वास्तविक सुकुमवासीलाई रोजगारी दिने सरकारको योजना

वास्तविक सुकुमवासीलाई रोजगारी दिने विषय आगामी बजेटमै राख्ने गृहकार्य

शुक्रबार, २५ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले सार्वजनिक जग्गाको अतिक्रमण हटाउँदा विस्थापित भएका सुकुमवासी परिवारलाई रोजगारी दिने योजना अघि सारेको छ । काठमाडौं उपत्यकाका नदी, खोलाका सुकुमवासी बस्ती हटाएर सरकारले करिब आठ हजार सुकुमवासी होल्डिङ सेन्टरमा राखेको छ । ती परिवारबाट एकजना सदस्यका दरले रोजगारी दिलाउने योजना अघि बढिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले बताए । उनका अनुसार आश्रय (होल्डिङ सेन्टर) स्थलमा राखिएकामध्ये वास्तविक सुकुमवासी पहिचान भएपछि सरकारले रोजगारीसँग जोड्नेछ ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बिहीबारको बैठकमा मन्त्री यादवले सो कुराको जानकारी गराएका हुन् । वास्तविक सुकुमवासीपीडितलाई सरकारले रोजगारीसँग जोड्ने कार्यक्रम अघि बढाउनु सराहनीय काम रहेको रास्वपा सांसद रञ्जु दर्शनाले बताइन् ।

श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेका अनुसार आगामी बजेटमै वास्तविक सुकुमवासीलाई रोजगारी दिने विषय राख्ने गरी गृहकार्य भइरहेको छ । ‘सुकुमवासीलाई रोजगारी दिने कुरालाई मन्त्रालयका तर्फबाट प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘अहिले वास्तविक सुकुमवासी के कति छन् भनेर तथ्यांक संकलन गर्ने काम भइरहेको छ ।’ प्रत्येक सुकुमवासी परिवारका एकजना सदस्यलाई सरकारकै पहलमा रोजगारी दिलाउने योजना अघि बढिरहेको उनले बताए ।

सुकुमवासीको पहिचानसहित तथ्यांक संकलन भएपछि उपयुक्त सिप दिलाउने योजना रहेको उनले बताए । ‘वास्तविक सुकुमवासीलाई रोजगारीसँग जोड्नुअघि उपयुक्त सिप दिलाउने योजना छ । सिप दिनका लागि सरकारमातहतकै प्रशिक्षण केन्द्रहरू छन्,’ उनले भने, ‘रोजगारीका लागि छनोट भएका जनशक्तिको दक्षता हेरेर कस्तो सिप दिने भन्ने निर्धारण हुन्छ । त्यसपछि, सोही सिपसँग सुहाउँदो रोजगारी सरकारी कार्यालयमै वा निजी क्षेत्रसँग समन्वय गरेर कुनै उद्योग–कल–कारखानामा जागिर सुनिश्चित गरिदिने योजना छ ।’

प्रवक्ता घिमिरेले सुकुमवासीलाई रोजगारी दिने विषयमा अहिले प्रारम्भिक बहस मात्रै भइरहेकाले सबै विषय टुंगोमा पुगिनसकेको पनि बताए । बस्तीबाट विस्थापित भएका वास्तविक सुकुमवासीका प्रत्येक परिवारका कम्तीमा एकजनालाई रोजगारीसँग जोड्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।

सरकारले काठमाडौं उपत्यकाको खोलाकिनारमा अव्यवस्थित बसोबास भइरहेका बस्ती खाली गराउने अभियान सञ्चालन गरिरहेको छ । यसक्रममा वास्तविक सुकुमासीको स्क्रिनिङ गरी विभिन्न आश्रयस्थलमा राखेको छ । तर, सुकुमवासी बस्ती खाली गराउने अभियानविरुद्ध देशका विभिन्न ठाउँमा प्रदर्शन सुरु भएका छन् । सरकारले भने अव्यवस्थित बसोबासबाट झिकेर दिगो व्यवस्थापन गर्न चाहिरहेको प्रतिक्रिया दिएको छ ।

जेन–जीलाई रोजगारी दिनु आवश्यक : श्रममन्त्री
समिति बैठकमा मन्त्री रामजी यादवले जेन–जी समूहलाई रोजगारी दिनु आवश्यक रहेको बताए । उनले जेन–जी आन्दोलनपछि आएको राजनीतिक परिवर्तनले बेरोजगारीको मूल समस्यालाई सम्बोधन गर्ने वेला आएको बताए । ‘जेन–जीलाई रोजगारी दिन सकिएको छैन । उनीहरूलाई कसरी रोजगारीमा समेट्ने भन्नेबारेमा बहस गरौँ,’ उनले भने, ‘रोजगारी खोज्ने जेन–जीहरू वास्तवमै पीडित छन् । हामीले पनि आश्वासन मात्र दिन सकेका छौँ ।’ उनले जेन–जी आन्दोलनमा घाइते भएकाहरूलाई सरकारको प्रशिक्षण केन्द्रहरूमा तालिम दिन लागिएको बताए । ‘घाइते जेन–जीसहित अपांगता भएका समूहलाई सरकारले पहिलोपटक सिपयुक्त तालिम दिने कार्यक्रममा समेट्न लागेका छ,’ उनले भने, ‘यसबाट रोजगारी सिर्जनामा केही मद्दत मिल्ने विश्वास छ ।’

सुझावित समाचार