शनिबार १० बजेसम्मका प्रमुख १० खबर

शनिबार, २८ चैत, २०८२
डिजिटल संस्करण

सरकारले सोमबारदेखि ‘शून्य बाँकी फाइल सप्ताह’ मनाउने

सरकारी कार्यालयमा अनावश्यक रुपमा फाइल रोकिने प्रवृत्ति न्युनीकरण गर्न सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ मनाउने भएको छ। ३० चैतदेखि ७ बैशाखसम्म अभियान सुरु गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै निकायलाई निर्देशन दिइसकेको छ। 

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार आसिफ शाहका अनुसार यसम्बन्धि मार्गदर्शनसमेत स्वीकृत भइसकेको छ। हरेक कार्यालयमा कार्यलय प्रमुखको नेतृत्वमा अभियान समन्वय समिति गठन गर्नुपर्ने छ। 

सम्पत्ति छानबिनको निर्णय म प्रधानमन्त्री हुँदा गरेको हुँ : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्ने निर्णय आफू प्रधानमन्त्री रहँदा नै गरिएको बताएका छन्।

पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो निर्णय आफ्नो कार्यकालमै भएको दाबी गर्दै यस विषयमा पटक–पटक उल्लेख गरिसकेको बताए।

वैदेशिक रोजगारीका श्रमिकलाई विमानस्थलमा अतिरिक्त कागजात नचाहिने

अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्दा थप अनावश्यक कागजात वा बिल/रसिद पेस गर्न नपर्ने स्पष्ट गरेको छ।

शुक्रबार जारी गरिएको सूचनामार्फत विभागले हालै देखिएको अन्योलप्रति ध्यानाकर्षण भएको जनाएको हो। विमानस्थलस्थित अध्यागमन कार्यालयमा श्रमिकसँग अतिरिक्त कागजात मागिएको भन्ने विषय सार्वजनिक भएपछि विभागले औपचारिक रूपमा स्पष्टोक्ति दिएको हो।

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले निर्माण उद्योग संकटमा

इन्धन तथा निर्माण सामग्रीको लगातार बढ्दो मूल्यका कारण निर्माण उद्योग गम्भीर संकटमा परेको भन्दै निर्माण व्यवसायी संघ ताप्लेजुङले ‘आपतकाल’ घोषणा गर्न सरकारसँग माग गरेको छ।

संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रियस्तरमा जारी युद्धका कारण डिजेल, पेट्रोल, मट्टीतेललगायत इन्धनजन्य सामग्रीमा भएको अस्वाभाविक मूल्यवृद्धिले निर्माण क्षेत्र ठप्प हुने अवस्थामा पुगेको जनाएको छ।

वैशाख १ देखि काठमाडौंमा चार रुटमा रात्रि बस चल्ने

वैशाख १ गतेदेखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने भएको छ। काठमाडौं महानगरपालिकाको पहलमा बेलुका ८ बजेदेखि ११ बजेसम्म रात्रि बस सञ्चालन हुन लागेको हो।  

महानगरपालिकाले बसको रुट पनि तय गरेको छ ।  दक्षिण रुटमा चल्ने एउटा सवारीसाधन ललितपुरको लगनखेलबाट सुरु भएर पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ। अर्को बस बुढानीलकण्ठबाट गंगालाल अस्पताल, महाराजगञ्ज चोक, पानीपोखरी, लाजिम्पाट, जमल,, थापाथली, पुल्चोक हुँदै लगनखेल पुग्नेछ। नयाँ सडक गेट अर्थात् एनएसीअगाडिबाट एउटा बस छुट्नेछ। यसरी ३ वटा विन्दुबाट बस गुडेपछि हरेक बस बिसौनीमा २० मिनेटको अन्तरमा बस आइ पुग्नेछ। यो सडकको एकतर्फी दूरी १६ किलोमिटर पर्दछ। 

पूर्वपश्चिम रुटको दूरी २० किलोमिटर  छ । यो रुटमा एउटा बस थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जमल, भद्रकाली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलका लागि छुट्नेछ । अर्को बस विमानस्थलबाट, तीनकुने, मीनभवन, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, सोल्टीमोड, रविभवन, कलंकी हुँदै थानकोटतर्फ गुड्नेछ। नयाँ सडक गेटअगाडि अर्थात् एनएसीबाट एउटा बस थानकोटतर्फ र अर्को बस विमानस्थल तर्फ छुट्नेछ । यसरी ४ वटा विन्दुबाट ४ वटा बस छुटेपछि हरेक बस बिसौनीमा हरेक २० मिनेटको अन्तरमा बस उपलब्ध हुने महागरपालिकाले जनाएको छ।

पाथीभरामा एकै दिन ७ हजार २२ भक्तजनले गरे दर्शन

पूर्वको ताप्लेजुङमा अवस्थीत प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा शनिबार एकै दिन ७ हजार २२ जना भक्तजनले दर्शन गरेका छन् ।  पाथीभरा क्षेत्र विकास समितिका निर्देशक प्रजिन हाम्बाङले शनिबार बिहानदेखि बेलुकासम्म मन्दिर क्षेत्रमा भक्तजनको भिड लागेको बताए ।

शनिबारको बिदा, अनुकूल मौसम र धार्मिक आस्थाका कारण दर्शनार्थीको संख्या बढेको हो। नेपालका विभिन्न जिल्ला र छिमेकी भारतबाट समेत तीर्थयात्री उल्लेख्य मात्रामा आएको पाथीभराका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । 

१३ औँ संस्करणको नेपाल ट्याटु कन्भेसन (तस्बिरहरू)

१३ औँ संस्करणको 'नेपाल ट्याटु कन्भेसन' ललितपुरको हेरिटेज गार्डेनमा चलिरहेको छ। शुक्रबारदेखि सुरु भएको ट्याटु कन्भेन्सन भोलिसम्म चल्नेछ। यो संस्करणमा २५० भन्दा बढी आर्टिस्टको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।

मधेश प्रदेश सरकारद्वारा ६ दिन सार्वजनिक बिदा थप

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३ का लागि संघ सरकारले निर्धारण गरेको सार्वजनिक बिदाबाहेक थप ६ दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ। प्रदेश सरकारले दिने सार्वजनिक विदा प्रदेशभरि लागू हुन्छ।

प्रशासकीय अधिकृत, इन्जिनियर र लेखापालसहित ६ जनालाई ३/३ महिना कैद

खेलमैदान निर्माणमा अनियमितता भएको ठहर गर्दै विशेष अदालतले गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतसहित ६ जनालाई दोषी ठहर गरेको छ। बझाङको बित्थडचिर गाउँपलिका- १ मा बित्थड खेलमैदान निर्माणमा १४ लाख ६६ हजार पाँच सय तीन रुपैयाँ अनियमितता भएको अदालतले ठहर गरेको हो। 

श्रम संस्कृति पार्टीको सदस्यता शुल्क १०० रुपैयाँ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम संस्कृति पार्टीको सदस्यता शुल्क १०० रुपैयाँ निर्धारण गरिएको बताएका छन्।

ललितपुरमा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै उनले निःशुल्क सदस्यता दिँदा यसको महत्त्व घट्ने भएकाले शुल्क लिने निर्णय गरिएको स्पष्ट पारे। उनका अनुसार मूल्य र महत्त्वबिचको अन्तर बुझ्न आवश्यक रहेको र मानिसले केवल मूल्य होइन, महत्त्वको कदर गर्न सिक्नुपर्ने बताए।

सुझावित समाचार