बुधबार १० बजेसम्मका प्रमुख १० खबर

बुधबार, २ बैशाख, २०८३
डिजिटल संस्करण

०६२ यताका नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन

सरकारले २०६२/०६३ सालयताका नेता र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्पत्ति छानबिन गर्न ६ सदस्यीय उच्चस्तरीय आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

राजेन्द्रकुमार भण्डारीको संयोजकत्वको आयोगमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, चण्डीराज ढकाल, पूर्वडिआइजी गणेश केसी र सिए प्रकाश लम्साल सदस्य रहेको छन्।

आयोगले ०६२/६३ सालयता सार्वजनिक पदमा रहेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण तथा छानबिन गर्नेछ।

प्रधानमन्त्री कार्यालयले माग्यो सबै मन्त्रालयको सवारीसाधन विवरण

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय र अन्तर्गतका विभाग र कार्यालयहरूको सवारीसाधनको विवरण मागेको छ।

बुधबार प्रधानमन्त्री कार्यालयका शाखा अधिकृत आनन्दराम श्रेष्ठले सबै मन्त्रालयहरूलाई पत्र पठाउँदै भोलि बिहीबार कार्यालय समयभित्रै विवरण उपलब्ध गराउन आग्रह गरेका हुन्। प्रधानमन्त्री कार्यालयले प्रयोगकर्ताको नाम र पदसहित तोकिएको ढाँचामा विवरण उपलब्ध गराउन भनिएको छ।

इजरायलसहित थप चार देशमा खुल्यो पुनः श्रम स्वीकृति

वैदेशिक रोजगार विभागले इजरायलसहित थप चार देशमा पुनः श्रम स्वीकृति खुला गरेको छ। विभागले बुधबार इजरायल, कुवेत, बहराइन र लेबनान पनि पुनः श्रम स्वीकृतिको काम सुचारु गरेको हो।

विभागले यसअघि साउदी अरेबिया, युएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि पुनः श्रम स्वीकृति सुचारु गरिसकेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णयबमोजिम यी देशमा पुनः श्रम स्वीकृति खुला गरिएको विभागले जनाएको छ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत बैठकका महत्वपूर्ण निर्णयहरूको जानकारी दिएका हुन्।

कांग्रेसमा असन्तुष्ट पक्षसँग संवादको जिम्मा सभापति थापालाई

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीमा असन्तुष्ट इतरपक्षसँग संवादको जिम्मेवारी सभापति गगनकुमार थापालाई दिएको छ। बुधबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टीमा बृहत्तर एकताका लागि संवाद गर्न सभापति थापालाई जिम्मेवारी तोकेको हो।

बिस्का जात्रा : सुजनले चौथोपटक जिब्रो छेडे [तस्बिरहरू]

बिस्का जात्राअन्तर्गत बुधबार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ। यस वर्ष पनि स्थानीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका छन्।

बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले चौथोपटक जिब्रो छेडाएका हुन्। प्रत्येक वर्ष वैशाख २ गते भक्तपुरमा जिब्रो छेड्ने जात्रा मनाइन्छ। लिखित इतिहास नभए पनि जिब्रो छेड्ने परम्परा प्राचीनकालदेखि नै चल्दै आएको मानिन्छ।

पूर्णबहादुर खड्कासँग सातदिने स्पष्टीकरण सोध्ने कांग्रेस अनुशासन समिति बैठकको निर्णय

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सातदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

खड्काले आफू कार्यवाहक सभापति भएको भन्दै दोस्रोपटक विज्ञप्ति जारी गरेपछि बैठकले सातदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

विशेष महाधिवेशनबाट निर्वाचित भएको गगन थापाको टिमले निर्वाचन आयोगबाट आधिकारिकता पाए पनि खड्काले आफू कार्यवाहक सभापति भन्दै  समानान्तर गतिविधि गर्दै  आएका छन् । 

पछाडि पारिएकाको सच्चा पहरेदार बन्न समानुपातिक सांसदलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र विशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका क्लस्टरको सच्चा पहरेदार बन्न आह्वान गरेका छन्।

प्रधानमन्त्री कार्यालयमा आज भएको छलफलमा उनले समानुपातिक सांसदहरूको भूमिकालाई राष्ट्रिय मूलधार र समुदायको सेतुको रूपमा व्याख्या गरे।

इरानमा पक्राउ परेका अमृत झा एक महिनापछि रिहा

इरानी सुरक्षाकर्मीले पक्राउ गरेका अमृत झा एक महिनापछि थुनामुक्त भएका छन्। उनी गत ४ चैतमा पक्राउ परेका थिए। 

झा व्यापारिक पानीजहाजका क्याप्टेन हुन्। उनी सवार पानीजहाजलाई स्ट्रेट अफ हर्मुजमा इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। झा बुधबार रिहा भएको परराष्ट्रमन्त्री शिशिर खनालले बताए। 

शीतभण्डार निर्माणमा ७२ लाख भ्रष्टाचार, प्रदेश सचिवसहित १७ विरुद्ध मुद्दा दर्ता

रूपन्देहीको सम्मरीमाई गाउँपालिकामा शीतभण्डार निर्माणका क्रममा झण्डै ७२ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा १६ व्यक्ति र एक फर्मविरुद्ध मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीलगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। सम्मरीमाई– ५ सिद्धनाथमा निर्माणाधीन शीतभण्डारको गलत कार्यसम्पादन प्रतिवेदन बनाई भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

आव २०७६/७७ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत शीतभण्डार निर्माण अनुदान कार्यक्रमअन्तर्गत प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सम्मरीमाईबिच २०७६ जेष्ठ १४ मा निर्माण अनुदान कार्यक्रमको सम्झौता भएको थियो।

सुझावित समाचार