- अस्ट्रेलियन स्टार डेभिड वार्नर र साहिल पटेलले १०४ रनको साझेदारी तथा पाकिस्तानी बलर जहानदाद खानले चार विकेट लिएपछि काठमाडौंले लुम्बिनीलाई ३६ रनले हरायो
नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणको पाँचौँ खेलसम्म अपराजित रहेको साबिक विजेता लुम्बिनी लायन्सको यात्रामा ‘ब्रेक’ लागेको छ । प्रतियोगिताको आफ्नो पाँचौँ खेलमा लुम्बिनी काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित भएको छ । समग्रमा लुम्बिनी ११औँ खेलमा आएर पराजित भएको छ ।
त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेका थिए । त्यसपछि करण केसीको काठमाडौंले सुरुमा ब्याटिङ गर्यो । अस्ट्रेलियन स्टार डेभिड वार्नर र साहिल पटेलले १०४ रनको साझेदारी गरेपछि काठमाडौंले आठ विकेट गुमाउँदै एक सय ६१ रनको लक्ष्य दिएको हो । प्रत्युत्तरमा पाकिस्तानी बलर जहानदाद खान चम्किएपछि लुम्बिनीका ब्याटिङक्रम ध्वस्त बन्यो । १९.३ ओभरमा अलआउट हुँदा लुम्बिनीले मात्र एक सय २४ रन बनाउन सक्यो । हारपछि पनि लुम्बिनी लायन्स शीर्ष स्थानमै छ । टोलीले पाँच खेलबाट तीन जितसहित सात अंक जोडेको छ । तेस्रो जितपछि काठमाडौं दोस्रो स्थानमा उक्लियो । उसको चार खेलबाट ६ अंक भएको छ । समान अंक भए पनि सुदूरपश्चिम तेस्रो स्थानमा पुगेको छ ।
चलेन लुम्बिनीको ब्याटिङ
पाकिस्तानी २३ वर्षीय बलर जहानदाद खान चम्किएपछि लुम्बिनीको ब्याटिङक्रम ध्वस्त भएको थियो । उनले लुम्बिनीका महŒवपूर्ण अस्ट्रेलियन ब्याटर डार्सी सर्ट, आसिफ सेख, श्रीलंकन निरोशान डिकवेला र दिलीप नाथलाई पेभेलियन फर्काएका थिए । ४.३ ओभरमा २८ रन बनाउँदा ६ विकेट गुमाएपछि लुम्बिनी लज्जास्पद हारतर्फ बढेको थियो । तर, सन्दीप जोराले रुबेन ट्रम्पलम्यान र अभिशेष गौतमसँग साझेदारी गर्दै ठुलो हारबाट टिमलाई जोगाएका थिए । सन्दीप जोराले ४५ बलमा सर्वाधिक ४४ रन बनाए । अभिशेष गौतमले १६, निरोशानले १४, रुबेनले ११ तथा शेर मल्लले १२ रनको योगदान गरे । यसअघि ओपनर डार्सीले ४, आसिफले १, कप्तान रोहित र दिलीप नाथ पनि डक हुँदा डेब्यु गरेका इटालीका ग्रान्ट स्टेवार्ड ६ रन बनाएर आउट भएका थिए ।
काठमाडौंका लागि पाकिस्तानका जहानदादले चार ओभरमा २३ रन खर्चिएर सर्वाधिक चार विकेट लिए । एनपिएलमा चौथो खेल खेलेका उनले सात विकेट लिइसकेका छन् । कप्तान करण केसीले चार ओभरमा एक मेडनसहित २४ रन खर्चिएर दुई विकेट लिएका थिए । यसबाहेक साहब आलम, संतोष यादव, सहिद खान र साहन अराचिगेले समान एक विकेट लिएका थिए ।
वार्नर र साहिलको शतकीय साझेदारी
पहिलो इनिङ्समा डेभिड वार्नर र साहिल पटेलले १०४ रनको साझेदारी गरेका थिए । वार्नर र पटेलले १४ ओभरभित्र एक सय चार रन जोडेका थिए । तेस्रो एनपिएलमा यो पहिलो विकेटका लागि दोस्रो ठुलो शतकीय साझेदारी हो । यसअघि विराटनगर किंग्सका लोकेश बम र इमरान सेखले जनकपुर बोल्ट्सविरुद्ध एक सय सात रनको ओपनिङ साझेदारी गरेका थिए ।
अस्ट्रेलियन ४० वर्षीय चर्चित ब्याटरले ५० बलमा ६६ रन बनाएका हुन् । नौ चौका र एक छक्का हिर्काएका उनलाई शेर मल्लले सन्दीप जोराबाट क्याच गराएका थिए । एनपिएलको आफ्नो तेस्रो खेलमै वार्नरले अर्धशतक पूरा गरेका हुन् । उनले यसअघि पहिलो खेलमा कर्णाली याक्सविरुद्ध १६ तथा विराटनगर किंग्सविरुद्ध अविजित ४४ रन बनाएका थिए ।
अर्का नेपालका १९ वर्षीय विकेटकिपर तथा ब्याटर साहिलले ३६ बलमा ३८ रनको योगदान गरे । समान दुई चौका र छक्का प्रहार गरेका साहिललाई शेर मल्लले नै कप्तान रोहितबाट क्याच गराएका थिए ।
श्रीलंकाका ३० वर्षीय मध्यक्रमका ब्याटर सहान अराचिगेले १५ बलमा अविजित ३४ रन बनाए । उनले तीन चौका र एक छक्का हिर्काएका थिए । प्रतियोगितामा उनको यो दोस्रो खेल हो । यसअघि श्रीलंका स्टारले विराटनगरविरुद्ध नौ विकेटको जित निकाल्दा दुई विकेट लिएका थिए । उनले दुई ओभरमा मात्र सात रन खर्चिएका थिए ।
यसबाहेक तेस्रो नम्बर क्रिजमा आएका कप्तान करण केसीले १० बलमा मात्र नौ रन बनाए । अस्ट्रेलियाका विलियम बोसिस्टो डकआउट हुँदा रसिद खानले मात्र एक रन जोडे । पाकिस्तानका जनाथन खानले तीन बलमा ६ रन बनाए । नेपालका चर्चित अलराउन्डर आदिल आलम फेरि एक बलमा एक रन बनाएर चुकेका थिए । सन्तोष यादव पनि दुई रन बनाएर रनआउट भएका हुन् ।
लुम्बिनीका लागि शेर मल्ल, रुबेन ट्रम्पलम्यान र अभिशेष गौतमले समान दुई विकेट लिएका थिए ।