चौथो हारपछि पोखराको प्लेअफ कमजोर

शनिबार, २१ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडाैं- पोखरा एभेन्जर्सले लगातार चौथो हार व्यहोरेपछि प्लेअफ पुग्ने सम्भावना निकै कमजोर बनेको छ । शुक्रबार त्रिवि मैदानमा ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५१ रनको बनायो ।

प्रत्युत्तरमा पोखरा १९ ओभरमा अलआउट हुँदा मात्र एक सय २१ रन बनाउन सक्यो । लगातार चौथो हारपछि आठ टिम सहभागी प्रतियोगितामा पोखरा पुछारमा छ ।

यसअघि पोखरा सुदूरपश्चिम रोयल्सँग ६ विकेट, जनकपुर बोल्ट्ससँग नौ रन तथा लुम्बिनी लायन्ससँग आठ विकेटले पराजित भएको थियो ।

यता, चितवन दोस्रो जितपछि तेस्रो स्थानमा उक्लिएको छ । उसको चार खेलबाट पाँच अंक भयो । चितवनले पहिलो खेलमा विराटनगर किंग्सलाई आठ विकेटले हराएको थियो ।

दोस्रो खेलमा वर्षा बाधक बन्दा लुम्बिनी लायन्ससँग अंक बाँडेको थियो । तर, तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पाँच विकेटले पराजित भएको थियो ।

कप्तान परिवर्तन, तैपनि आएन नतिजा
चौथो खेलमा पोखराले कप्तान परिवर्तन गर्यो । नियमित कप्तान कुशल भुर्तेलले लगातार खराब प्रदर्शन गरेपछि पोखराले ३० वर्षीय श्रीलंकन बलिङ अलराउन्डर चामिका करुनारत्नेले कप्तान गरे ।

चामिकासँग श्रीलंकाको राष्ट्रिय टिमबाट तीनै फर्म्याटको क्रिकेटसँगै आइपिएललगायत फ्रेन्चाइज लिगहरू खेलेको अनुभव छ । यसअघि जनकपुर बोल्ट्स र चितवन राइनोजले पनि कप्तान परिवर्तन गरेका थिए । पोखराको इनिङ्समा अर्जुन कुमालले ४४ बलमा सर्वाधिक ४५ रन बनाए ।

उनले तीन चौका र एक छक्का हिर्काएका थिए । यसअघि पहिलो इनिङ्समा चितवनका कप्तान सिकन्दर राजाले १६ बलमा दुई चौका र चार छक्कासहित सर्वाधिक ३७ रन बनाएका थिए ।

रवि बोपराले २८ बलमा ३५ रनको योगदान गरे । सिकन्दर राजा र रविले छैटौँ विकेटका लागि ६० रनको साझेदारी गरेका थिए । 

सुझावित समाचार