सयौँ राजनीतिक नियुक्ति खारेजका लागि सरकारले सिफारिस गरेका अध्यादेश जारी हुनुअघि नै त्यस्ता नियुक्ति लिएकाले राजीनामा दिन सुरु गरेका छन् । बिहीबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्याल, रेक्टर प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री एवं त्रिवि कुलपति बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएका उनीहरूले सरकारले विगतमा भएका राजनीतिक नियुक्ति खारेजीको तयारी थालेपछि मार्गप्रशस्त गरेको बताएका छन् । ‘सबै नियुक्ति नयाँ ढंगले गर्ने भनेपछि हामीले प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका छौँ, स्वीकृति पनि होला,’ उपकुलपति अर्यालले भने, ‘सरकारको सहजताका लागि मागप्रशस्त गरेका हौँ ।’ राजीनामा बुझाएर तीनै पदाधिकारी बिहीबारै बिदा भएका छन् । शिक्षा मन्त्रालयअन्तर्गत त्रिविबाहेक अन्य विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारीले पनि राजीनामा दिने तयारी गरिरहेका छन् ।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीका अनुसार हेटौँडा सिमेन्ट उद्योगको सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारी र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले पनि राजीनामा दिएका छन् । ‘दुई संस्थानका प्रमुखले राजीनामा दिनुभएको छ, तर राजीनामा रुजुका लागि खबर गरे पनि आउनुभएको छैन,’ उनले भने, ‘राजीनामा स्वीकृतिको प्रक्रियामा छ ।
सरकारले राजनीतिक नियुक्ति लिएकालाई पदमुक्त गर्न ६ अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलकहाँ सिफारिस गरेको थियो । सहकारीसम्बन्धी एउटा अध्यादेश जारी गरेका राष्ट्रपति अन्यको हकमा भने परामर्शमै रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।