बागमती प्रदेश सभाबाट दुई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित

शुक्रबार, २७ चैत, २०८२
डिजिटल संस्करण

बागमती प्रदेश सभाको बिहीबार बसेको बैठकले दुईवटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । बैठकमा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ र प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको हो ।

प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईंले आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रस्तुत गरेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी विधेयक तथा खानेपानी, ऊर्जा तथा सिँचाइ न्त्री कृष्णकुमार तामाङले प्रस्तुत गरेको खानेपानी तथा सरसफाइसम्बन्धी विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्तावलाई सभामा उपस्थित सांसदहरूले सर्वसम्मत रूपमा अनुमोदन गरेका हुन् ।

यससँगै अब ती विधेयकहरूमाथि सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्न सक्ने भएका छन् । प्रदेश सभा सचिवालयले ७२ घण्टाको सूचना जारी गरी संशोधन प्रस्ताव पेस गर्न समय उपलब्ध गराउने जनाएको छ ।

यसअघि बैठकमा दुवै विधेयकको सैद्धान्तिक पक्षमाथि सामान्य छलफल भएको थियो । आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि नेकपाका सांसद रत्नप्रसाद ढकालले आफ्नो धारणा राखेका थिए । यस्तै, खानेपानी तथा सरसफाइसम्बन्धी विधेयकमाथिको छलफलमा नेकपाका सांसद ढकाल, कांग्रेसका सांसद रामकृष्ण चित्रकार र पुकार महर्जनले भाग लिएका थिए ।

छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ र खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले दिएका थिए । यस्तै, बिहीबारको बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश लोकसेवा आयोगको छैटौँ वार्षिक प्रतिवेदनसमेत प्रदेश सभामा पेस गरेका थिए ।

सुझावित समाचार