इकाे पहिराेले तातोपानी नाका बन्द

नेपाली व्यापारीले ल्याएको १२ कन्टेनर स्याउ कुहिने अवस्थामा

शनिबार, १९ बैशाख, २०८३
डिजिटल संस्करण

सधैँ बल्झिरहने इकाे पहिराेले यसपटक पनि तातोपानी नाका बन्द गरिदिएको छ । इकाे पहिराेमा सडक भासिएर भाेटेकाेशी नदीमा मिसिएकााले सवारीसाधन आउजाउ ठप्प भएकाे हाे । पाँच दिनदेखि नाकामा मालवाहक कन्टेनरकाे आवतजावत बन्द छ ।

सडक डिभिजन कार्यालय चरिकोटले ठेक्का सम्झाैता गरेर धमाधम सडकमुनि पिल्लर उठाइरहेको थियाे । तर, परराष्ट्र मन्त्रालयबाट चिठी प्राप्त भएपछि काम राेकेकाे छ । चिठीअनुसार इकाे पहिराेकाे नियन्त्रण र सडक निर्माण चिनियाँ कम्पनीले गर्नेछ । यद्यपि, हालसम्म चिनियाँ कम्पनी निर्माणस्थलमा आइपुगेको छैन ।

याे साता परेकाे पानीले इकाे क्षेत्र भासिएकाे र माथिबाट लेदाे आएर सडक पुरेकाे छ । ठुला मेसिन प्रयाेग नगरी सडक नियमित गर्न सम्भव छैन । चिनियाँ क्षेत्र खासामा नेपाली व्यापारी शारदाप्रसाद पराजुलीले ल्याएको १२ कन्टेनर स्याउ कुहिने अवस्थामा पुगेको छ । विभिन्न आयाेजनाका लागि ल्याइएको उपकरण र  रेडिमेड सामग्री खासामै अड्किएकाे छ । ‘चीनबाट स्याउ ल्याएको १५ दिन भयाे । तत्काल सडक नखुलेमा स्याउ कुहिएर नोक्सान हुने भएकाले चिन्ता लागेकाे छ,’ पराजुलीले भने ।

इकाे पहिराे नियन्त्रण चिनियाँ कम्पनीले गर्ने भएकोले नैतिकता र कूटनीतिक रूपमा पनि काम नगरेकाे सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले स्पष्ट पारे।  ‘हामीले काम गरिरहेका थियौँ । माथिल्लो निकायले राेक भनेपछि मान्नै पर्याे,’ भण्डारीले भने ।

यता सिन्धुपाल्चोक क्षेत्र नं. १ का सांसद भरतप्रसाद पराजुलीले सडककाे सम्पूर्ण निर्माण चीन सरकारले गर्ने जानकारी दिए। यसरी पहिराेका कारण नाका बन्द भएकाले व्यापारी निराश भएका छन् ।

See More On

सुझावित समाचार