शनिबार १० बजेसम्मका प्रमुख १० खबर

शनिबार, १९ बैशाख, २०८३
डिजिटल संस्करण

राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्‌को सिफारिसमा शनिबार तीन अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

यसअघि बिहीबार सहकारी ऐन (पहिलो संशोधन) र सार्वजनिक खरिद ऐन संशोधन अध्यादेश तथा शुक्रबार सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अध्यादेश जारी भएको थियो।

शनिबार स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी भएको हो।

यस्तो छ नेकपाको एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले पार्टीका विभिन्न तहका अधिवेशन तथा  एकता महाधिवेशनको कार्यतालिका तय गरेको हो।

बैठकले ०८३ असार र साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

भदौ १५ गतेसम्म वडा तह, १६ गतेदेखि भदौ मसान्तसम्म पालिका तहका र असोज मसान्तसम्म जिल्लास्तरका अधिवेशन सम्पन्न गर्ने नेकपाको कार्यतालिका छ।

अमेरिका पुर्याइएको प्रस्तर बुद्ध मूर्ति संग्रहालय हुँदै आफ्नै आसनमा फिर्ता

काठमाडौं महानगरपालिका– २३, जोरगणेश ओम बहाल टोलको न्हुछे बहा (बज्रधातु विहार)बाट चोरी भएको पुरातात्त्विक तथा धार्मिक महत्त्व बोकेको प्रस्तर बुद्ध मूर्ति आफ्नै आसनमा फर्काइएको छ।

संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित टिबेट हाउस कलेक्सनमा पुगेको यो मूर्ति ०७८ फागुन १८ गते नेपाल फिर्ता ल्याइएको थियो। पुरातत्त्व विभाग, नेपाली सम्पदा अभियन्ताहरूले मूर्ति फिर्ता ल्याउने प्रक्रियामा आफूलाई समर्पित गरेपछि फिर्ता भएको मूर्ति राष्ट्रिय संग्रहालयमा राखेर संरक्षण गरिएको थियो।

हुलाकी सडकको कमला नदीको डाइभर्सन बगाउँदा आवतजावत ठप्प

पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिराहा–धनुषा जोड्ने कमला नदीमा आवागमन सहजताका लागि बनाइएको डाइभर्सन सामान्य वर्षाले बगाउँदा आवतजावत ठप्प भएको छ ।

पुलको पुनर्निर्माण नसकुन्जेलका लागि पछिल्लो माघमा करिब एक करोड १४ लाख रुपैयाँ खर्चिएर बनाइएको बालुवाको अस्थायी डाइभर्सन वर्षाले बगाउँदा शनिबार बिहानैदेखि हलुका सवारीसाधन, मोटरसाइकल दिनभर वारि–पारि रोकिन बाध्य भएको स्थानीय बद्री यादवले बताए । पुनर्निर्माण भइरहेको क्षतिग्रस्त पुलको पूर्वी भागबाट बनाइएको डाइभर्सनको धनुषातर्फको तेस्रो पायाँनजिकबाट आएको बाढीले बगाएको उनले बताए । पछिल्लो साता पनि बाढीले बगाएको डाइभर्सन मर्मत गरेर आवागमन नियमित गरिएको थियो ।

रास्वपाले बोलायो सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। आइतबार मध्याह्न पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो।

‘पार्टी सभापतिज्यूको निर्देशअनुसार पार्टी सचिवालयको बैठक भोलि मिति ०८३ वैशाख २० गते बस्ने भएकाले अनिवार्य उपस्थितिका लागि निर्देशअनुसार अनुरोध छ,’ सूचनामा भनिएको छ।

शुक्रबार बस्तीबाट हटाइएकाहरू भन्छन्– सामान सार्ने र कोठा खोज्ने समय पनि पाएनौँ

सुकुमवासी बस्ती हटाउने अभियानअन्तर्गत सरकारले दोस्रो चरणमा उपत्यकाको बागमती क्षेत्रका आठ सयभन्दा बढी संरचनामा डोजर चलाएको छ । गत शनिबारदेखि सुकुमवासी बस्ती हटाउन सुरु गरेको सरकारले शुक्रबार शंखमूल, बालाजु, बल्खु र टेकुको वंशीघाट क्षेत्रमा डोजर चलाएको हो ।

गत शनिबारदेखि सुरु अभियानको पहिलो चरणमा थापाथली, सिनामंगल, गैरीगाउँ र मनोहरा क्षेत्रका बस्ती हटाइएको थियो ।

सवारी सुविधालाई व्यवस्थित गर्ने आयोगको सिफारिस अलपत्र

विद्यमान कानुनअनुसार नेपाल सरकारका सहसचिव वा सोसरहका पदाधिकारीले मात्र सवारी सुविधा पाउँछन् । तर, व्यवहारमा भने नियमविपरीत ६ सयभन्दा बढी सवारीसाधन प्रयोग भइरहेको भेटिएको छ । ती सवारीका नाममा इन्धन र मर्मत शीर्षकमा समेत ठुलो खर्च हुँदै आएको छ ।

पर्सामा एकै महिना ६७ घरेलु हिंसाका उजुरी, ६४ वटामा मिलापत्र

पर्सामा चालू आर्थिक वर्ष ०८२/८३ को चैत महिनामा मात्र घरेलु हिंसासम्बन्धी ६७ वटा उजुरी दर्ता भएका छन्। पर्सा प्रहरीको तथ्यांकअनुसार एक महिनामा दर्ता भएका ६७ उजुरीमध्ये ६४ वटामा मिलापत्र भइसकेको छ।

जिल्लामा घरेलु हिंसासम्बन्धी घटनाको उजुरी दर्ता भएकोमध्ये सबैभन्दा बढी वीरगन्ज महानगरपालिकामा ४६ वटा रहेको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार महानगरपालिका ठुलो क्षेत्र भएको र ठुलो जनसंख्या रहेकाले यहाँबाट उजुरी दर्ताको संख्या धेरै भएको हो। महानगरभित्रबाट आएका ४३ वटा उजुरीहरू मिलापत्र गराएर छिनोफानो गरिएको छ।

बालाजु–माछापोखरी क्षेत्रमा डोजर [तस्बिरहरू]

सरकारले बालाजु र माछापोखरी क्षेत्रको सुकुमवासी बस्तीमा पनि डोजर चलाएको छ। नदीकिनाराका अव्यवस्थित बस्ती हटाउने योजनाअन्तर्गत सरकारले शनिबार विष्णुमती नदीकिनारका अव्यवस्थित बस्तीमा डोजर चलाएको हो।

गत शनिबारदेखि सुरु अभियानको पहिलो चरणमा थापाथली, सिनामंगल, गैरीगाउँ र मनोहरा क्षेत्रका बस्ती हटाइएको थियो ।

नेकपाले गठन गर्यो संविधान संशोधन सुझाव कार्यदल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ। नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको पहिलो बैठकले कार्यदल गठन गरेको हो।

कार्यदलमा देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रनध्वज लिम्बू, रेखा शर्मा, गणेश विश्वकर्मा, वरिष्ठ अधिवक्ता डा. मुक्तिनारायण प्रधान, वरिष्ठ अधिवक्ता डा. खिमलाल देवकोटा, डम्बरविक्रम कार्की, अधिवक्ता जगदेव चौधरी र डा. रामबहादुर चौधरी रहेका छन्।

सुझावित समाचार