कम्युनिस्ट एकता बाध्यात्मक बन्दै गएको छ : प्रचण्ड

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट एकता आजको आवश्यकता भएको बताएका छन् । निर्मल लामाको २६औँ स्मृति दिवसमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले कम्युनिस्ट आन्दोलन बहस, विभाजन र एकताको प्रक्रियाबाट अघि बढ्दै आएको बताएका हुन् । अब विगतको कुरा गरेर काम नलाग्ने भन्दै उनले विचार, राजनीति र संगठनमा कम्युनिस्ट एकता बाध्यात्मक बन्दै गएको दाबी गरे । दक्षिण एसियाबाटै कम्युनिस्ट सकियो भन्ने हल्ला चलेकाले कम्युनिस्टहरूलाई जिरोमा लैजाने षड्यन्त्रविरुद्ध हेक्का राखेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

प्रचण्डले आफू जहाँ पुगे पनि कम्युनिस्ट एकताको कुरा उठिरहेको बताए । ‘सबैभित्र एकताको माग हुन थालेको छ । देशभक्त र सच्चा कम्युनिस्टहरूको बिचमा एकता अहिले झन् विशेष रूपमा बढेको छ,’ उनले भने । गत निर्वाचनमा देशी–विदेशी डिजाइनअनुसार नै कम्युनिस्टहरूलाई हराइएको उनले दाबी गरे । ‘के–के भएका थिए पर्दाभित्र ? अनुसन्धान हुँदै जाला,’ उनले भने, ‘ती सबै खेलहरू अझै सतहमा आएका छैनन् ।’ कम्युनिस्टले मात्रै वर्गसंघर्षलाई माथि उठाउन सक्ने भन्दै उनले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । वर्गीय पक्षधरताको पक्षमा दृढतापूर्वक उभिएर अगाडि बढ्ने उनले बताए ।

प्रचण्डले सरकारले श्रमजीवी वर्गमाथि ठुलो आहत पुर्याएको र सबैभन्दा बढी पीडा गरिबलाई दिएको बताए । ‘सबभन्दा गरिब, जसको हामी वर्ग आधार भन्ने गछौँ । त्यही वर्गमाथि सरकारले अहिले प्रहार गरेको छ । वर्गसंघर्षलाई माथि उठाउन सबै कम्युनिस्टहरूबिच एकता गरेर अघि बढ्नुपर्नेछ,’ उनले भने ।

नेकपाले टुंग्यायो नेताहरूको कार्यविभाजन
आगामी मंसिरमा एकता महाधिवेशन गर्ने निर्णय गरेको नेपाली कम्युनिस्ट पार्टीले नेताहरूको कार्यविभाजन गरेको छ । नेताहरूको जिम्मेवारी तोकिएसँगै संगठनात्मक समायोजनको काम जेठ मसान्तभित्र सम्पन्न गर्दै महाधिवेशनमा जाने नेकपा प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

अनुशासन आयोगको संयोजकमा टंक राई, सहसंयोजकमा लेखराज गुरागाईं, लेखा परीक्षण आयोगको संयोजकमा भरतकुमार श्रेष्ठ र सहसंयोजकमा पेसल खतिवडा तथा निर्वाचन आयोगको संयोजकमा विष्णुपुकार श्रेष्ठ र सहसंयोजकमा अमर गिरीले जिम्मेवारी पाएका छन् ।

भौगोलिक र गैरभौगोलिक क्षेत्रका पार्टी कमिटी, जनसंगठन तथा मोर्चा, प्रवास, विषयगत विभागका साथै संसद् र स्थानीय तहको कार्यविभाजन पनि गरिएको छ । जसमा अनुगमन तथा मूल्यांकन विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठ तथा उपप्रमुखमा कल्याणी खड्का र कालीबहादुर मल्ल, अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा प्रमेशकुमार हमाल र उपप्रमुखमा परशुराम तामाङ, अर्थ तथा योजना विभाग प्रमुखमा शक्तिबहादुर बस्नेत, उपप्रमुखमा सोमप्रसाद पाण्डे र डा. कृष्ण पन्त, उद्यमशीलता तथा उत्पादन विभाग प्रमुखमा वामदेव गौतम, उपप्रमुखमा प्रह्लाद बुढाथोकी, उद्योग तथा वाणिज्य विभाग प्रमुखमा सुवासकुमार काफ्ले, उपप्रमुखमा परमानन्द भट्ट र गंगा कार्की छन् । 

पार्टी स्कुल विभाग प्रमुखमा डा. बेदुराम भुसाल, उपप्रमुखमा मायाप्रसाद शर्मा, संगठन विभाग प्रमुखमा वर्षमान पुन, उपप्रमुखमा रामचन्द्र यादव, प्रचार विभाग प्रमुखमा रेखा शर्मा र उपप्रमुखमा अशेष घिमिरे, महिला विभाग प्रमुखमा शशी श्रेष्ठ, उपप्रमुखमा उषा पोखरेल छन् ।

यस्तै, उपभोक्ता हित विभागमा डा. शिव बास्तोला, उपप्रमुखमा मीना लामा, ऊर्जा तथा जलस्रोत विभाग प्रमुखमा सावित्री भुसाल, उपप्रमुखमा रमेश मल्ल, कानुन विभाग प्रमुखमा देवप्रसाद गुरुङ, उपप्रमुखमा धनप्रसाद गौतम, कृषि तथा भूमि व्यवस्था विभाग प्रमुखमा रञ्जिता श्रेष्ठ छन् । 

See More On

सुझावित समाचार