जनकपुरधाम/भारतको अयोध्याबाट जनकपुरधाम आउन लागेको अन्तर्देशीय रेलको स्वागतको तयारी अन्तिम चरणमा पुगेको छ । मंगलबार बिहान जनकपुरधाम आइपुग्ने रेलमा भारतीय रेलवेका अधिकारीसहित विभिन्न क्षेत्रका करिब एक हजार एक सय अतिथि सहभागी हुनेछन् ।
अतिथिको स्वागतका लागि जनकपुरधाम रेलवे स्टेसनमा पन्डाल निर्माणदेखि सांस्कृतिक कार्यक्रम र धार्मिक स्थलको भ्रमणसम्मको तयारी गरिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार रेलसेवाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट भिडियो कन्फ्रेन्समार्फत संयुक्त रूपमा उद्घाटन गर्नेछन् । त्यसपछि अयोध्यामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथले रेललाई हरियो झन्डा देखाएर जनकपुरधामका लागि बिदाइ गर्ने कार्यक्रम रहेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीले जानकारी दिए ।
रेलमा सर्वसाधारण यात्रु नभई भारतीय पक्षबाट आमन्त्रण गरिएका प्रतिनिधि मात्रै सहभागी हुनेछन् । जनकपुरधाम रेलवे स्टेसनमा अतिथिलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्वागत गर्ने कार्यक्रम तय भएको उनले बताए । अतिथिको विश्रामका लागि स्टेसनमा पन्डाल निर्माण भइरहेको छ भने सांस्कृतिक कार्यक्रममार्फत स्वागत गरिनेछ ।
अतिथिलाई जनकपुरधामका प्रमुख धार्मिक स्थल जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिरलगायतको भ्रमण गराउन नेपाल रेलवे कम्पनीले एक दर्जन बसको व्यवस्था गरेको छ । मंगलबार बिहान ९:२५ मा जनकपुरधाम आइपुग्ने रेल तीन घण्टा यहाँ बसेर पुनः अयोध्याका लागि प्रस्थान गर्नेछ ।
त्यसपछि शनिबारदेखि सातामा एक दिन व्यावसायिक रूपमा रेल सञ्चालन गर्ने तयारी रहेको महाप्रबन्धक पराजुलीले बताए । रेल नम्बर १५५९५ र १५५९६ अन्तर्गतको सरयुग–कमला एक्सप्रेस तत्काल जनकपुरधाम–अयोध्या रुटमा मात्रै सञ्चालन हुनेछ ।
६०४ किलोमिटर लामो दूरी
जनकपुरधाम र अयोध्याबिच सञ्चालन हुने रेलले भारतको बिहार र उत्तर प्रदेशका विभिन्न महत्वपूर्ण सहरलाई जोड्नेछ । करिब ६०४ किलोमिटर दूरी पार गर्ने रेलले बिहारको जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती र मनकापुर हुँदै अयोध्याधामसम्म सेवा दिनेछ । १७ डिब्बाको रेल जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार सञ्चालन गर्ने तयारी छ ।
अयोध्यादेखि जनकपुरधामसम्मको यात्रा पूरा गर्न करिब १९ घण्टा लाग्नेछ ।
जनकपुर–जयनगर रेलमार्गमा भने रेल प्रतिघण्टा ४० देखि ६० किलोमिटर गतिमा चल्ने अनुमान गरिएको छ ।
करिब एक हजार पाँच सय यात्रु बोक्ने क्षमताको रेलसेवा सञ्चालनमा आएपछि जनकपुरधामसहित मधेश प्रदेशको पर्यटन विकासमा नयाँ सम्भावना थपिने अपेक्षा गरिएको छ । सीताको जन्मभूमि जनकपुरधाम र रामको जन्मभूमि अयोध्याबिच नियमित रेल सम्पर्क स्थापित हुँदा दुवै धार्मिक सहरमा पर्यटकको आवागमन सहज हुनेछ ।
जनकपुरधामका सुन्दर सदनका महन्थ नवलकिशोर शरण जनकपुरधामदेखि अयोध्यासम्म सोझो रेल सम्पर्क स्थापित हुनु ऐतिहासिक उपलब्धि भएको बताउँछन् । ‘हाम्रा लागि अयोध्या सीता माताको घर हो । सीताको माइतीबाट ससुरालीसम्म सोझै रेलसेवा जोडिनु निकै उत्साहजनक विषय हो,’ उनले भने, ‘नेपालमा सबैभन्दा बढी आउने पर्यटक पनि भारतकै हुन् । आउँदै गरेको विवाहपञ्चमी महामहोत्सवमा भारतबाट जनकपुर आउने पर्यटकको बाक्लो घुइँचो लाग्छ । यो रेलसेवाले उनीहरूलाई ठुलो सहजता प्रदान गर्नेछ ।’
पर्यटन र व्यापारमा नयाँ सम्भावना
जनकपुरधाम र अयोध्याबिच रेल सम्पर्क स्थापित भएपछि धार्मिक पर्यटनसँगै स्थानीय व्यापार तथा आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ । अयोध्या आउने पर्यटकलाई जनकपुरधामसम्म आकर्षित गर्न सके होटेल, यातायात, रेस्टुरेन्ट, हस्तकला, स्थानीय उत्पादन र व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव पर्न सक्छ । जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव फुलगेन पण्डित रेलसेवालाई मधेशको पर्यटन र आर्थिक विकाससँग जोडेर उपयोग गर्नुपर्ने बताउँछन् ।
‘धार्मिक र पर्यटकीय हिसाबले यो रेलसेवा सञ्चालन हुनु निकै फाइदाजनक छ । अयोध्या आउने पर्यटकले सीताको माइत घुम्न जाऔँ भन्ने सोच बनाए भने जनकपुर आउने सजिलो माध्यम यही रेलसेवा बन्नेछ,’ उनले भने, ‘जनकपुरबाट पर्यटन प्रवद्र्धनमा जोड दिन सकिए भारतीय पर्यटकले लुम्बिनी, पोखरालगायत महत्वपूर्ण पर्यटकीय स्थलको पनि भ्रमण गर्न सक्छन् । यसबाट समग्र व्यापार–व्यवसायमा राम्रो प्रभाव पर्नेछ ।’
अयोध्या–जनकपुरधाम रेलसेवाले नयाँ सम्भावना सिर्जना गरिरहँदा जनकपुरधाममा यसअघि नै सञ्चालनमा रहेको जनकपुर–जयनगर रेलसेवाको व्यवस्थापन भने चुनौतीपूर्ण छ । पुरानो रेलसेवाको भौतिक पूर्वाधार, सरसफाइ र यात्रु सुविधाको अवस्था सुधार गर्नुपर्ने आवश्यकता उत्तिकै छ ।
नेपाल रेलवे कम्पनीका महाप्रबन्धकपरिवेश पराजुली भन्छन्–अयोध्यामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथले रेललाई हरियो झन्डा देखाएर जनकपुरधामका लागि बिदाइ गर्ने कार्यक्रम छ । अब सातामा एक दिन व्यावसायिक रूपमा रेल सञ्चालन गर्ने तयारी भइरहेको छ ।