- प्रधानमन्त्री बालेन्द्र शाहले भने– सरकार परिवर्तन नियमित प्रक्रिया हो । यो प्रणालीमा आएको परिवर्तन होइन, चुनावमार्फत सरकारको परिवर्तन भएको हो । त्यसकारण नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन । हामी राजनीतिक स्थायित्व कायम राख्न तथा नीतिगत दिशालाई स्थिर र पूर्वानुमानयोग्य बनाइराख्न दृढ प्रतिबद्ध छौँ ।
देशको कार्यकारी प्रमुखको जिम्मेवारी लिएको १२ दिनपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले छिमेकी तथा महत्वपूर्ण राष्ट्रहरूका राजदूतहरूसँग सामूहिक शिष्टाचार भेट गरेका छन् । विगतमा छिमेकी तथा नेपालका लागि महत्वपूर्ण मुलुकका राजदूतहरूले प्रधानमन्त्रीलाई बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कूटनीतिक प्रचलन रहे पनि यसपटक प्रधानमन्त्री शाहले नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग सामूहिक शिष्टाचार भेट गरेर नयाँ अभ्यास थालेका छन् ।
१३ चैतमा राष्ट्रपति भवन शीतलनिवासमा शपथग्रहण गरेलगत्तै प्रधानमन्त्री शाहलाई त्यहीँ बधाई ज्ञापन गरेका राजदूतहरूले १२ दिनपछि सामूहिक रूपमा शिष्टाचार भेट गरेका हुन् । कार्यभार सम्हालेपछि विदेशी राजदूतहरूसँग प्रधानमन्त्री शाहको यो पहिलो भेट हो ।
यसबिचमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भारत, चीन, अमेरिका, बेलायत र स्विट्जरल्यान्डका राजदूतले बेग्लाबेग्लै शिष्टाचार भेट गरेकामा प्रधानमन्त्रीको तहमा भने पहिलो सामूहिक भेट बुधबार भएको हो ।
चार मिनेटको सम्बोधनमा प्रधानमन्त्री बालेन शाहले के भने ?
प्रधानमन्त्री शाहले परराष्ट्र मन्त्रालयद्वारा तयार पारिएको भाषण नोट पढेर सुनाएका थिए । उनले करिब चार मिनेट सम्बोधन गरेका थिए । ‘नेपालको सन्तुलित र व्यवहारिक परराष्ट्र नीतिलाई पुनः पुष्टि गर्दै प्रधानमन्त्रीले छिमेकी राष्ट्रहरू, मित्र राष्ट्रहरू तथा विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिका आधारमा सम्बन्ध थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो’ परराष्ट्रद्धारा जारी बिज्ञप्तिमा छ, ‘नेपालका विकास प्रयासहरूमा निरन्तर प्राप्त सद्भाव र सहयोगप्रति प्रधानमन्त्रीले कृतज्ञता व्यक्त गर्नुभयो ।’
प्रधानमन्त्री शाहले विश्वमा जारी द्वन्द्वहरूले सर्वसाधारण नागरिकहरूलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति नै हाम्रो साझा प्राथमिकता हुनुपर्ने उल्लेख गरे । ‘हाल जारी द्वन्द्वले सर्वसाधारण नागरिकहरूलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति हाम्रो साझा प्राथमिकता रहनुपर्छ । यसमा हामी सबै सहमत छौँ भन्ने विश्वास लिएको छु र यस दिशामा सामूहिक प्रयासको अपेक्षा गर्दछु’ प्रधानमन्त्रीले भने ।
विदेशमा रहेका नेपाली श्रमिकहरू तथा समग्र नेपाली डायस्पोराको सुरक्षा, सुरक्षिता र हितप्रति सरकार गम्भीर रहेको पनि उल्लेख गरे । उनले सुशासन सुनिश्चित गर्ने, आर्थिक विकास हासिल गर्ने र नेपाली जनताको जीवनस्तर सुधार गर्ने सरकारको दृढ प्रतिबद्धतासमेत साझा गरेका थिए ।
प्रधानमन्त्री शाहले अहिले चुनावको प्रक्रियाबाट नयाँ सरकार गठन भएको उल्लेख गर्दै बिगतका नीतिहरूले निरन्तरता पाउने बताएका थिए । ‘सरकार परिवर्तन नियमीत प्रक्रिया हो । यो प्रणालीमा आएको परिवर्तन होइन, चुनावमार्फत् सरकारको परिवर्तन भएको हो । त्यसकारण नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन । हामी राजनीतिक स्थायित्व कायम राख्न तथा नीतिगत दिशालाई स्थिर र पूर्वानुमानयोग्य बनाइराख्न दृढ प्रतिबद्ध छौँ,’ प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्री शाहले नेपाल सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै आएको उल्लेख गर्दै नेपालको बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित रहेको स्पष्ट पारेका थिए । प्रधानमन्त्री शाहले नेपाल सरकार लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न, उद्यमशीलतालाई प्रोत्साहन गर्न तथा दिगो विकासलाई समर्थन गर्न प्रतिबद्ध रहेको पनि बताए ।
यसैगरी उनले राष्ट्रिय हित अनुकूल हुने गरी नेपाललाई क्षेत्रीय तथा वैश्विक आर्थिक संरचनामा अझ मजबुतरूपमा समेट्ने लक्ष्य राखिएको समेत सुनाए । सरकार विकास, व्यापार, लगानी, जलवायु कार्य तथा जनस्तरको सम्बन्धजस्ता विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउन सरकार इच्छुक रहेको उनको भनाई थियो ।