जयशंकरको निम्तोमा परराष्ट्रमन्त्री खनाल मौरिससमा

शुक्रबार, २७ चैत, २०८२
डिजिटल संस्करण

परराष्ट्रमन्त्री शिशिर खनाल नवौँ हिन्द महासागरीय सम्मेलनमा सहभागी हुन मौरिससको राजधानी पोर्ट लुइस प्रस्थान गरेका छन् । इन्डिया फाउन्डेसन आयोजक रहेको सम्मेलनको आयोजक समितिका तर्फबाट परराष्ट्रमन्त्री खनाललाई भारतीय समकक्षी डा. एस जयशंकरले निमन्त्रणा गरेका हुन् । परराष्ट्रमन्त्री खनालको यो पहिलो विदेश भ्रमण हो, तर यो उनको औपचारिक द्विपक्षीय भ्रमण होइन ।

शुक्रबारदेखि आइतबारसम्म आयोजना हुने सम्मेलनमा परराष्ट्रमन्त्री खनालले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा भारतीय विदेशमन्त्री जयशंकर, भुटानका विदेशममन्त्री डिएन ढुंगेल, बंगलादेशका विदेशमन्त्री खालिलुर रहमान, कम्बोडियाका परराष्ट्र राज्यमन्त्री युएन खियाङ, इजिप्टका उपविदेशमन्त्री मोहम्मद अबु बक्र, मेडागास्करका परराष्ट्र मन्त्रालयकी महासचिव रजानाद्राओसा मारी लियोन्टिन, मौरिससका परराष्ट्र, क्षेत्रीय एकीकरण तथा अन्तर्राष्ट्रिय व्यापार मन्त्री धनञ्जय रामफुल, ओमानका विदेशमन्त्री सैयद बद्र हमद अल बुसैदी, ओमानका उपविदेशमन्त्री वलिद एलखेरैजी, साउदी अरबका परराष्ट्र तथा प्रवासी मामिलामन्त्री बेरी फाउरले सम्बोधन गर्ने कार्यक्रम छ । बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डे पनि कार्यक्रममा सहभागी हुँदै छन् । 

इन्डिया फाउन्डेसनले मौरिसस सरकारसँगको सहकार्यमा यो कार्यक्रम आयोजना गर्न लागेको हो । सम्मेलनको आयोजक समितिमै मौरिससका विदेशमन्त्री छन् । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनालले हिमाल–समुद्र पारिस्थितिक सम्बन्ध, आर्थिक विकासका लागि समुद्री सम्पर्क सञ्जालको महत्वबारे सम्बोधन गर्नेछन् । खनालले भारतीय समकक्षी जयशंकरलगायत विभिन्न मुलुकका विदेशमन्त्रीहरूसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम छ ।

सुझावित समाचार