- कांग्रेस सभापति थापा, नेकपा संयोजक प्रचण्ड, पूर्वराष्ट्रपति भण्डारी र नारायणकाजी श्रेष्ठसँग छलफल, विपक्षी मोर्चाबन्दीको समझदारी
तीन सातादेखि भक्तपुरको गुन्डुस्थित निवासमै बेड रेस्टमा रहेका एमाले अध्यक्ष केपी ओलीले पछिल्लो साता पूर्वराष्ट्रपति विद्या भण्डारीसहित विपक्षी दलका शीर्ष नेताहरूसँग संवाद गरेका छन् । स्वास्थ्य सुधारोन्मुख हुँदै गएपछि गुन्डुमै पुगेर कांग्रेस सभापति गगन थापा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा नेता नारायणकाजी श्रेष्ठसहितका नेताले ओलीसँग अलग–अलग भेटवार्ता गरिसकेका छन् ।
मंगलबार राति कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा ओली निवास गुण्डु पुगेका थिए । ओली र शर्माबीच संसद्मा विपक्षी रणनीति र मुद्दा केन्द्रित विषयमा छलफल भएको थियो ।
डेढ सातादेखि ओलीको सचिवालय संयोजन गरिरहेकी एमाले केन्द्रीय सदस्य निरुदेवी पालले स्वास्थ्यमा केही सुधारपछि पछिल्लो अवस्थाबारे जानकारी लिएर स्वास्थ्य लाभको कामनाका लागि विपक्षी दलका शीर्ष नेताहरूले अध्यक्ष ओलीसँग अलग–अलग भेटवार्ता गरेको जानकारी दिइन् । गुन्डुमै पुगेर एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पनि ओलीसँग छलफल गरेका थिए । पित्तथैलीको स्टोन र हर्नियाको पनि अप्रेसन गरिएकाले कम्मरमा भएको घाउ क्रमशः सुक्न थालेको र निवासभित्रै सामान्य हिँड्ने तथा केहीबेर कुराकानी गर्ने अवस्था बन्दै गएको ओलीको सचिवालयले जनाएको छ । इन्फेक्सन हुन नदिन चिकित्सकको सुझावअनुसार ओलीले कम्मरमा ठुलो आकारको पेटी पनि बाँध्ने गरेका छन् । डा. दिव्या सिंहसहितको चिकित्सकको टोलीले घाउ सफा गर्नेसहित नियमित स्वास्थ्य फलोअप गरिरहेका छन् ।
स्टोनसँगै हर्नियाको पनि अप्रेसन भएको र त्यसमै इन्फेक्सनका कारण ओली वैशाख पहिलो सातादेखि नै निवासबाहिर निस्किन सकेका थिएनन् । जसले गर्दा एमालेको चुनावी आन्तरिक समीक्षा पनि प्रभावित भएको छ । उपाध्यक्ष पौडेल, महासचिव पोखरेलसहित पदाधिकारी तहकै नेताहरू पनि पार्टीलाई पुनर्गठनमा लैजान ओलीको सम्मानजक बहिर्गमनका पक्षमा रहेकाले उनको उपस्थितिमै बैठक बसाउने योजनामा छन् । उपाध्यक्ष पौडेलले पनि अध्यक्षले पूर्ण स्वास्थ्य लाभ गरिसकेपछि मात्र पार्टीको आन्तरिक विषयमा छलफल हुने बताए । ओलीसँग नियमित भेट र संवादमा रहेका पौडेलले भने, ‘अध्यक्षज्यू अहिले स्वास्थ्य लाभ गर्दै हुनुहुन्छ, त्यसैले विस्तृत रूपमा कुराकानी भएको छैन । त्यसपछि नै सबै कुराहरू हुँदै जान्छन् ।’ उनले अध्यक्षलाई भेटिरहेका अरू नेताहरूसँग के संवाद भयो भन्ने विषयमा जानकार नरहेको बताए । तर, नेतृ पालले भने बाहिर कम्युनिस्ट एकताको हल्ला चले पनि वास्तविकता त्यस्तो नभएको बताइन् ।
‘अहिले सरकार जसरी निरंकुश ढंगले चलिरहेको छ, त्यसले लोकतन्त्रको मूल्य–मान्यता नै खलबल्याएर लोकतन्त्र नै समाप्त गर्न सक्ने भएकाले नेताहरू सचेत हुनुभएको छ,’ पालले भनिन्, ‘जो–जति नेताहरूसँग यसबिचमा अध्यक्षको संवाद भयो, उहाँहरूबिच अहिलेलाई लोकतन्त्र पक्षधर सबै शक्तिहरू एक ठाउँमा उभिएर अघि बढ्ने र समसामायिक महत्वपूर्ण प्राथमिकताका मुद्दामा साझा ढंगले दृष्टिकोण निर्माण गर्दै अघि बढ्ने दिशामा सैद्धान्तिक समझदारी जुटेको छ ।’
ओलीसँगको संवादपछि विपक्षी दलहरू कांग्रेस, एमाले र नेकपाले संसद्मा अध्यादेश, सुकुमवासीको विस्थापन, संसद् नियमावलीलगायत मुद्दामा एउटै दृष्टिकोणसहित प्रस्तुत भइरहेका छन् । उनीहरूले संवैधानिक परिषद्लगायत अध्यादेशलाई राष्ट्रिय सभाको बहुमतबाट फेल गर्ने नीति पनि अख्तियार गरेका छन् ।
पूर्वराष्ट्रपति भण्डारीसँगको भेटवार्तामा ओली सामान्य शिष्टाचारका कुराकानीबाहेक पार्टीको आन्तरिक मामिला र भावी नीतिबारे खुलस्त रूपमा प्रस्तुत नभएको एक नेताले बताए । ‘शिष्टाचारका विषयबाहेक अलग्गै राम्रोसँग कुरा भएन, ओलीजी त्यति खुल्न पनि चाहनुभएन, उहाँ विगतभन्दा खासै परिवर्तन भएजस्तो पनि देखिँदैन,’ ओलीसँगको भेटपछि निकटस्थसँग पूर्वराष्ट्रपति भण्डारीले भन्ने गरेकी छिन् । ओलीसँग सम्बन्ध सुधारेर उनकै सहयोगमा पार्टीलाई पुनर्गठनमा लगेर अन्तरिम कालका लागि भने पनि नेतृत्व गर्ने मुडमा भण्डारी छिन् । स्वास्थ्य अवस्थासँगै ओलीको मुड बुझ्नकै लागि भण्डारी गुन्डु पुगेकी हुन् । तर, भण्डारीनिकट नेता विनोद ढकालले भने पार्टीभित्र शीर्ष तहका नेताहरूबिचको भेटवार्ताका विषय सामान्य भएको बताए । ‘अध्यक्षको स्वास्थ्य अवस्था ठिक नभएका वेला त झन् भेटघाटको विषयभित्र राजनीतिक अर्थ लगाइरहनुपर्ने आवश्यकता पनि छैन,’ उनले भने ।
हारलाई संकल्पमा बदल्नुपर्छ : महासचिव पोखरेल
एमाले महासचिव शंकर पोखरेलले निर्वाचनको हारलाई निराशाबाट जोगिएर नयाँ संकल्पमा बदल्नुपर्ने बताएका छन् । ३ जेठमा मनाइने मदन–आश्रित स्मृति दिवसको तयारीका सन्दर्भमा मंगलबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकलाई सम्बोधन गर्दै पोखरेलले संगठनले हारबाट सिकेर अझ सशक्त रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘हरेकले फेरि जित्छन्, त्यसका लागि नयाँ संकल्प आवश्यक छ,’ उनले भने । पछिल्लो निर्वाचन कुनै एक दलको मात्र हार नभई मूलधारका राजनीतिक शक्तिहरूका लागि चुनौती पनि भएको उनको टिप्पणी थियो । ‘यो नेपालका मूलधार दलहरूको पनि चुनौती हो,’ उनले भने ।
नियमित रूपमा बल्खुस्थित पुरानो पार्टी कार्यालय रहेको स्थानमा स्मृति दिवस मनाउँदै आएको उल्लेख गर्दै पोखरेलले यस वर्ष पनि देशभर रचनात्मक कार्यक्रम सञ्चालन गर्न पार्टी कार्यालयले सर्कुलर जारी गरिसकेको जानकारी पनि दिए । पोखरेलले पार्टी जीवनमा विभिन्न तरंग र चिन्ता स्वाभाविक हुने उल्लेख गर्दै पार्टी कमिटी र जनसंगठनहरूलाई नियमित गतिविधिमा केन्द्रित हुन आग्रह गरे । उनले निराशालाई आशामा बदल्ने जिम्मेवारी संगठनको भएको स्पष्ट पारे । बैठकमा सचिव तथा जनसंगठन समन्वय संयोजक भानुभक्त ढकाल, पार्टी सचिव तथा राजधानी विशेष प्रदेश इन्चार्ज डा. राजन भट्टराई, विभिन्न जनसंगठनका अध्यक्षहरू, राजधानीका पार्टी कमिटी तथा सम्पर्क कमिटीका अध्यक्षहरूको सहभागिता थियो ।