सक्रिय बन्दै ओली : चुनावपछि पहिलोपटक बोलाए एमाले सचिवालय बैठक

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण

एमालेले शनिबार केन्द्रीय सचिवालय बैठक बोलाएको छ । अध्यक्ष केपी ओलीको निवास भक्तपुर, गुन्डुमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । ओलीको स्वास्थ्य सुधारोन्मुख भए पनि पूर्ण स्वस्थ नभइसकेकाले बैठक गुन्डुमै बस्न लागेको हो । 

उपमहासचिव लेखराज भट्टले बैठकको जानकारी आए पनि एजेन्डाबारे जानकारी नभएको बताए । ‘बैठक बस्ने खबर आएको छ, एजेन्डाबारे जानकारी छैन,’ उनले भने, ‘अध्यक्षको स्वास्थ्य अवस्थालाई ख्याल गरेर बैठक निवासमै बोलाइएको छ ।’ उनले २१ फागुनमा सम्पन्न निर्वाचनको समग्र समीक्षासम्बन्धी महŒवपूर्ण एजेन्डालगायतमा छलफल हुन सक्ने बताए । ‘तलबाट रिपोर्ट मागिएकाले संश्लेषण भएरै आएको होला,’ भट्टले भने, ‘त्यसममाथि नै केन्द्रित रहेर छलफल हुन सक्छ ।’ 

चैत पहिलो साता बसेको सचिवालयको बैठकले तलबाट चुनावी समीक्षा गरेर सचिवालय हुँदै केन्द्रीय कमिटीमा समीक्षा प्रतिवेदनमा केन्द्रित भएर छलफल गर्ने नीति लिएको थियो । त्यही नीतिअनुसार समीक्षा गरेर प्रतिवेदन पठाउन एमालेले प्रदेश र जिल्लाहरूलाई निर्देशन दिएको थियो । त्यसअनुसार पालिका तहसम्म समीक्षा भइसकेको छ । तर, यसबिचमै अध्यक्ष ओली पितृशोक तथा गिरफ्तारीमा परेको र लगत्तै हर्निया र पत्थरीको अप्रेसनका कारण अस्वस्थ रहेकाले एमालेले सचिवालय बैठक बोलाउन सकेको थिएन । तर, उनको स्वास्थ्यमा सुधार भएसँगै बैठक बोलाइएको एमालेले जनाएको छ । 

महासचिव शंकर पोखरेलले केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला नेतृत्व, जनवर्गीय संगठनका पदाधिकारीसहित करिब तीन हजारलाई चुनावमा पार्टीले भोग्नुपरेको पराजयको कारण र अबको दिशाका विषयमा सुझाव लिने गरी लिखित प्रश्नपत्र नै वितरण गरेका थिए । तलबाट आएका समीक्षा र करिब तीन हजारआसपास सुझावलाई आधार मानेर उनले चुनावी समीक्षा प्रतिवेदन बनाएको एक पदाधिकारीले बताए । 

एमालेले चुनावमा व्यहोरेको अकल्पनीय क्षतिको नैतिक जिम्मेवारी लिँदै ओलीले राजीनामा दिएर पार्टी पुनर्गठनका लागि ढोका खुलाउनुपर्ने इतर पक्षले आवाज उठाउँदै आएको छ । तर, सचिवालय र केन्द्रीय समितिमा कमजोर अवस्थाका कारण पछिल्ला दिनमा उपाध्यक्ष विष्णु पौडेल, महासचिव पोखरेलसहितका नेताहरूसँग मिलेर पुनर्गठनको एजेन्डालाई जोडदार उठाउने इतर पक्षको नीति छ । तर, अबको बैठकमा पौडेल र पोखरेल पुनर्गठनको पक्षमा खुल्छन् कि खुल्दैनन् स्पष्ट छैन । 

पूर्वराष्ट्रपति विद्या भण्डारी र नेता ईश्वर पोखरेलसँग निकट रहेको समूहले भने अब बस्ने केन्द्रीय समिति बैठकमा पार्टीलाई माथिदेखि तलसम्म पुनर्गठनका लागि दबाब दिन केन्द्रीय सदस्यहरूमार्फत लबिङ नै गरिरहेका छन् । बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र थपलियासहितका केही युवाले पुनर्गठनका पक्षमा अलग्गै अभियान चलाइरहेका छन् । उनीहरूले पुनर्गठनको दिशामा नलगिए विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलनमार्फत दबाब दिने नीति पनि लिएका छन् ।

See More On

सुझावित समाचार