सरकारी अस्पतालमा डाक्टरले कम समय दिने गरेको गुनासो आएपछि मन्त्रालयले अनुगमनको तयारीसमेत थालेको छ । अधिकांश सरकारी अस्पतालमा दरबन्दी भएका एमबिबिएस तथा विशेषज्ञ डाक्टरसमेत अनावश्यक बिदा बसेको, निजीमा गएर सेवा दिएको, सरकारी अस्पतालमा दैनिक आठ घण्टा सेवा नगरेको भन्ने गुनासा आएपछि मन्त्रालयले अनुगमन थालेको हो ।
अनुगमनका क्रममा कुन अस्पतालमा कति डाक्टरको दरबन्दी छ, कति डाक्टर बिदामा छन्, कति नियमित ड्युटीमा छन्, उनीहरू कति घण्टा काम गरिरहेका छन् रु लगायत सबै विवरण हेरिनेछ । सरकारी अस्पतालको सेवा प्रवाहलाई सहज पार्न मन्त्रालयले ‘अस्पताल सुधार कार्यविधि सुधार, २०८२’ समेत जारी गरेको छ । जहाँ अस्पताल, स्वास्थ्यकर्मी र कर्मचारीको दायित्व र सेवा प्रवाहबारे उल्लेख गरिएको छ ।
‘सेवा प्रवाहलाई सुधार्न यो कार्यविधि ल्याइएको हो, तर सरकारी अस्पतालमा अझै पनि धेरै गुनासा आइरहेका छन्, त्यसैले अनुगमन हुँदै छ, मुख्यतः डाक्टरसापहरू कति घण्टा काम गर्नुहुन्छ, सेवा प्रवाह कस्तो छ भन्नेबारे मन्त्रालयको टोलीले अनुगमन गर्छ,’ सूचना अधिकारी केसीले भने, ‘सुरुमा उपत्यकाका ठुला अस्पतालमा अनुगमन गर्छौँ, सोही आधारमा मातहतका निकायले उपत्यकाबाहिरका स्वास्थ्य संस्थामा पनि अनुगमन गर्नेछन् ।’ उनका अनुसार कतिपय सरकारी अस्पतालमा चाहिनेभन्दा बढी जनशक्ति छ, तर कतिपयमा कम छ ।अनुगमनले स्वास्थ्य जनशक्ति सन्तुलित बनाउनसमेत सहज हुनेछ ।