अप्रिलमा पर्यटक आगमन ७.३% ले घट्यो

बुधबार, २३ बैशाख, २०८३
डिजिटल संस्करण

मध्यपूर्वमा बढ्दो द्वन्द्वको प्रभावले मुख्य सिजनमै पर्यटक आगमन खस्केको छ । पर्यटन बोर्डका अनुसार अप्रिलमा एक लाख सात हजार नौ सय ३४ विदेशी पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.३ प्रतिशतले कम हो ।

सन् २०२५ को अप्रिलमा एक लाख १६ हजार चार सय ९० पर्यटक आएका थिए भने कोभिड–१९ अघि सन् २०१९ को अप्रिलमा एक लाख नौ हजार तीन सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

क्षेत्रगत रूपमा दक्षिण एसिया (सार्क)बाट सबैभन्दा धेरै ३३ हजार चार सय ३२ पर्यटक आएका छन्, जुन कुल आगमनको करिब ३१ प्रतिशत हो । त्यसपछि अन्य एसियाली मुलुकबाट २६ हजार सात सय २६, युरोपबाट २१ हजार नौ सय ८८, अमेरिकी क्षेत्रबाट ११ हजार ३२, ओसिनियाबाट पाँच हजार आठ सय ९८, पश्चिम एसियाबाट एक हजार ६ सय ९७, अफ्रिकी मुलुकबाट तीन सय १५ तथा अन्य देशबाट ६ हजार आठ सय ४६ पर्यटक नेपाल आएका छन् ।

देशगत रूपमा भारत प्रमुख स्रोत बजार बनेको हो । भारतबाट २५ हजार एक सय ९६ पर्यटक आएका छन् भने चीनबाट ११ हजार सात सय २२, संयुक्त राज्य अमेरिकाबाट आठ हजार सात सय २४, बंगलादेशबाट पाँच हजार दुई सय ३१, बेलायतबाट चार हजार आठ सय ८६, जर्मनीबाट तीन हजार एक सय ४३ र मलेसियाबाट तीन हजार ८५ पर्यटक नेपाल आएका छन् ।

स्थलमार्गबाट आउने पर्यटकवाहक अब अनलाइनबाटै दर्ता
काठमाडौं/ भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न अनलाइन सेवा सुरु गरिएको छ । भन्सार विभागले स्थलमार्ग भएर नेपाल भित्रिने विदेशी सवारीसाधनले अनलाइनबाटै विवरण भर्न र राजस्व तिर्न सक्ने प्रणाली अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुभारम्भ गरेका छन् । नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब नेपालमा सवारीसाधन लिएर भित्रिने भारतीय तथा तेस्रो मुलुकका पर्यटकले अनलाइनबाटै राजस्व तिर्न सक्नेछन् । यसअघि भन्सार नाकामा आएर यस्ता सवारीसाधनले भौतिक रूपमा अस्थायी इजाजत लिनुपर्ने व्यवस्था थियो ।

साथै, नेपाल यात्राकै क्रममा यात्रा अवधि सकिए नवीकरणका लागि भन्सार नाकामै पुग्नुपर्ने वा जरिवाना तिर्नुपर्ने अवस्था थियो । तर, नयाँ अनलाइन प्रणाली सुरु भएसँगै अब नेपाल भित्रिने पर्यटकले आफ्नो सवारीसाधनको इजाजतपत्र घरैबाट अनलाइनमार्फत झुक्तानी गर्न सक्ने विभागले जनाएको छ । नयाँ अनलाइन सहजीकरण सेवाको शुभारम्भ गर्दै अर्थमन्त्री डा. वाग्लेले सीमा क्षेत्रमा पर्यटकले पाउने सास्ती अब हट्ने बताए । ‘सरकारले अनुसरण गरेको सुशासन र छरितो गुणस्तरीय सार्वजनिक सेवा दिने घोषणा कार्यान्वयनका क्रममा यो कार्य सुरु गरिएको हो,’ उनले भने, ‘पर्यटकलाई कुनै कठिनाइ नहोस् । सरकारी सेवा छिटो र छरितो होस् भन्ने हामी चाहन्छौँ ।’

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद मैनालीले नेपाल भित्रिने पर्यटक बोकेका विदेशी सवारीसाधनको इजाजत अब डिजिटल भएको बताए । उनका अनुसार अब नेपाल प्रवेश गर्ने यात्रु तथा पर्यटकले प्रयोग गर्ने विदेशी सवारीसाधनसम्बन्धी विवरण अनलाइनमै स्वयं घोषणा गर्न सक्नेछन् । 

See More On

सुझावित समाचार