कांग्रेसलाई एकताबद्ध बनाउन संस्थापन पक्षले सबैसँग संवाद गर्ने

मंगलबार, ८ बैशाख, २०८३
डिजिटल संस्करण

पार्टीलाई एकताबद्ध बनाउन कांग्रेस सभापति गगन थापाले सबै पक्षसँग संवाद गर्ने भएका छन् । सबैलाई समेटेर लैजाने नीतिअनुसार सभापतिबाहेक अन्य नेताहरूले पनि तहगत रूपमा इतरपक्षका नेताहरू छलफल थालेका छन् । शीर्षस्थ नेताहरूसँग सभापतिले छलफल गर्ने र बृहत् एकताका लागि अन्य नेताहरूले पनि भूमिका खेल्ने रणनीति संस्थापन पक्षले अपनाएको छ । तर, गुटबन्दीलाई भने नस्विकार्ने नीति लिएको छ । गुटबन्दीकै कारण कांग्रेस कमजोर बनेको संस्थापन पक्षको ठम्याइँ छ ।

‘अदालतबाट न्यायिक निरूपण भइसकेको छ । विशेष महाधिवेशनबाट पारित विधानलाई केन्द्रमा राखेर सभापतिले सबैसँग संवाद गर्नुहुन्छ । सबैलाई समेट्नुहुन्छ । विधानअनुसार आवश्यकता र औचित्यका आधारमा सबैसँग कुरा हुन्छ । अब समूहबन्दी गरेर जानुहुँदैन । लोकतन्त्र र संविधानमाथि चुनौती थपिएको वेला एकताबद्ध कांग्रेस आजको आवश्यकता हो । हामी व्यक्तिगत स्वार्थभन्दा माथि रहेर काम गर्छौँ,’ सहमहामन्त्री प्रकाश स्नेहीले भने । सभापतिबाहेक पनि तहगत रूपमा अन्य नेताहरूले पनि त्यसमा योगदान गरिरहनुभएको छ ।’ इतरपक्षको चासोको सुनुवाइ गरेरै अगाडि बढ्ने उनले बताए । ‘हामी सबैको कुरा सुनेर अगाडि बढ्छौँ । पार्टी सबैको साझा हो । पार्टीको बृहत्तर हितका लागि हामीले काम गर्ने हो । यसमा तेरो, मेरो भन्ने कुरा हुँदैन । सबै मिलेर पार्टीलाई बलियो बनाउनुपर्छ,’ उनले भने । 

१५औँ महाधिवेशनका लागि सहमतिमा मिति तोकेरसमेत जान सकिने उनले बताए । ‘महाधिवेशनको सुनिश्चित नहुँदा पनि विशेष महाधिवेशन गरेर आयौँ । १५औँ महाधिवेशनको मिति तोकिएको छ । सहमति हुँदा मध्यमार्गी मितिमा महाधिवेशन गर्न सकिन्छ,’ क्रियाशील सदस्यता व्यवस्थापन समितिमा सदस्यसमेत रहेका स्नेहीले भने, ‘अब जरा अभियानमा सबै खटिनुपर्छ । क्रियाशील सदस्यतामा कसैलाई पनि वञ्चित गर्ने सोच छैन । सबैलाई समेटेर अगाडि बढ्ने हो ।’ कांग्रेस सस्थापनले १६–१९ असोजमा गर्ने निर्णय गरेको छ । सोहीअनुसार वैशाख महिनाभर जरा अभियान सञ्चालन गरिरहेको छ । 

सभापति थापाले आइतबार निवर्तमान सभापति पूर्णबहादुर खड्कासँग संवाद गरेका थिए । थापा र खड्काबिच पुनः छलफल गर्ने समझदारी छ । आइतबारको छलफलमा खड्काले थापालाई सहमतिको प्रस्ताव ल्याउन भनेका थिए ।

थापाले बागमती प्रदेशस्तरीय चुनावी समीक्षा बैठकमा सोमबार एकताबद्ध भएर पार्टी १५औँ महाधिवेशनमा जाने बताए । ‘पार्टीभित्रका सबै नेताहरूसँग म संवाद गरिरहेको छु, सबैसँग कुरा गर्छु, सबैलाई समेटेर जान्छु,’ थापाले भनेका छन् । उनले भावनात्मक रूपमा नै एकता हुनुपर्नेमा जोड दिए । ‘कांग्रेसको सदस्य हुने, लेबी तिर्ने, कांग्रेसको आन्तरिक चुनावमा मतदान गर्ने, तर मलाई मन लागेन चुनावमा अर्को पार्टीलाई भोट दिन्छु भन्न पाइँदैन,’ थापाले भने । 

इतरपक्षले सम्मानजनक अवस्था हुनुपर्नेमा जोड दिएको छ । १५औँ महाधिवेशनको मिति दुईवटा तोकिएकाले सहमतिमा एउटै मिति तोकेर जान सकिने इतरपक्षको भनाइ छ । विशेष महाधिवेशनअघि नै कांग्रेस केन्द्रीय कार्यसमितिले २८–३१ वैशाखमा १५औँ महाधिवेशनको मिति तोकेको थियो । तर, विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आएपछि उक्त कार्यतालिका प्रभावित भएको छ । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले आगामी असोजमा १५औँ महाधिवेशनको मिति तोकेको छ । उक्त मिति एकपक्षीय रूपमा तोकिएको भन्दै इतरपक्षले मध्यमार्गी मिति नतोकिए दुईवटा महाधिवेशन हुने चेतावनी दिएको छ ।
‘हाल महाधिवेशनको दुई कार्यतालिका छ । त्यसलाई समायोजन गरेर एउटै बनाउने स्थिति बन्यो भने एकता भएको मानिन्छ । होइन भने दुईवटा महाधिवेशन हुन्छ । पार्टी विभाजतर्फ जान्छ,’ इतरपक्षीय नेता मीन विश्वकर्माले भने, ‘बलविशेष महाधिवेशनबाट आएको कार्यसमितिको कोर्टमा छ ।’ संस्थापन पक्षले सहमतिको ठोस प्रस्ताव ल्याउनुपर्नेमा उनले जोड दिए ।

खड्काको स्पष्टीकरणमा छलफल नै भएन
कांग्रेसको अनुशासन समितिले निवर्तमान सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण यथावत् राखेको छ । गत २ वैशाखमा समितिले खड्कालाई सात दिनको म्याद दिएर स्पष्टीकरण सोधेको थियो । तर, अदालतले विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएपछि महामन्त्री गुरुराज घिमिरेले स्पष्टीकरणको अध्याय समाप्त भएको बताएका थिए । सोमबारको बैठकमा खड्काको विषयमा छलफल नै नभएको अनुशासन समितिका संयोजक तारामान गुरुङले बताए । ‘त्यो विषयमा आज छलफल नै भएन । हामीले सात दिनको समय दिएर स्पष्टीकरण सोधेका थियौँ । भर्खर पाँच दिन त भयो,’ उनले भने । गुरुङले समितिले पार्टीको विधानअनुसार प्रक्रियागत ढंगले काम गरिरहेको पनि बताए । उनले विधानभन्दा तलमाथि नगर्ने पनि बताए ।

सुझावित समाचार