उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छिन्। आज सम्पन्न निर्वाचनमा उनले राप्रपाकी उम्मेदवार सरस्वती लामालाई पराजित गर्दै उपसभामुख पद हात पारेकी हुन्।
प्रतिनिधिसभाका विषयगत समिति गठन
संसद् अधिवेशन सुरु भएको नौ दिनमै प्रतिनिधिसभाका विषयगत समितिहरू गठन गरिएको छ। अघिल्ला संसद्हरूमा पहिलो अधिवेशन सुरु भएको झन्डै एक वर्षसम्म पनि समितिहरूले पूर्णता नपाउने अभ्यासलाई यसपटक तोडिएको छ।
९२ हजार ६ सय घुस र तीनवटा माेबाइलसहित वैदेशिक राेजगार विभागबाट नासु रंगेहात पक्राउ
वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंको अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङगी घुससहित पक्राउ परेका छन्।
सेवाग्राहीसँग वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दाको प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस माग गरी दुःख हैरानी दिएको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
अर्थ मन्त्रालयले सुरु गर्यो ई–पेन्सन प्रमाणीकरण, अब घरबाटै पेन्सनको नवीकरण
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेन्सन प्रमाणीकरण प्रणाली सुरुवात गरेका छन्।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच उनले महालेखा नियन्त्रकको कार्यालयले तयार गरेको सो प्रणालीको सुरुवात गरेका हुन्। यसले साढे तीन लाख पेन्सनकर्तालाई सहज हुने र सरकारले तिर्नुपर्ने बैँक कमिसन पनि शून्यमा झर्ने अपेक्षा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
गैरकानुनी रूपमा अभिलेख सच्याएर लाइसेन्स वितरण, पोखरा यातायातका कर्मचारी र सेवाग्राहीमाथि मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय (सवारीचालक अनुमतिपत्र), कास्कीका तत्कालीन प्रशासन अधिकृत शंकर थापासहित तीनजनाविरुद्ध मुद्दा दायर गरेको छ।
सरकारी अभिलेख सच्याएर अवैध लाइसेन्स वितरण गरेको अभियोगमा अख्तियारले शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। आठौँ तहका अधिकृत थापासहित तत्कालीन कम्प्युटर अपरेटर जगत ढकाल र गलकोट नगरपालिका– २ का हिमबहादुर बस्नेत थापालाई पनि प्रतिवादी बनाइएको छ।
संघीयतामा युवा पुस्ताको आकर्षण बढेको संसद्को प्रतिनिधित्वबाट पुष्टि : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले संघीयताप्रति युवा पुस्ताको आकर्षण बढेको प्रतिनिधिसभामा युवाको प्रतिनिधित्वबाट पुष्टि भएको बताएका छन्। शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपतिले यस्तो बताएका हुन्।
श्रम स्वीकृतिको काम गर्न साइबर सेन्टरहरूलाई रोक
वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिसम्बन्धी काम गर्न साइबर सेन्टरहरूलाई रोक लगाएको छ। ‘श्रम’ शब्दको प्रयोग गरी प्रचारप्रसार गरी वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पारी बिचौलियाको रूपमा रकम असुली गरेको भन्दै विभागले साइबर सेन्टरहरूलाई कडाइ गरेको हो।
अस्पतालले आइतबार पनि ओपिडी सेवा सञ्चालन गर्नुपर्ने
स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाउन अस्पतालहरूमा आइतबार पनि ओपिडी सेवा उपलब्ध हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्कलोड र जनशक्तिअनुसार ओपिडी सेवा उपलब्ध गराउन अस्पतालहरूलाई निर्देशन दिएको हो।
संघीय निर्णय अव्यावहारिक भन्दै आठराई त्रिवेणीद्वारा दुईदिने बिदा अस्वीकार
संघीय सरकारले सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरे पनि ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले उक्त निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको छ।
गाउँपालिकाको बुधबार बसेको ६०औँ कार्यपालिका बैठकले पुरानै समयतालिकाअनुसार कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकले कार्यालय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्ने र आइतबार बिदा नदिने निर्णय गरेको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमुले बताए।
त्रिविको फ्लडलाइटमा नेपाल र युएई खेल्ने
नेपाल र युएईबिचको अन्तर्राष्ट्रिय खेल त्रिवि क्रिकेट मैदानको फ्लडलाइटमा हुने भएको छ । शुक्रबार क्यानले युएईसँगको खेल त्रिवि मैदानमा हुने जनाएको छ । खेल साँझ ५ बजे हुनेछ । क्यानका अनुसार नेपालले अप्रिल २० र २१ गते युएईसँग टी–२० खेल खेल्दै छ ।