जेन-जी आन्दोलनका क्रममा प्रदेश सभा भवनमा क्षति पुगेपछि लामो समयदेखि अवरुद्ध बागमती प्रदेश सभा बैठक मंगलबारदेखि पुनः सञ्चालन हुने भएको छ। हेटौँडा–२ स्थित हेटौँडा उपमहानगरपालिका परिसरमा निर्माण गरिएको मुख्यमन्त्री सभाहलमा मंगलबार दिउँसो ४ बजे प्रदेश सभा बैठक बस्ने तय भएको हो। जेन-जी आन्दोलनका क्रममा प्रदेश सभा सचिवालयसहित सभाहल र प्रदेश सरकारका अन्य संरचना जलेपछि प्रदेश सभा बैठक प्रभावित भएको थियो । साउन २७ मा बसेको प्रदेशसभा बैठक त्यसयता बस्न सकेको थिएन।
प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईंका अनुसार क्षति पुगेको भवनको सामान्य मर्मत गरेर अस्थायी रूपमा बैठक सञ्चालन गर्न लागिएको हो। हाल सभामुख पद रिक्त रहेको अवस्थामा सभा सञ्चालन तथा सचिवालय व्यवस्थापनको जिम्मेवारी उपसभामुख चापागाईंको काँधमा छ। जेन-जी आन्दोलनपछि तत्कालीन सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका थिए। उनले असोज १ गते लिखित राजीनामा दिए पनि मंसिर ४ मा अधिवेशन अन्त्य भएपछि मात्र उक्त राजीनामा सार्वजनिक गरिएको थियो। उपसभामुख चापागाईंका अनुसार साबिकको प्रदेश सभा सचिवालय भवन जलेर नष्ट भएकाले हाल अस्थायी रूपमा दुई स्थानबाट कार्यसम्पादन गरिनेछ। ‘पुरानो सचिवालय भवनमा मर्मत-सम्भार गरी सचिवालय, संसदीय दलका कार्यालय र सुरक्षाकर्मी बस्ने व्यवस्था मिलाइएको छ,’ उनले भनिन्, ‘भवन निर्माण नहुन्जेलसम्म नगरपालिकाको हललाई अस्थायी बैठक स्थलका रूपमा प्रयोग गरिनेछ।’ बैठक सञ्चालनका लागि आवश्यक माइक प्रणाली भाडामा ल्याइएको तथा आन्तरिक मामिला मन्त्रालयबाट जेनेरेटरको व्यवस्था गरिएको उनले जानकारी दिइन्। सचिवालयले टेबुल, कुर्सी र पर्दालगायत सामग्री खरिद गरी बैठकको तयारी पूरा गरेको छ।
बैठकका एजेन्डा तय गर्न सर्वदलीय छलफल, नयाँ सभामुख चयनको प्रक्रिया पनि सुरु हुने मंगलबार बस्ने प्रदेश सभा बैठकका कार्यसूची कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गर्नेछ। संसद् बैठकअघि दिउँसो १ बजे सर्वदलीय बैठक र २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तय भएको उपसभामुख चापागाईंले जानकारी दिइन्। मंगलबारको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू वाचन गरिने, नियमावलीअनुसार सभा सञ्चालनका लागि सदस्यहरूको मनोनयन गरिने तथा ६ वटा राजनीतिक दलका प्रमुख नेताहरूले शुभकामना मन्तव्य दिने कार्यक्रम रहेको । यसका साथै प्रदेश सभा सदस्यहरूले आफ्नो क्षेत्रका समस्या राख्न ‘विशेष समय’ उपलब्ध गराउने एजेन्डा पनि रहेको उनले जानकारी दिइन् ।
आगामी बैठकहरूमा सवारी तथा यातायात व्यवस्था ऐनको उत्तरविधायिकी परीक्षण प्रतिवेदन पेस गर्ने, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी विधेयक र प्रदेश खानेपानी तथा सरसफाइसम्बन्धी विधेयक पेस गर्ने तथा प्रदेश लोकसेवा आयोग र आदिवासी जनजाति आयोगका वार्षिक प्रतिवेदन पेस गर्ने तयारी रहेको छ। उपसभामुख चापागाईंका अनुसार रिक्त रहेको सभामुख पदमा नयाँ सभामुख चयनको प्रक्रिया पनि यसै अधिवेशनबाट अघि बढ्न सक्ने सम्भावना छ। सर्वदलीय बैठकको सहमतिअनुसार सभामुख निर्वाचनको सूचना जारी हुन सक्ने उनले बताइन्। संविधानअनुसार सभामुख पद रिक्त रहेको अवस्थामा संसद् बैठक सञ्चालन भएको १५ दिनभित्र नयाँ सभामुख चयन प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ।