केही महिनामै बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु हुन्छ : सभामुख अर्याल

आइतबार, २९ चैत, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले केही महिनामै बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम सुरु हुने बताएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अर्यालले राष्ट्रिय गौरवको रूपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजना निकट भविष्यमै निर्माण सुरु हुने बताएका हुन् । 

यसअघि शिलान्यासको काम मात्रै भएको र निर्माण कार्य सुरु नभएको भन्दै उनले अब निर्माण कार्य सुरु गर्ने बताएका छन्। ‘अब शिलान्यास होस् या निर्माण गर्ने गतिविधि जे भए पनि त्यही दिनबाट बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु हुन्छ। हामी त्यो तयारीमा छौँ। धादिङ र गोरखाको चासोको विषयमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजना म राजनीतिक दलको विभिन्न जिम्मेवारीमा रहँदा र अहिले सभामुखको जिम्मेवारीमा रहँदा उत्तिकै जिम्मेवार भएर यो आयोजना निर्माण गर्न लाग्नेछु,’ उनले भने, ‘अब धेरै महिनै कुर्नुपर्दैन। बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण कार्य छिट्टै सुरु हुन्छ। त्यो तहमा हामी काम गरिरहेका छौँ ।’

त्यस्तै, उनले शिक्षा स्वास्थ्य रोजगारीलगायत विकास निर्माणको हरेक क्षेत्रमा सुशासन र पारदर्शिताका साथ काम हुने बताएका छन्। धादिङलाई उच्च प्राथमिकतामा राखेर यस्ता क्षेत्रमा काम गर्ने उनले बताएका हुन् । आज गृहजिल्ला धादिङ आइपुगेका सभामुख अर्यालले धादिङका  व्यवसायीहरू, स्थानीय तथा जनप्रतिनिधिहरूसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ।

सुझावित समाचार