आज साँझ सात बजेभित्र सुकुमवासी बस्ती खाली गर्न जिल्ला प्रशासन कार्यालयले आदेश दिएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता मुक्तिराम रिजालले एक सूचना जारी गर्दै आफैँले सार्न नसक्ने अवस्थामा रहेकाहरूलाई प्रहरीले सहयोग गर्ने जनाइएको छ । प्रशासनले अवैध रूपमा बनाइएका घर–टहराहरू वैशाख ११ गते साँझ ७ बजेभित्र खाली गर्न र घर–टहरामा भएका आफ्ना सरसामान, लत्ताकपडा, घरपालुवा, पशुपक्षी सुरक्षित स्थानमा तत्काल सार्ने व्यवस्था गर्न अनुरोध गरेको छ ।
त्यस्तै घर–टहराहरूमा बसोबास गर्ने अपांगता भएका, साना बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा एवं बिरामीहरूलाई प्राथमिकता दिई अन्यत्र सार्नका लागि भनेको छ । यसका लागि काठमाडौं महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समेत मद्दत लिनसमेत आग्रह गरेको छ ।
वैशाख १२ गते बिहान ६ बजेदेखि घर–टहराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गरिने काममा बाधा पुर्याएमा कानुनबमोजिम कारबाही गर्ने पनि प्रशासनले जनाएको छ ।
सम्बन्धित मन्त्रालय तथा अन्य अधिकारप्राप्त निकायबाट वास्तविक भूमिहीन सुकुमवासीहरूको लगत लिने र स्क्रिनिङको काम तत्कालै सुरु गरी १० देखि १५ दिनभित्रै यकिन भएका वास्तविक भूमिहीनलाई बसोबासको उचित प्रबन्ध गर्ने सरकारले तयारी गरेको छ ।
कसैले सूचना अटेर गरेमा संयुक्त कारबाही गर्दा भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार आफैँ हुनुपर्ने पनि सूचनामा जनाइएको छ ।
