नेपाली कम्युनिस्ट पार्टीले आगामी मंसिर दोस्रो साता एकताको महाधिवेशन गर्ने निर्णय गरेको छ । तर, करिब चार दर्जन पार्टी–समूहको संगठन समायोजन अझै हुन सकेको छैन । समायोजनको काम कार्यतालिकाअनुसार अघि बढ्ने नेकपाले जनाएको छ । प्रवक्ता प्रकाश ज्वाला समायोजनासम्बन्धी काम अब तीव्र गतिमा अगाडि बढ्ने बताउँछन् । ‘जेठ मसान्तभित्र समायोजन सक्ने निर्णय गरेका छौँ । तोकिएको समयमा सबै काम सक्ने गरी तीव्र गतिमा तयारी भइरहेको छ,’ उनले भने ।
मुख्यगरी तत्कालीन माओवादी र एकीकृत समाजवादीका सबै जिल्ला र पालिकामा कमिटी छन् । त्यसका साथै जनसंगठनका संयन्त्र पनि जिल्ला तहसम्म छन् । साबिक माओवादीबाट इन्चार्ज भए साबिक समाजवादीबाट संयोजक बनाउने गरी गृहकार्य भइरहेको छ । साबिक समाजवादीबाट इन्चार्ज बने साबिक माओवादीबाट संयोजक बन्नेछन् । पार्टी तथा जनवर्गीय, मोर्चा संगठनहरूको एकीकरण तथा समायोजनअन्तर्गत केन्द्र, प्रदेश, जिल्ला, स्थानीय पालिका, वडा तथा टोल तहसम्मको संगठनात्मक समायोजन प्रक्रिया आगामी जेठ मसान्तसम्ममा सम्पन्न गर्ने नेकपाको निर्णय छ ।
संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले नेताहरूको कार्यविभाजनसम्बन्धी अन्तिम गृहकार्य गरिरहेका छन् । कार्यविभाजन टुंगिएपछि सर्कुल जारी हुने र समायोजनको बाँकी काम अगाडि बढाउने नेकपाको तयारी छ । नेकपाले प्रवक्ताको जिम्मेवारी प्रकाश ज्वालालाई दिएको छ भने प्रदेश इन्चार्ज र संयोजक पनि टुंगो लगाइसकेको छ ।
कोशी प्रदेश इन्चार्जमा राजेन्द्र राई, मधेश इन्चार्जमा महिन्द्र राय यादव, बागमती इन्चार्जमा डा. गंगालाल तुलाधर, गण्डकी इन्चार्जमा श्रीनाथ बराल, लुम्बिनी इन्चार्जमा चक्रपाणि खनाल, कर्णाली इन्चार्जमा चन्द्रबहादुर शाही, सुदूरपश्चिम प्रदेशमा डा. भीम रावल, उपत्यका विशेष प्रदेश इन्चार्जमा हितमान शाक्य र सम्पर्क समन्वय प्रदेश इन्चार्जमा यशोदा सुवेदी गुरुङले जिम्मेवारी पाएका छन् । यस्तै, कोशी प्रदेश संयोजकमा हर्क नेम्वाङ, मधेश संयोजकमा राजु खड्का, बागमती संयोजकमा सरल सहयात्री, गण्डकी संयोजकमा गायत्री गुरुङ, लुम्बिनी संयोजकमा अब्दुल हुसेन खान, कर्णाली संयोजकमा विमला केसी, सुदूरपश्चिम संयोजकमा हरिराम चौधरी, उपत्यका विशेष प्रदेश संयोजकमा विष्णु लामिछाने र सम्पर्क समन्वय प्रदेश संयोजकमा तारानाथ दाहाल छन् ।
नेकपाले वडादेखि केन्द्रसम्मै युवाको ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने भएको छ । केन्द्रीय कार्यसंयोजक समिति बैठकको सबै कमिटीमा युवाको ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित ज्वालाले सबै कमिटी निर्वाचित र समावेशी हुने बताए । ‘पार्टीको वडादेखि केन्द्रसम्मका सबै कमिटी निर्वाचित हुनेछन् र समानुपातिक समावेशी मान्यताअनुसार कमिटी निर्माण हुनेछन् । निर्वाचित कमिटीहरूमा अनुभवी, प्रौढ र युवा तथा नवयुवाहरूको समावेशिता रहनेछ । जसमा युवा र नवयुवाहरूको प्रतिनिधित्व ५० प्रतिशतसम्म पुर्याइनेछ,’ उनले भने ।
बैठकले पार्टीका विभिन्न तहका अधिवेशन तथा एकता महाधिवेशनको कार्यतालिका तय गरेको हो । बैठकले आगामी असार र साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । १५ भदौसम्म वडा तह, १६ भदौदेखि भदौ मसान्तसम्म पालिका तहका र असोज मसान्तसम्म जिल्लास्तरका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका पारित गरेको छ ।