औषधि व्यवस्था विभागका महानिर्देशक मन्त्रालय तानिए

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बिमा बोर्ड र औषधि व्यवस्था विभागका प्रमुखलाई कारबाही गरेको छ । मन्त्रालयले बोर्डका निमित्त कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेललाई स्पष्टीकरण सोधेको छ । विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालयमा तानिएका छन् । मन्त्रालयले बोर्डको काममा शंकास्पद भूमिका खेलेको भन्दै समन्वय महाशाखा प्रमुख भीमप्रसाद सापकोटालाई पनि स्पष्टीकरण सोधेको छ ।

बोर्डमा बिमा क्लेम र बोर्डका सदस्यलाई काममा फर्काउन शंकास्पद भूमिका खेलेको आशंका गर्दै बोर्डका कार्यकारी निर्देशक डा. पौडेल र मन्त्रालयका समन्वय महाशाखा प्रमुख सापकोटालाई मन्त्रालयले ३० चैतमा स्पष्टीकरण सोधेको थियो । दुवैले जवाफ दिइसकेका छन् । मन्त्रालयले बोर्डमा कतिपय कागजात मिलाउन र निर्णय गर्दा माइन्युट नै व्यवस्थित नगरेको समेत प्रश्न उठाएको थियो । 

त्यस्तै, पदीय मर्यादाको दुरुपयोग गरेर यसअघि श्रममन्त्री दीपक साहकी पत्नी जुनु श्रेष्ठलाई बोर्ड सदस्यमा फर्काएको भन्दै विवाद बढेको थियो । यो घटनामा प्रधानमन्त्री बालेन शाहले श्रममन्त्री साहलाई हटाइसकेका छन् । सापकोटा र पौडेलले माइन्युट व्यवस्थित रहेको र रुजुमा कुनै समस्या नभएको दाबी गरेका छन् । निवर्तमान श्रममन्त्री साहकी पत्नी श्रेष्ठलाई बोर्ड बैठकमा बोलाउनु गलत रहेको स्वीकार गरेका छन् । 

औषधिको मूल्य निर्धारण गर्दा मनपरी काम गरेको र कानुनी प्रक्रिया पालना नगरेको भन्दै औषधि व्यवस्था विभागका महानिर्देशक ढकाल मन्त्रालय तानिएका छन् । उनको ठाउँमा निमित्त महानिर्देशकका रूपमा शिवानी खड्गीलाई पठाइएको छ । स्वास्थ्यमन्त्रीस्तरीय निर्णयबाट उनलाई जिम्मेवारी दिइएको हो । खड्गी विभागमा दसौँ तहकी वरिष्ठ औषधि व्यवस्थापकका रूपमा कार्यरत छिन् । 

सुझावित समाचार