नियोजित रूपमा मिडिया ट्रायल सुरु गरियो : डा. ल्हारक्याल लामा

बुधबार, २३ बैशाख, २०८३
डिजिटल संस्करण

लुम्बिनी विकास कोषका निवर्तमान उपाध्यक्ष डा. ल्हारक्याल लामाले आफूविरुद्ध नियोजित रूपमा मिडिया ट्रायल सुरु गरीएको बताएका छन्। उपाध्यक्ष डा. ल्हारक्याल लामाले प्रेस विज्ञप्ति जारी गर्दै केही मिडियाले आफ्नो ५० अर्बभन्दा बढीको सम्पत्ति रहेको भनी प्रकाशित गरेको समाचार कपोलकल्पित र असत्य भएको बताएका छन्। उनले यस्ता भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह गर्दै प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाएका छन् ।

विज्ञप्तिमा लामाले आफ्नो नाममा ५० अर्बको सम्पत्ति रहेको दाबी गर्ने पक्षलाई त्यसको प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन् । उनले भनेका छन्, ‘यदि मेरो नाममा त्यस्तो सम्पत्ति प्रमाणित हुन्छ भने त्यसलाई तत्काल राष्ट्रियकरण गर्न म राज्यलाई चुनौती दिन्छु । तर, तथ्यहीन समाचार लेखेर मेरो चरित्र हत्या गर्ने कार्य स्वीकार्य छैन । आफ्नो सम्पत्ति र बैंक लकरमा गोली भेटिएको पुरानो विषयलाई फेरि उछालेकोमा असन्तुष्टि व्यक्त गर्दै उनले ती मुद्दाहरू अदालतबाट अन्तिम रूपमा टुंगो लागिसकेको स्पष्ट पारेका छन् । अदालतले सफाइ दिइसकेका विषयलाई पुनः ब्युँताएर मिडिया ट्रायल गर्नु पूर्वाग्रही र निन्दनीय कार्य हो,’ विज्ञप्तिमा उल्लेख छ।

लुम्बिनी विकास कोषमा करिब तीन वर्ष उपाध्यक्ष रहँदा आफूले राज्यबाट कुनै पनि सेवा–सुविधा, तलब वा भत्ता नलिई आफ्नै खर्चमा काम गरेको लामाको दाबी छ । उनले आफू कहिल्यै कुनै पनि गैरकानुनी गतिविधि, भ्रष्टाचार वा ठगीमा संलग्न नरहेकोसमेत जिकिर गरेका छन्। दोहोरो नागरिकता र राहदानीसम्बन्धी आरोपहरूलाई समेत आधारहीन भन्दै लामाले सम्बन्धित मिडियालाई आफ्नो गल्ती सच्याएर तत्काल खण्डन प्रकाशित गर्न माग गरेका छन् । अन्यथा, आफ्नो प्रतिष्ठामा पुगेको आघातविरुद्ध मानहानिलगायतका कानुनी प्रक्रिया अगाडि बढाउने उनले चेतावनी दिएका छन् ।  
 

सुझावित समाचार