दक्षिणी सीमामा थप २२ सय सशस्त्र प्रहरी परिचालन

सीमामा यसअघि ६ हजार पाँच सय सशस्त्र प्रहरी खटिएकामा अब आठ हजार सात सय पुगे

बुधबार, २ बैशाख, २०८३
डिजिटल संस्करण

सीमा सुरक्षा र सीमावर्ती अपराध नियन्त्रणका लागि भारतसँगको सीमानाकामा थप दुई हजार २०० सशस्त्र प्रहरी खटाइएको छ । गृह मन्त्रालयको निर्देशनमा सशस्त्र प्रहरीले पहाडी जिल्लामा कार्यरत प्रहरीलाई सीमामा खटाएको हो । नयाँ सरकार बनेलगत्तै सीमामा केन्द्रित हुन सशस्त्र प्रहरीलाई निर्देशन दिइएको थियो ।

सोहीअनुसार अस्थायी रूपमा सीमामा परिचालन बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । तीन हजार जनशक्ति सीमानाकामा थप्ने योजना रहेको र हालसम्म दुई हजार २०० लाई परिचालन गरिसकिएको सशस्त्रका प्रवक्ता डिआइजी विष्णुप्रसाद भट्टले बताए ।

पहाडी जिल्लाका गण र गुल्ममा कार्यरत सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा पट्रोलिङमा खटाइएको छ । सीमा सुरक्षाका साथै तस्करी नियन्त्रण तथा सीमा अपराध रोकथामको उद्देश्यले नाकामा सशस्त्र प्रहरी  बढाइएको प्रवक्ता भट्टले बताए । यसअघि सीमामा ६ हजार पाँच सय सशस्त्र प्रहरी खटिएकोमा अब ८ हजार सात सय पुगेको छ । 

कार्यक्षमताका आधारमा डिआइजीमा बढुवाको तयारी   
सरकारले जेष्ठताभन्दा कार्यक्षमताको आधामा सुरक्षा निकायमा बढुवा गर्ने भएको छ । गृहमन्त्री सुधन गुरुङले कार्यक्षमतालाई प्राथमिकता दिएर बढुवा प्रक्रिया अघि बढाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । 

सशस्त्र प्रहरीमा नायब महानिरीक्षक(डिआइजी)का सात पद रिक्त छन् । जसमा यही साता बढुवा गर्ने तयारी छ । विगतमा राजनीतिक पहुँच र चलखेलका आधारमा बढुवा भएकाले अब त्यसबेलाको जेष्ठताभन्दा कार्यक्षमता र इमान्दारीताका आधारमा बढुवा गर्न मन्त्री गुरुङले निर्देशन दिएको स्रोत बताउँछ । ‘पहिला ७०–७५ नम्बरमा रहेकाहरु बढुवामा राजनीतिक पहुँचकै आधारमा ४–५ नम्बरमा आएको देखियो,’ गृह मन्त्रालयका एक अधिकारी भन्छन्,‘त्यसकारण यसपटक विगतको जेष्ठताभन्दा हरेक अधिकृतको पृष्ठभुमी हेरर कार्यक्षमताका आधारमा बढुवा गर्नुपर्छ भनेर गृहकार्य भइरहेको छ ।’ सोही गृहकार्यका कारण रिक्त पदमा बढुवा हुन ढिलाई भयरहेको स्रोत बताउँछ । 

सशस्त्र प्रहरी बलमा काननुतर्फ एक र प्रशासनतर्फ ६ डिआइजी पदमा बढुवाको गृहकार्य अघि बढाइएको छ । विगतमा बढुवाका लागि सूचना प्रकाशन गरी फारम भरेर शैक्षिक प्रमाणपत्र बुझाउनुपर्ने प्रावधान थियो । हाल त्यसलाई संशोधन गरिएको छ । अब सिधैं बढुवा समितिको बैठक बसेर बढुवाको तयारी भइरहेको छ । 

सुझावित समाचार