२७ वटा फर्म र व्यक्तिले अझै तिरेनन् पौने ६ करोड

तालतलैयाको बक्यौता नउठ्दा भजनीका योजना कार्यान्वयन प्रभावित

आइतबार, ६ बैशाख, २०८३
डिजिटल संस्करण

नगरभित्रका तालतलैयाको बक्यौता रकम नउठ्दा भजनी नगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा आन्तरिक आयतर्फ समावेश गरेका योजनाहरू कार्यान्वयनमा समस्या देखिएको छ । तालतलैया ठेक्काबापत यस वर्ष करिब दुई करोड रुपैयाँ बक्यौता असुल हुने आकलनसहित नगरपालिकाले बजेटमा योजनाहरू समावेश गरेको थियो ।

बक्यौता अहिलेसम्म असुल नभएकाले आन्तरिक आयबाट कार्यान्वयन गरिने योजनाहरू कटौती गर्नुपर्ने अवस्था रहेको नगर प्रमुख केवल चौधरीले बताए । पटकपटक ताकेता गर्दा पनि बक्यौता रकम असुल नभएको उनले बताए । ‘बक्यौता रकमलाई आय अनुमान गरेर बजेटमा योजनाहरू समावेश गरेका थियौँ,’ उनले भने, ‘तर असुल नभएपछि यो वर्षको बजेटमा राखिएका दुई करोड रुपैयाँ लागतका योजनाहरू कटौती गर्नुपर्ने स्थिति छ ।’

कैलालीमा सबैभन्दा बढी तालतलैया रहेको पालिकामा पर्ने भजनीको आन्तरिक आयको प्रमुख स्रोत तालतलैयाको ठेक्काबाट आउने राजस्व हो । नगरपालिकाले डेढ दर्जन तालतलैयामा माछापालनका लागि ठेक्कामा दिएको छ । तर विगतमा तालतलैया ठेक्कामा लिएकाहरूले पाँच करोड ६९ लाख ९३ हजार रुपैयाँ बक्यौता नगरपालिकालाई तिरेका छैनन् ।

असुल हुन बाँकी बक्यौतामध्ये केही दश वर्षअघिको ठेक्काको समेत छ । ६ वटा तालको ठेक्का अवधि गत चैत मसान्तमा सकिएको छ, तर ठेक्का लिएकाहरूले कबोल गरेको रकम तिरेका छैनन् । भजनी नगरपालिका–९, मा रहेका घोरताल गिदनीया ताल र सोनियारुपियया नुक्लीतालमा माछापालनको ठेक्का लिएको कैलाली मत्स्य तथा कृषि कम्पनी प्रालिले सबैभन्दा बढी तीन करोड ४२ लाख ७२ हजार रुपैयाँ राजस्व तिरेको छैन । यी दुई तालको पाँच वर्षको ठेक्का अवधि ०८० चैत मसान्तमै सकिएको थियो ।

विभिन्न समयमा ताल ठेक्कामा लिएका २७ वटा फर्म र व्यक्तिले पाँच करोड ६९ लाख ९३ रुपैयाँ राजस्व नतिरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै बक्यौता दाखिला गर्न भनेको छ । तालतलैयाको बक्यौता नउठ्दा आन्तरिक आय लक्ष्यअनुसार संकलन हुन नसकेको र यसले नगरपालिकाभित्रका विकासका गतिविधिहरू प्रभावित हुँदै गएका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले बताए । यही कारण आन्तरिक स्रोत खर्च गर्ने गरी नगरपालिकाले यस वर्षको बजेट तथा कार्यक्रममा राखेका कतिपय योजनाहरू कार्यान्वयन गर्न नसकिने अवस्था रहेको उनले बताए । ‘तालतलैयाको बक्यौतालाई आयस्रोत अनुमान गरेर योजनाहरू राखिए तर बक्यौता उठेन,’ भट्टले भने, ‘आँकलन गरिएअनुसार आय नभएपछि आन्तरिक स्रोत उल्लेख गरिएका योजनाहरू कार्यान्वयन नहुने देखिन्छ ।’

भजनीले चालू वर्षका लागि ६८ करोड ४३ लाख रुपैयाँको बजेट ल्याएको थियो । त्यसमध्ये संघबाट विभिन्न शीर्षकमा पाउने अनुदान र राजस्ज बाँडफाँटबाहेक नगरपालिकाको आन्तरिक आयतर्फ तीन करोड र बक्यौता असुलिको दुई करोड रुपैयाँ बजेटको स्रोतको रुपमा राखिएको छ ।

नगरभित्र रहेका तालतलैया आन्तरिक आयको प्रमुख स्रोतको रूपमा रहे पनि नगरपालिकाले बक्यौता रकम असुल गर्न सकेको छैन । नगरपालिकाले माछापालनका लागि ठेक्कामा दिएका अधिकांश वनभित्र रहेका प्राकृतिक ताल हुन् । कुनै ताल १०–१२ बिघासम्म फैलिएका छन् । कैलाली माछा उत्पादनको पकेट क्षेत्रका रुपमा रहेको छ । माछामा पूर्ण आत्मनिर्भर नभए पनि यहाँ उत्पादित माछाले धेरै हदसम्म माग धान्ने गरेको छ । भजनी, कैलारीलगायतका पालिकाहरू माछा उत्पादनका पकेट क्षेत्र हुन् ।

सामुदायिक वनभित्र रहेका तालतलैया उपभोगको विषयमा विगतमा भजनी नगरपालिका र स्थानीय सामुदायिक वनबिच विवाद देखिएको थियो । सामुदायिक वनहरूले तालको ठेक्का आफूले लगाउन पाउनुपर्ने माग गर्दै आएका छन् । नगरपालिकाका अनुसार सामुदायिक वनका तर्फबाट यो मुद्दा कैलाली जिल्ला अदालतमा समेत परेको थियो । तर अदालतबाट नगरपालिकाको पक्षमा फैसला भयो । ‘केही तालमा सामुदायिक वनले आम्दानी आफूले लिन पाउनुपर्ने माग गरेपछि विवाद देखिएको थियो । त्यही वहानामा केही ठेकेदारले राजस्व तिरेनन्’ भजनी नगरपालिकाको राजस्व शाखाका कर्मचारी चिरञ्जिवीप्रसाद उपाध्यायले भने, ‘त्यतिबेला ठेक्का लगाउँदा बैंक ग्यारेन्टी पनि नमागिएको रहेछ ।’

See More On

सुझावित समाचार