प्रधानमन्त्रीमाथि विपक्षीको प्रश्न
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको पोसाक र आचरणमा प्रश्न उठाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले देखाएको व्यवहारलाई लिएर विपक्षी सांसदहरूले सदनमै प्रश्न उठाएका हुन् ।
सोमबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । वाचन गरिदिन प्रधानमन्त्री शाहले नै राष्ट्रपतिलाई नीति तथा कार्यक्रमको प्रति हस्तान्तरण गरेका थिए । तर, राष्ट्रपतिले वाचन गर्दा प्रधानमन्त्री शाहबिचमै निस्केका थिए । करिब डेढ घण्टा राष्ट्रपतिले वाचन गर्दा प्रधानमन्त्री ५५ मिनेट मात्रै बैठकमा थिए । त्यसपछि उनी संसद् भवनभित्रको आफ्नो कार्यकक्षमा गएका थिए । विपक्षी दलले सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले सदनमा बसेर नसुनेकोमा प्रश्न उठाएका हुन् । विपक्षी दलले प्रधानमन्त्री शाहको पोसाकमा पनि प्रश्न उठाएका छन् ।
एमालेले त नीति तथा कार्यक्रम पेस गर्ने दोस्रो बैठकमा प्रधानमन्त्रीको पोसाकलाई लिएर नियमापत्ति नै गरेको छ । एमालेका गुरु बरालले भने, ‘देशले सुशासनसँग जोडिएर राष्ट्रिय मर्यादा र पहिचानको माग गरेको छ । देशको प्रधानमन्त्रीले दुइटा राष्ट्रिय महत्वका बैठकहरू, संयुक्त सदनमा राष्ट्रिय पोसाकको परिपालना गर्नुपर्छ कि पर्दैन ? चलन त्यसै चल्दैन, कस्तो चलन चलाउने हो देशमा ? सभामुखमार्फत रुलिङको माग गर्दछु ।’
प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर नेकपा प्रमुख सचेतक युवराज दुलालले पनि आलोचना गरे । ‘आफैँले बनाएको नीति कार्यक्रम राष्ट्रपतिज्यूले पढिनसक्दै, आधा घण्टा नहुँदै प्रधानमन्त्रीज्यू पनि सुन्न सायद बोरै लागेर होला संसद्को हलै छोडेर हिँड्नुपर्ने अवस्था आयो । प्रधानमन्त्री त्यसरी हिँड्नु अशोभनीय हो । राष्ट्रको प्रमुख व्यक्तिले संसद्मा हस्तान्तरण गरेको प्रति पढ्दै गर्दा छोडेर हिँड्नु त राष्ट्रिय लज्जाको विषय पनि हो,’ उनले भने ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीमा धैर्यता हुनुपर्ने पनि बताए । ‘प्रधानमन्त्रीको केटाकेटीपारा भयो । अधैर्य हुनुहुन्छ । रिसाएर निस्कनुभयो । त्यस्तो गर्नुहुँदैन । किन रिसाएर निस्कनुभयो मलाई थाहा भएन,’ उनले भने ।
त्यस्तै, रास्वपा उपनेता गणेश पराजुलीले भने केही आकस्मिकता परेर प्रधानमन्त्री सदनको बैठकमा आफ्नो हलमा गएको र दोस्रो बैठकमा नीति कार्यक्रम पेस गरेको बताए ।