कांग्रेस कर्णाली प्रदेश भेला- ‘खुसी कर्णाली, समुन्नत नेपाल’को लक्ष्यसहित २१ बुँदे संकल्प पारित

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण

कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सुर्खेतमा सम्पन्न दुईदिने कर्णाली प्रदेश भेलाले २१ बुँदे संकल्प प्रस्ताव पारित गरेको छ । २८ र २९ वैशाखमा भएको भेलामा जनप्रतिनिधि र पार्टी नेतृत्वबिचको छलफलपछि कर्णालीको विकास र सुशासनका लागि साझा प्रतिबद्धता जनाइएको हो ।

कांग्रेस उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माका अनुसार कर्णालीको जल, जंगल, जमिन, जडीबुटी र यहाँको विशिष्ट संस्कृतिलाई समुन्नतिको आधार बनाउने प्रण गरिएको छ । ‘खुसी कर्णाली’ नै समुन्नत नेपालको पहिचान बन्नुपर्छ भन्ने मान्यतालाई संकल्पको मूल मर्म मानिएको छ ।

सुशासन र सेवा प्रवाहमा जोड
पारित संकल्पमा नागरिकलाई घरदैलोमै सेवा पुर्याउने विषयलाई प्राथमिकता दिइएको छ । अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती र विपन्न बस्तीका नागरिकलाई घरआँगनमै सेवा दिने कार्यलाई थप व्यवस्थित बनाइने उल्लेख छ । हचुवाका भरमा योजना छनोट गर्ने परिपाटी अन्त्य गरी ‘प्रोजेक्ट बैंक’मार्फत परिणाममुखी र ठुला योजनालाई मात्र प्राथमिकता दिइने संकल्पमा उल्लेख छ ।

जनताको करबाट उठेको राजस्व अनुत्पादक क्षेत्रमा लगानी नगर्ने र विनियोजित बजेट सीमाबाहिर गएर अपारदर्शी निर्णय नगर्ने प्रतिबद्धता जनाइएको छ ।

त्यस्तै, कर्णालीको बेरोजगारी समस्या हल गर्न भेलाले केही नवीन कार्यक्रम घोषणा गरेको छ । ‘उद्यमी आमा’ कार्यक्रमअन्तर्गत महिलाको परम्परागत सिपलाई उद्यममा बदल्न र उत्पादनशील क्षेत्रमा उनीहरूको सहभागिता बढाउन यो कार्यक्रम सञ्चालन गरिने भएको छ । ‘श्रमदेखि उद्यमसम्म’ योजनाबाट वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको सिप र अनुभवलाई कर्णालीमै उपयोग गरी उद्यम सुरु गर्न प्रोत्साहन गरिने उल्लेख छ । त्यस्तै, स्थानीय कच्चा पदार्थमा आधारित उद्योग र उद्यमशीलताका लागि कर सहुलियत तथा बजार प्रवर्द्धनको व्यवस्था गरिनेछ ।

शिक्षा र स्वास्थ्यमा लगानी
भेलाले शिक्षा र स्वास्थ्यलाई केवल संघीय अनुदानको भरमा नछोडी आन्तरिक स्रोतबाट समेत लगानी बढाउने संकल्प गरेको छ । कर्णालीको आफ्नै विशिष्टता झल्कने पाठ्यक्रम निर्माण, अनुसन्धानमा आधारित शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा सुधारका लागि सिर्जनात्मक कार्यक्रम ल्याइने संकल्प प्रस्तावमा उल्लेख छ । कर्णाली प्रदेशका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला र प्रदेश तहका नेतृत्वको सहभागिता रहेको यो भेलाले कांग्रेसको आगामी कार्यदिशा र स्थानीय सरकार सञ्चालनको मोडेल तय गरेको बताइएको छ ।

सुझावित समाचार