धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३, ओडारेमा भीषण आगलागी हुँदा ८० लाख रुपैयाँबराबरको क्षति भएको छ। ओडारेका जीवन थापामगरको घर र बाख्रा फार्ममा लागेको आगोले ७९ वटा बाख्रासहित कुखुरालगायत धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक दाहालका अनुसार आगलागीबाट मगरको ३ तलाको घर, गोठसहित ७९ वटा बाख्रा, एउटा गाईको बाच्छी, २५ वटा कुखुरा, २ तोला सुन, २ लाख नगद, दुईवटा फ्रिज, काठ काट्ने मेसिन, खाद्यान्नलगायतका सामाग्रीहरू जलेर नष्ट भएका छन्।
विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। थापा परिवारलाई गाउँपालिकाले तत्कालका लागि आवश्यक राहत सामग्री उपलब्ध गराएको छ। गाउँपालिकाले तर्फबाट खाद्यान्न, लत्ताकपडा, बासका लागि टेन्ट (पाल), ग्यास चुलो, सिलिन्डर र भान्छाका लागि आवश्यक भाँडाकुँडा हस्तान्तरण गरेको हो।