलाई पुनर्संगठित गर्ने यस अभियानलाई कांग्रेसले जरा अभियानको नाम दिएको छ ।
संगठनलाई व्यवस्थित, सुदृढ र अद्यावधिक बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको कांग्रेस सदस्यता व्यवस्थापन समितिका सदस्य एवं सहमहामन्त्री प्रकाश स्नेहीले जानकारी दिए । अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिक भइरहेको उनले बताए । ‘१४५ वटा क्षेत्रमा सदस्यता अद्यावधिकको काम सुरु भइसकेको छ । भोलि (आइतबार)बाट १६५ वटै क्षेत्रबाट अद्यावधिक हुन्छ,’ उनले भने, ‘अद्यावधिकमा प्राविधिक कठिनाइ थियो । पुरानो परम्पराबाट प्रविधिमा जाँदा केही समय लाग्यो । अहिले हामीले संसारको जुन कुनाबाट पनि सदस्यता हेर्न सकिने बनाएका छौँ ।’ अहिलेसम्म कति अद्यावधिक भयो भन्ने रेकर्ड समितिसम्म आइपुगेको छैन । ‘काम धमाधम भइरहेको छ । अहिले ठ्याक्कै डाटा आइपुगेको छैन । हामीले अहिले क्वान्टिटीभन्दा क्वालिटीमा जोड दिएका छौँ,’ स्नेहीले भने, ‘सबै सदस्यको टेलिफोन नम्बर, फोटो, सदस्यले चलाउने सबै सामाजिक सञ्जाललगायत सम्पूर्ण विवरण अद्यावधिक हुन्छ । सदस्यको सम्पूर्ण विवरण प्रविधिबाट हेर्न सकिन्छ ।’
वडामा जान नसक्नेको हकमा अनलाइनमार्फत अद्यावधिक गर्न सकिने व्यवस्था मिलाइएको छ । तर, त्यसको अनुमोदन केन्द्रीय कार्यसम्पादन समितिले गर्नुपर्नेछ । ‘सदस्यताका लागि वडामा जानुपर्छ । तर, वडामा जान नसक्ने अवस्थामा जहाँबाट पनि अद्यावधिक गर्न सकिन्छ । कोही बिरामी छ, कोही विदेशमा छ भने वडामा नगएर पनि अद्यावधिक गर्न सकियो । तर, उनीहरूको नवीकरण गर्ने/नगर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई हुन्छ,’ स्नेहीले भने । सदस्यता अद्यावधिक नगरे महाधिवेशनमा सहभागी हुन नपाउने उनले स्पष्ट पारे । ‘यदि कोही सदस्यले सदस्यता अद्यावधिक गरेनन् भने उनीहरू महाधिवेशन प्रक्रियामा सहभागी हुन पाउँदैन । पुरानो सदस्यता रेकर्डमा चाहिँ देखिन्छ,’ उनले भने ।
महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा कांग्रेस सदस्यता व्यवस्थापन समिति छ । समितिले क्रियाशील सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिकसम्बन्धी कार्य २१ जेठभित्र समय थपेको छ । ‘सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यताको अभिलेखीकरणलाई डिजिटल रूपमा सबैभन्दा बलियो सदस्य नेटवर्क भएको पार्टी बनाउनका लागि विभिन्न डिजिटल माध्यम प्रयोगमा ल्याएको छ,’ समितिले भनेको छ, ‘कांग्रेसका प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट अनलाइनमार्फत फाराम भरी अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको छ । यसका लागि कांग्रेसको सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फाराम’ उपलव्ध गराइएको छ ।’ कांग्रेससँग आबद्ध विदेशस्थित ‘नेपाली जनसम्पर्क समिति’ हरूका लागि पनि ‘स्वयं सदस्यता आवेदन फाराम’ उपलब्ध गराइएको छ । सदस्यता अद्यावधिक नगर्ने र कांग्रेस परिचयपत्र प्राप्त नगर्ने व्यक्तिले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने विधानमा व्यवस्था छ । त्यसैले तोकिएको समयावधिभित्रै सदस्यता अद्यावधिक गर्नु/गराउनु हुन सम्बन्ध सबैलाई समितिले आग्रह गरेको छ ।
संस्थापन पक्षले १५औँ महाधिवेशनको मिति घोषणा गरेर क्रियाशील सदस्यता अद्यावधिक गरिरहेको छ भने इतर पक्षले सदस्यता अद्यावधिक अभियानमा सहभागी नहुन आफूपक्षीय नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ । १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यहरूको नवीकरण भइसकेकाले त्यसलाई दोहोर्याएर गर्न खोज्नु बद्नियतपूर्ण देखिएको इतर पक्षको जिकिर छ । इतर पक्षका नेता कुन्दनराज काफ्लेले देशैभरिका क्रियाशील सदस्यलाई सदस्यता अद्यावधिक नगर्न आह्वान गरेको बताए ।
भ्रातृ संस्थामा समानान्तर कमिटी बनाउने निर्णय
कांग्रेसको संस्थापन इतर पक्षले भ्रातृ संगठनमा समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको छ । काठमाडौंको सुकेधारामा शनिबार भएको भेलाले महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दललगायतका संघ अलोकतान्त्रिक तरिकाले विघटन गरेको भन्दै कार्यकर्ता भेला गरी कमिटी गठन गर्ने निर्णय गरेको हो । ‘विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय समितिले नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ र नेपाल तरुण दललगायतका भ्रातृसंस्थाहरूलाई अलोकतान्त्रिक तवरले विघटन गर्दा पार्टीको बृहतर एकतामा आघात पुगेको हुनाले सो संस्थासम्बद्ध नेता कार्यकर्ताहरूको भेला गरी नयाँ केन्द्रीय समितिहरू गठन गर्ने’ निर्णय युवा भेलाले गरेको छ । महिला संघमा सभापति थापाले मीना खरेललाई नियुक्त गरिसकेका छन् । यस्तै, संस्थापन पक्षले पार्टीको विधानविपरीतसमेत हुने गरी पार्टी एकताविरुद्ध विभिन्न गतिविधि गरेको तथा पार्टीका जिम्मेवार र इमानदार नेता कार्यकर्ताहरूलाई अनुशासनको नाममा अनुचित कारबाही गरेको ठहर गर्दै भेलाले त्यस्ता गतिविधि रोक्न तथा पार्टीको बृहत्तर एकताका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
कांग्रेस मिलाउने कि फुटाउने सभापतिको हातमा छ : खड्का
कांग्रेस पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको अवस्थामा पुगेको बताएका छन् । कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले शनिबार आयोजना गरेको ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा उनले पार्टी विभाजनको अवस्थामा पुगेको बताएका हुन् । केही दिनअघि सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग भएको भेटको प्रसंग उल्लेख गर्दै खड्काले आफूले पार्टी विभाजनको बाटोमा जान नहुने सुझाव दिएको बताए । ‘पार्टी विभाजनको डिलमा छ, त्यो बाटोमा जान हुन्न, तर पार्टी मिलाउने कि फुटाउने भन्ने जिम्मा दुईजनाको हातमा छ मैले भनेको छु,’ उनले भने, ‘गगन थापा सिंगो कांग्रेसको नेता बन्न सक्नुपर्छ ।’ खड्काले आफूले पटक–पटकको भेटमा पार्टीभित्र सबैलाई समेटेर अघि बढ्नुहोस् भनेर भनेको उनले सुनाए ‘सानेपाको मात्रै सभापति देखिएर भएन,’ उनले भने, ‘क्रियाशील सदस्यहरूले पनि आफ्नो भएको महसुस गर्नुपर्यो ।’ विशेष महाधिवेशनकै कारण पार्टी कमजोर बनेको उनले दाबी गरे । ‘विशेष महाधिवेशनकै प्रभावका कारण प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस खुम्चिन पुगेको छ,’ उनले भने, ‘विशेष महाधिवेशनका कारण कांग्रेस ३८ सिटमा खुम्चियो । कांग्रेसको यस्तो अवस्था नभएको भए देशको परिस्थिति अर्कै हुन्थ्यो ।’