- बागमतीका कप्तान सन्दीप लामिछानेले ३३ रन खर्चेर पाँच विकेट लिएको प्रतिस्पर्धामा कोशी खेल सकिनु २४६ बलअघि पराजित
बागमती प्रदेशले बुधबार प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध सात विकेटको जित निकालेको छ । जनकपुरको मैदानमा पहिलो ब्याटिङ गरेको कोशी २८.२ ओभरमा ९९ रनमै समेटिएको थियो । प्रत्युत्तरमा बागमतीले नौ ओभरमा तीन विकेटको क्षतिमा सय रन बनायो ।
बागमतीले खेल सकिन २४६ बलअगाडि नै सानदार जित निकालेको हो । बागमतीको जितमा विवेक मगरले २८ बलमा १० चौका र दुई छक्का प्रहार गरी सर्वाधिक ६१ रनको योगदान दिएका थिए । ओपनर रिन्जिन लामाले १६ बलमा चार चौको सहयोगमा १७ रन बनाए ।
यसैगरी प्रतिश जिसीले पाँच बलमा दुई छक्का र एक चौका प्रहार गरी १७ रन जोडेका थिए । प्रधानमन्त्री कपमा तेस्रो जितसँगै बागमतीले सात खेलमा ६ अंक जोडेको छ । बागमतीले चार हार सामना गर्दा अंक तालिकाको सातौँ स्थानमा उक्लिएको छ । कोशी भने १ अंकका साथ दसौँ स्थानमा छ । कोशीले सातमध्ये ६ खेल गुमाएको छ ।
सन्दीपको पाँच विकेट
पहिलो ब्याटिङ गरेको कोशीले बागमतीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेको घातक बलिङ सामना गर्न सकेन । सन्दीपले ७.२ ओभरमा ३३ रन खर्चेर पाँच विकेट लिएपछि कोशीको ब्याटिङ कमजोर बन्यो । यसैगरी रिजन ढकालले पाँच ओभरमा १८ रन खर्चेर दुई विकेट हात पारे । प्रतिश र ईशान पाण्डेले समान एक विकेट लिए ।
कोशीको ब्याटिङमा कप्तान सूर्य थपलियाले सर्वाधिक २१ रनको योगदान दिए । उनले ४२ बलमा दुई चौका र एक छक्का प्रहार गरेका थिए । यसैगरी अंकित सुवेदीले २६ बलमा तीन चौकाको सहयोगमा १९ रन बनाए । पुछारका रोहन शाहले १७ बलमा १८ रन बनाए ।
मधेश १८ रनले विजयी
प्रतियोगिताअन्तर्गत ३३औँ खेलमा मधेशले गण्डकीमाथि १८ रनको जित निकालेको छ । डिएलएस नियमअनुसार मधेशले जित हात पारेको हो । वीरगन्जको मैदानमा पहिलो ब्याटिङ गरेको मधेशले ३४.५ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो ।
दोस्रो इनिङ्सको ब्याटिङ क्रममा भारी वर्षा हुँदा गण्डकीले २२ ओभरमा ९९ रनको नयाँ लक्ष्य पयो । गण्डकीले २२ ओभरमा पाँच विकेट गुमाएर ८० रन बनाउँदा मधेशले डिएसएसअनुसार जित हात पारेको हो ।
मधेशको ब्याटिङमा ओपनर मयांक यादवले ३२ बलमा पाँच चौका र एक छक्का प्रहार गरी सर्वाधिक ४३ रनको योगदान दिए । यसैगरी कप्तान अनिल शाहले ४३ बलमा तीन चौका र एक छक्काको सहयोगमा ३६ रन जोडे । मध्यक्रममा विशाल सुस्लिङले ४९ बल खेलेर ५० रन बनाए । गण्डकीका अपराजित पौडेल र सुवास भण्डारीले समान तीन विकेट हात पारेका थिए ।
अपराजितले २६ तथा सुवासले २६ रन दिएका थिए । ९९ रनको लक्ष्य पछ्याएको इनिङ्समा गण्डकीका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ४९ रन बनाए । उनले ६५ बलमा ६ चौका प्रहार गरेका थिए । उनीबाहेक अन्य कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् ।