प्रमुख पर्यटकीय स्थल रारामा नौ महिनामा साढे १३ हजारभन्दा बढी पर्यटक पुगेका छन् । गत साउनदेखि चैत मसान्तसम्म १३ हजार आठ सय ८३ जनाले रारा भ्रमण गरेका हुन् । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठका अनुसार १३ हजार ६ सय ६१ जना आन्तरिक पर्यटक हुन् । सार्क राष्ट्रका ६९ र अन्य देशका एक सय ३३ जनाले रारा भ्रमण गरेका छन् ।
पछिल्लो नौ महिनामा रारा घुम्न आएका पर्यटकको संख्या अघिल्लो वर्षको सोही समयमा भन्दा बढी रहेको उनले बताए । उनका अनुसार पछिल्लो समय दैनिक ६० देखि ७० जना पर्यटक रारा पुग्ने गरेका छन् । यही हिसाबले असार मसान्तसम्म पर्यटकको संख्या १८–१९ हजार पुग्ने उनको अनुमान छ ।
निकुञ्जले सो अवधिमा ५२ लाख ३४ हजार तीन सय ३१ रुपैयाँ राजस्व संकलन गरेको छ । निकुञ्जको कार्यालयले चैत मसान्तसम्म पर्यटन शुल्कबाट मात्र २५ लाख १३ हजार आठ सय ३० रुपैयाँ राजस्व उठाएको छ । निकुञ्जले आन्तरिक पर्यटकबाट प्रतिव्यक्ति एक सय, सार्क राष्ट्रका नागरिकलाई एक हजार पाँच सय र अन्य देशका नागरिकलाई तीन हजार शुल्क तोकेको छ ।