प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पुराना राजनीतिक नियुक्ति लिएकालाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आह्वान गरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको दुई संस्थानका प्रमुखले राजीनामा दिएका छन्।
मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीका अनुसार हेटौँडा सिमेन्ट उद्योगको सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारी र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले राजीनामा दिएका हुन्।
दुवैले दिएको राजीनामा स्वीकृतिको प्रक्रियामा रहेको प्रवक्ता सुवेदीले जानकारी दिए। ‘दुई संस्थानको प्रमुखबाट राजीनामा आएको छ। उहाँहरूलाई राजीनामा रुजुका लागि खबर गरे पनि आउनुभएको छैन,’ उनले भने, ‘अन्य संस्थान प्रमुखको हकमा भने अहिलेसम्म केही खबर छैन।’
अर्थ मन्त्रालयद्वारा प्रकाशित सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८२ अनुसार हाल देशभर ४५ संस्थान सञ्चालनमा छन्। यीमध्ये उद्योग मन्त्रालयमातहत हेटौँडा सिमेन्ट, जनकपुर चुरोट, नेपाल औषधि, उदयपुर सिमेन्ट, नेपाल ओरियन्ट म्याग्नेसाइट, बुटवल धागो, नेपाल मेटल कम्पनी, धौवादी फलाम कम्पनी, आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, विशाल बजार कम्पनी, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेड र राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र गरी १४ संस्थान छन्।
यीमध्ये अधिकांश संस्थान प्रमुखले विगतमा राजनीतिक निकटता, सत्ता र शक्तिको पहुँचमा नियुक्ति लिएका थिए। त्यसैले, प्रधानमन्त्री बालेन नेतृत्वको सरकारले विगतको राजनीतिक नियुक्ति खारेज गर्न सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति रामचन्द्र पौडेलकहाँ पेस गरिसकेको छ।