- १४औँ महाधिवेशन पक्षधरले १५ वैशाखमा बोलायो निवर्तमान केन्द्रीय सदस्य र जिल्ला सभापतिको भेला, संस्थापन पक्ष भन्छ– अब भागबन्डाको राजनीति हुँदैन
प्रमुख प्रतिपक्षी दल कांग्रेसमा आन्तरिक एकताको विषय चुनौतीपूर्ण बनेको छ । सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि १४औँ महाधिवेशन पक्षधर राजनीतिक रूपमा अघि बढेको छ । सभापति गगन थापाले निवर्तमान सभापति पूर्णबहादुर खड्कासँग उनकै निवास गोल्फुटारमा पुगेर गत आइतबार साँझ भेटेसँगै संवादहीनताको अन्त्य भएको छ । तर, आन्तरिक एकताका लागि त्यसयता ठोस छलफल हुन सकेको छैन । खड्कालाई थापाले सहमतिको प्रस्तावसहित आउने बताएका थिए । पार्टीका पूर्वनिर्धारित कार्यक्रममा व्यस्त भएकाले आन्तरिक एकताको विषयमा थप छलफल हुन बाँकी रहेको थापानिकट एक नेताले बताए । ‘पार्टीलाई मिलाएरै लाने कोसिस छ । मूल नेतृत्वले सबैलाई मिलाएरै लानुपर्छ भन्नेमा सभापतिज्यू स्पष्ट हुनुहुन्छ,’ ती नेताले भने ।
कांग्रेस प्रवक्ता देवराज चालिसे विधानको व्यवस्थामा टेकेर फरक मतलाई समेत स्वागत गर्दै अघि बढ्ने बताउँछन् । तर, विधान र मर्यादाभित्र सबै बस्नुपर्नेमा उनले जोड दिए । ‘विधानले व्यवस्था गरेअनुसार सबैलाई समेटेर अगाडि बढ्न चाहन्छौँ । प्रजातन्त्रमा फरक मत राखेकै कारण आग्रह, पूर्वाग्रह राखिँदैन । फरक विचार नभई मतको परीक्षण पनि हुँदैन । फरक मतलाई हमेसा स्वागत गर्छौँ, समेट्छौँ । तर, विधानले व्यवस्था गरेको प्रणाली र मर्यादाभित्र हुनुपर्छ,’ उनले भने, ‘कमिटी विस्तार गर्ने सम्भावना पनि छँदै छ । महाधिवेशनलाई निष्पक्ष बनाउन प्रतिबद्ध छौँ । महाधिवेशनमा प्रतिस्पर्धा गर्ने र नेतृत्वमा आउने कुरा छँदै छ ।’ सबैलाई सहमतिमा ल्याउन अधिकतम प्रयास गर्ने, तर घुर्की र धम्कीले पार्टी नचल्नेमा आफूहरू स्पष्ट रहेको उनले बताए । ‘पार्टी पद्धतिले चल्छ, घुर्की र धम्कीले चल्दैन । कांग्रेस एउटै हो । महाधिवेशन पनि एउटै हुन्छ । बहसहरू पार्टीकेन्द्रित हुनुपर्छ, व्यक्तिकेन्द्रित होइन,’ उनले भने ।
कांग्रेसमा विगतदेखि नै संस्थापन र इतर पक्षले सहमतिमा भागबन्डा गर्दै आएका छन् । तर, समय र परिस्थिति फेरिएको भन्दै संस्थापन पक्ष अब भागबन्डाको राजनीति नचल्ने दाबी गर्छ । ‘अब भागबन्डाको राजनीति हुँदैन । त्यसरी चल्दा पनि चल्दैन । विचारको बहस गर्ने हो, कार्यक्रमको बहस गर्ने हो । विचारले नै शक्ति निर्माण गर्ने हो,’ चालिसेले भने ।
१४औँ महाधिवेशन पक्षधरहरूले भने सभापति थापाकै कोर्टमा बल फ्याँकेको छ । कुनै पनि माग नराख्ने र सभापति थापाले ल्याएको प्रस्ताव हेरेर अघि बढ्ने उनीहरूको रणनीति छ । १५ वैशाखमा १४औँ महाधिवेशन पक्षधर केन्द्रीय सदस्यहरू र जिल्ला सभापतिहरूको भेला बोलाइएको छ । ‘हामी माग राख्दैनौँ । हाम्रो मुख्य कुरा १५औँ महाधिवेशन कसरी गर्ने भन्ने हो । अदालतले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिट खारेज गरेको हो, राजनीतिक अधिकार त हाम्रो छ नि । के गर्छौँ, के गर्दैनौँ भन्ने हाम्रो कुरा हो,’ नेता विमलेन्द्र निधि भने, ‘केही दिनअघि गगन थापा र पूर्णबहादुर खड्काबिच छलफल भयो । थापाले प्रस्ताव ल्याउँछु भन्नुभएको रहेछ । प्रस्ताव आएपछि छलफल गर्छौँ । उहाँहरूकै भनाइ मान्ने हो भने पनि ४६ प्रतिशतलाई कसरी मिलाउनुहुन्छ, त्यो उहाँहरूको कुरा हो । उहाँहरूले कस्तो प्रस्ताव ल्याउनुहुन्छ, त्यस आधारमा अगाडिको बाटो तय हुन्छ ।’ २ माघमा थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । वैशाख पहिलो हप्ता रिट खारेज गरिदिएपछि थापाले सहमतिको प्रयास थालेका हुन् ।
कोइरालासँग पनि छलफल गर्ने
सभापति थापाले नेता डा. शेखर कोइरालासँग पनि छलफल गर्ने भएका छन् । सबै सिनियर नेतालाई मिलाएर लैजान सभापति अग्रसर रहेको उनीनिकट नेताहरूले बताएका छन् । ‘पार्टीमा विभिन्न रूपमा छलफल भइरहेका हुन्छन् । पार्टीभित्रका आन्तरिक विषय सबै नापतौल गरेर प्रचार गर्नुपर्छ भन्ने पनि छैन । यो आन्तरिक कुरा हो । आपसमा कुराकानी भइरहेको छ,’ प्रवक्ता चालिसेले भने । कोइराला पक्षले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी सभापतिकै भएको निष्कर्ष निकालेको छ । ‘एकताबद्धबाहेक कांग्रेसको विकल्प छैन । मुख्य कुरा सभापतिले सबै पक्षलाई समेटनुपर्छ,’ नेता जीवन परियारले भने ।
मध्यमार्गी मितिको सम्भावना
गत १८ पुसमा तत्कालीन कार्यवाहक सभापति खड्काको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमिति बैठकले २८–३१ वैशाखमा १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो । गत माघमा सम्पन्न्न विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको कार्यसमितिले आगामी १६–१९ असोजमा १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ । महाधिवेशनको कार्यतालिका संशोधन गरी सबैको सहमतिमा नयाँ मिति तोक्नुपर्ने १४औँ महाधिवेशन पक्षधरको अडान छ । यसमा संस्थापन पक्ष पनि सकारात्मक देखिएको थापापक्षीय नेताहरूले बताएका छन् ।
विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । त्यसमा इतर पक्षलाई समेट्ने ठाउँ रहेको प्रवक्ता चालिसे बताउँछन् । ‘विशेष महाधिवेशन एउटा घटना हो, निर्वाचन भइसक्यो, कानुनी प्रक्रिया टुंगिसक्यो । विचार र अवस्था भनेको घटनाक्रमले ल्याउने हो । कमिटी विस्तार गर्ने सम्भावना पनि छँदै छ,’ उनले भने । सहमहामन्त्री प्रकाश स्नेही महाधिवेशनको मितिभन्दा पार्टी एकता ठुलो भएको बताउँछन् । ‘सहमतिका आधारमा महाधिवेशनको मिति केही तलमाथि हुन सक्छ । मुख्य कुरा एकताबद्ध पार्टीको हो । हामी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अगाडि बढेका छौँ,’ उनले भने । तर, १४औँ महाधिवेशन पक्षधर भने १५औँ महाधिवेशनका लागि छुट्टै कमिटी र नयाँ मिति तोकिनुपर्ने पक्षमा छन् । अन्यथा दुइटा महाधिवेशन हुने र पार्टी विभाजनको स्थिति आउन सक्ने उनीहरूको चेतावनी छ ।
कोशीको समीक्षामा शेखर अनुपस्थित
कांग्रेसले प्रदेशगत रूपमा चुनावी समीक्षा गरिरहेको छ । बुधबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय समीक्षामा नेता शेखर कोइराला उपस्थित भएनन् । कोइराला विराटनगरमै भए पनि समीक्षामा सहभागी नभएको एक नेताले बताए । कोइराला गत २१ फागुनको निर्वाचनमा पराजित भएका थिए । कोइराला पक्षका नेताहरू सरिता प्रसाईं, मीनेन्द्र रिजाललगायत भने समीक्षामा सहभागी भएका थिए । उनले आफूपक्षीय नेताहरूलाई समीक्षामा सहभागी नहुने जानकारी पहिले नै गराएका थिए ।
जबकि, सभापति गगन थापाले कोइरालालाई फोन गरेर कार्यक्रममा उपस्थिति हुन आग्रह गरेका थिए । कोइरालाले कसरी अगाडि बढ्ने भन्ने प्रस्ट नभएसम्म कार्यक्रममा सहभागी नहुने बताएका थिए । समीक्षामा शेरबहादुर देउवा पक्षका नेता ज्ञानेन्द्रबहादुर कार्की र रामहरि खतिवडा पनि सहभागी थिए । कृष्ण सिटौला पनि कार्यक्रममा सहभागी भएनन् । कांग्रेस सुदूरपश्चिम र कर्णालीको चुनावी समीक्षा भने स्थगित भएको छ । दुवै प्रदेशको समीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ ।