विवादपछि कर्णाली प्रदेश सभाका सचिवले दिए राजीनामा

बिहिबार, २६ चैत, २०८२
डिजिटल संस्करण

विवादमा तानिएपछि कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले राजीनामा दिएका छन् । ६५ वर्ष हदम्याद नाघेपछि सचिवमा रहेको, श्रीमतीलाई निजी सचिव नियुक्त गरेको, दोहोरो सुविधा लिएको आरोपपछि पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएको प्रदेश प्रमुखको कार्यालयका उपसचिव पदमलाल लामिछानेले बताए । बुढाथोकीको राजीनामा स्वीकृत हुने प्रक्रियामा रहेको उनले बताए । दोहोरो सुविधा लिएको, सार्वजनिक कोषको दुरुपयोग गरेको र नियमावली उल्लंघन गरेको भन्दै सचिव बुढाथोकीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटक–पटक उजुरी परेको थियो । त्यस्तै, निजी सचिवमा श्रीमती नियुक्त गरी तलब लिएको विषय सार्वजनिक भएपछि विवाद झन् बढेको थियो । 

१२ जेठ ०७६ मा प्रदेश सचिव नियुक्त भएका बुढाथोकी १३ जेठ ०८१ मा दोस्रोपटक सोही पदमा दोहोरिएका थिए । उनले आफ्नै श्रीमतीलाई निजी सचिव राखेको पाइएको छ । सचिव बुढाथोकी प्रदेश सभा सचिवालयमा नियुक्त भएयता उनले श्रीमती रुक्मिना बुढाथोकीको नाममा मासिक ३४ हजार ७३० रुपैयाँ तलब भुक्तानी हुने गरेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । उनले श्रीमतीलाई निजी सचिवमा राखेर २५ लाख ५६० रुपैयाँ बुझेका थिए । आफूमाथि दोहोरो सुविधा लिएको आरोप लागेपछि उनले ३१ लाख ६९ हजार ९२३ रुपैयाँ फिर्ता गरेका थिए । रकम फिर्ता गरेसँगै उनी तेस्रोपटक सचिव बन्ने दाउमा थिए । दोहोरो सुविधा लिएको आरोपमा अख्तियार उजुरी परेपछि उनले पैसा फिर्ता गरेका हुन् । 

त्यस्तै, प्रदेश सभा सचिवमा नियुक्ति पाएका बुढाथोकीले उमेरहद ६५ वर्ष पूरा हुँदा पनि पदत्याग गर्न मानेका थिएनन् । ४ चैत ०१७ मा जन्मिएका बुढाथोकी १२ जेठ ०७६ मा प्रदेश सभाको सचिवमा नियुक्त भएका थिए । उनले १३ जेठ ०८१ मा दोस्रो नियुक्ति पाएका हुन् । उनी ४ चैत ०८२ मा ६५ वर्ष पूरा भएका थिए । ०७५ मा जारी प्रदेश सभा सचिवालयसम्बन्धी ऐनको दफा ८ को खण्ड (घ)मा सचिवको योग्यता ४० वर्ष पूरा भएको र ६५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ, तर सचिव बुढाथोकीको उमेरहद ६५ वर्ष पूरा भएको २० दिनभन्दा बढी भइसकेको थियो । 

सुझावित समाचार