नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँमाथि भइरहेको छानबिनप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाअनुसार अनुसन्धान गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
काठमाडौंमा बसेको संसदीय दलको बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा संवैधानिक प्रक्रिया पूर्ण रूपमा पालना नभएको भन्दै आपत्ति जनाएको हो। बैठकले कुनै पनि व्यक्तिमाथि लागेका आरोपहरू विधिसम्मत दायराभित्र राखी न्यायोचित र निष्पक्ष ढंगले टुंग्याइनुपर्ने धारणा व्यक्त गरेको छ ।
दलका सचिव तथा प्रदेश सभा सदस्य मीनकृष्ण महर्जनका अनुसार बैठकले कानुनी शासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै अनुसन्धान प्रक्रियामा कुनै पूर्वाग्रह नरहनुपर्नेमा जोड दिएको छ। साथै, संविधान र कानुनअनुसार हुने अनुसन्धानमा पार्टीको पूर्ण सहयोग रहने निर्णय पनि गरिएको छ।
बैठकमा मुख्यमन्त्री बानियाँमाथि राजनीतिक पूर्वाग्रहका आधारमा अनुसन्धानको नाममा सामाजिक प्रतिष्ठामा असर पुग्ने गतिविधि भएको भन्दै चिन्ता व्यक्त गरिएको थियो। यद्यपि, दलले विधिसम्मत छानबिन प्रक्रियालाई सघाउने स्पष्ट गरेको छ।
यसैबिच, बैठकमा प्रदेश सभाको सभामुख चयन र मन्त्रिपरिषद् पुनर्गठनबारे पनि छलफल भएको छ। पार्टी सभापति गगनकुमार थापा र सहमहामन्त्री बहादुरसिंह लामासँग परामर्श गरी वैशाखभित्रै सभामुख चयन गर्ने निष्कर्ष निकालिएको जनाइएको छ।
बैठकले प्रशासनिक पुनर्संरचनाको कामलाई अन्तिम रूप दिँदै मन्त्रालय संख्या घटाउने निर्णयसमेत गरेको छ। उक्त कार्य वैशाखभित्रै सम्पन्न गर्ने जिम्मेवारी मुख्यमन्त्री बानियाँलाई दिइएको छ। आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट तयारीका सन्दर्भमा बैठकले निर्वाचन क्षेत्रकेन्द्रित छलफल अघि बढाउने निर्णय गरेको छ। आयोजना छनोट गर्दा हचुवाको आधारमा नभई प्रदेश सभा सदस्यहरूको माग, स्थानीय आवश्यकता र भौगोलिक विशेषतालाई प्राथमिकतामा राखिने महर्जनले जानकारी दिए।
दलले आगामी बजेटलाई जनमुखी, सन्तुलित र व्यावहारिक बनाउने लक्ष्यसहित सम्बन्धित क्षेत्रका जनप्रतिनिधिको सुझावलाई विशेष महत्त्व दिने रणनीति तय गरेको जनाएको छ ।