सोमबार १० बजेसम्मको प्रमुख १० खबर

सोमबार, ७ बैशाख, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्रीले तीन घण्टा उपकुलपतिका कुरा सुने, पाँच मिनेट आफ्ना धारणा राखे

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विभिन्न विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गरेका छन्। अपराह्रन १२ बजदेखि ३ बजेसम्म प्रधानमन्त्री कार्यालय सिंहदरबार बसेको बैठकमा सहभागी उपकुलपतिहरूले आआफ्नो विश्वविद्यालय र प्रतिष्ठानका समस्याहरू प्रधानमन्त्रीसमक्ष राखे। 

बैठकमा प्रधानमन्त्री शाहले धैर्यपूर्वक उपकुलपतिहरूका कुरा सुनेको बैठकमा सहभागी एक उपकुलपतिले बताए। ‘सबै उपकुलपतिज्यूहरूले आ–आफ्नो विश्वविद्यलायबारे प्रधानमन्त्रीसमक्ष प्रस्तुति राख्नुभयो, विगतका काम, वर्तमानको अवस्था, भविष्यको योजना र समस्याबारे प्रधानमन्त्रीज्यूलाई सुनाउनुभयो,’ ती उपकुलपतिले भने, ‘हाम्रा कुरा धेरै सुनेर उहाँले छोटोमा आफ्ना कुरा राख्नुभयो, करिब पाँच मिनेटमा आफ्ना कुरा राखेर बैठक सकाउनुभयो।’

प्रधानमन्त्री शाहले विश्वविद्यालय र प्रतिष्ठानहरूका समस्या समाधानको लागि आफूले सहयोग गर्ने बताउँदै नियमपूर्वक काम गर्न पनि उपकुलपतिहरूसमक्ष अनुरोध गरे।

गृहमन्त्री गुरुङले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण

गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहलाई सेयरमा लगानी विवादबारे लिखित स्पष्टीकरण बुझाएका छन्। विवादास्पद व्यापारीसँग सेयरमा लगानीकाे विषय बाहिरिएपछि प्रधानमन्त्री शाहले गृहमन्त्री गुरुङसँग लिखित स्पष्टीकरण मागेका थिए।

टी–२० आई क्रिकेट : नेपाल युएईसँग ६ विकेटले पराजित

युएईविरुद्धको पहिलो टी–२० आई क्रिकेटमा घरेलु टोली नेपाल ६ विकेटले पराजित भएको छ। वर्षाका कारण खेल छोट्याएपछि युएई राष्ट्रिय क्रिकेट टोलीले ७८ रनको लक्ष्य पाएको थियो, जुन उसले ८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।

गृहमन्त्रीको स्पष्टीकरण– सेयरहोल्डर हुनु अपराध होइन, सबै कारोबार बैंकिङ च्यानलबाटै भएकाे छ

गृहमन्त्री सुधन गुरुङले विवादित व्यापारीसँग नाम जोडिएपछि सेयरमा लगानी गर्नु अपराध नभएको भन्दै स्पष्टीकरण दिएका छन्। फेसबुकमा लामो स्ट्याटस लेख्दै गृहमन्त्री गुरुङले ऋण लिएर सेयरमा लगानी गरेको र सबै कारोबार बैंकिङ च्यानलबाटै भएको स्पष्टीकरण दिएका हुन्।

सरकारी विद्यालयका शिक्षकको निजीमा लगानी : सेयरमा कुरा नमिल्दा गुन्डा लगाएर कुटपिट

झापाको दमकमा एक सरकारी विद्यालयका शिक्षकले निजी विद्यालयका सञ्चालकमाथि सोमबार कुटपिट गरेका छन्। मोरङको मिक्लाजुङस्थित तोरीबारीमा रहेको देवकोटा माध्यमिक विद्यालयका शिक्षक दीपक दंगालले नेकपा नेतासमेत रहेका दमकस्थित सप्तश्री बोर्डिङका सञ्चालक वीरेन्द्र बस्नेतमाथि गुन्डागर्दीमा संलग्नलाई प्रयोग गरेर कुटपिट गरेका हुन्। 

अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनमा प्लास्टिकजन्य सामग्री प्रतिबन्ध

मुलुककै सबैभन्दा व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय परिसरभर प्लास्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ। विमानस्थलस्थित अध्यागमन कार्यालयले मातहतका सबै कार्यालयमा प्लास्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको हो।

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विश्वविद्यालय तथा स्वास्थ्यसम्बद्ध शैक्षिक संस्थाहरूमा क्रियाशील दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना हटाउने निर्णय अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

रास्वपाको लेबी संरचना संशोधन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले पार्टीभित्र उठ्दै आएको लेबीसम्बन्धी विषयमा परिमार्जन गर्दै नयाँ व्यवस्था अनुमोदन गरेको छ। अब रास्वपाका सांसदहरूले पार्टीलाई मासिक १५ हजार रुपैयाँ लेबी तिर्नुपर्ने निर्णय गरिएको छ।

रास्वपा महामन्त्रीमा भूपदेव शाह

भूपदेव शाह राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री बनेका छन्। सोमबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले साहलाई महामन्त्री बनाएको हो।

बैठकले सागर ढकाल र सरिता ज्ञवालीलाई सचिवालय सदस्य मनोनीत गरेको छ। सभापति रवि लामिछानेको प्रस्ताव केन्द्रीय समितिले अनुमोदन गरेको हो।

मध्यपूर्वमा खुल्यो श्रम स्वीकृति

अमेरिका–इजरायल र इरान युद्धका कारण रोकिएको मध्यपूर्वको श्रम स्वीकृति खुलेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले सोमबार दिउँसो मध्यपूर्वका सबै देशमा श्रम स्वीकृति खुला गर्ने निर्णय गरेका हुन्।

सरकारले १७ फागुनदेखि लागू हुने गरी मध्यपूर्वका साउदी अरेबिया, युएई, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान्, टर्की र इजरायलमा श्रमिक जानबाट रोक्ने निर्णय गरेको थियो। तर, युद्ध मत्थर हुँदै आएपछि सबै देशमा पुनः श्रम स्वीकृति भने खुला भइसकेकोमा सोमबारदेखि नयाँ श्रम स्वीकृति पनि जारी गर्ने निर्णय भएको हो।

सुझावित समाचार