साँफे–मार्तडी राजमार्गअन्तर्गत बाजुराको बुढीगंगा नगरपालिका– ६ मा पर्ने गुइगाड खोलाको पुल १५ वर्षसम्म अलपत्र पारेको भन्दै ठेकेदार कम्पनीलाई झन्डै १८ करोड जरिवाना गरिएको छ । ठेक्का सम्झौताअनुसार पुल निर्माण नगरेको भन्दै सडक डिभिजन साँफेबगर, अछामले राजेन्द्र थेगिम जेभी कम्पनीलाई १७ करोड ९९ लाख ३२ हजार ४४ रुपैयाँ जरिवाना गरेको हो । ठेकेदार कम्पनीलाई पटक–पटक छिटो निर्माणका लागि पत्राचार गर्दा पनि कुनै वास्ता नगरेपछि जरिवाना गरेको सडक डिभिजन कार्यालय साँफेले जानकारी दिएको छ ।
०६८ असारमा सडक डिभिजन कार्यालय साँफेबगरसँग राजेन्द्र थेगिम जेभीले ३० साउन ०७० भित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । पुल निर्माणका लागि नौ करोडको लागत थियो । कम्पनीले पाँच करोड ९६ लाख ११२ रुपैयाँमा ठेक्का सम्झौता गरी कामको जिम्मा लिएको थियो । निर्माण कम्पनीले सडक डिभिजन कार्यालयलाई ०७५ मा काम सम्पन्न गरेको जानकारी दिएको थियो । सडक डिभिजन साँफेले भने पक्की ट्रस ब्रिजको चेकजाँच गर्दा कमसल सामान र ट्रस ब्रिजमा लगाउनुपर्ने सामग्री स्टिमेटअनुसार जडान नभएको भन्दै निर्माण कम्पनीलाई पुनर्निर्माणका लागि पत्राचार गरेको सडक डिभिजन कार्यालय, अछामका कार्यालय प्रमुख बलिराम मल्लले बताए ।
सात वर्षअघि निर्माण भएको ६० मिटर लम्बाइको पुलले ४५ टन लोड भार धान्नुपर्ने थियो । तर, सडक डिभिजन कार्यालय र पुल महाशाखाबाट आएको इन्जिनियरको टोलीले लोड टेस्ट गर्दा ३० टन लोडसमेत धान्न नसकेर पुल लच्किएर चर्किएको सडक डिभिजन कार्यालयले जनाएको छ । ठेकेदार कम्पनीले स्टिमेटअनुसार पुल निर्माण नगरेकाले पुल पास नभएको मल्लले बताए ।
पुलको लोड चेकजाँच गर्दा धेरै लोड धान्न नसक्ने भएपछि पुलबाट कुनै दुर्घटना नहोस् भन्ने उद्देश्यले एकपटक एउटा गाडी आउने जाने गर्न पुलको दायाँबायाँ साइडमा साइनबोर्ड टाँसिएको छ । ठेकेदार कम्पनीलाई सडक डिभिजन कार्यालयले ९५ प्रतिशत रकम निकासा गरिसकेको छ । पाँच करोड ९६ लाख ११२ रुपैयाँमा निर्माणका लागि सम्झौता भएको पुलको पाँच करोड २८ लाख २० हजार ५७ रुपैयाँ निर्माण कम्पनीलाई निकासा भइसकेको मल्लले बताए ।
गुइगाड खोलामा पुल निर्माण कार्य सम्पन्न नहुँदा जोखिम मोलेर साना तथा ठुलो दूरीका सवारीसाधान सञ्चालन भइरहेका छन् । पुल जोखिममा रहेको भन्दै सडक डिभिजन कार्यालयले पुलको दायाँबायाँ साइडमा साइनबोर्ड राखेको छ । अर्को विकल्प नभएकाले जोखिम मोलेर गाडी सञ्चालन गरिरहेको अटोचालक सञ्जय थापाको भनाइ छ ।
सडक डिभिजन कार्यालय साँफेले १५ मंसिर ०८२ मै ठेक्का रद्द गरेर अहिले रकम असुलीउपरको अन्तिम प्रक्रियामा पुगेको हो । गत ९ चैतमा रकम दाखिलाका लागि ३५ दिने सूचना जारी गरिसकेको र सडक डिभिजनमा समयमै जरिवाना नतिरेपछि अन्तिम प्रक्रियामा पुगेको हो । निर्माण कम्पनीलाई जरिवाना तोक्नेबित्तिकै कम्पनीका सञ्चालकले आफूले पुल निर्माणको काम गरिरहेको भन्दै विभागमा निवेदन दिएको छ ।
सडक डिभिजन कार्यालय अछामका कार्यालय प्रमुख बलिराम मल्लले साँफे मार्तडी सडक बाजुरा, मुगु, हुम्ला, कालिकोटलगायत केही जिल्लाको मुख्य राजमार्ग भएकाले गुइगाड खोलामा वैकल्पिक सानो बेलिब्रिजको व्यवस्थापन गरिसकेको बताए । सोही ठाउँमा बेलिब्रिजका लागि डिपिआर भइसकेको र एक साताभित्र काम सुरु गर्ने बताए ।