कोशी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ। जेन–जी आन्दोलनपछि २५ माघदेखि विराटनगरस्थित भाडाको भवनमा सुरु भएको प्रदेश सभाको आठौँ अधिवेशन २३ चैत रातिदेखि अन्त्य गरिएको हो।
कोशी सरकारको सिफारिसपछि प्रदेश प्रमुख परशुराम खापुङले हिउँदे अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
२३ र २४ भदौको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले गर्दा विराटनगरको देवकोटा चोकमा रहेको प्रदेश सभाको बैठक र सचिवालय भवन ध्वस्त भएको थियो। यसैले कटहरी गाउँपालिका– १, जमटोकीमा रहेको कृषि थोक बजारमा २६ कात्तिकमा कोशी प्रदेश सभा सचिवालय स्थानान्तरण भएको थियो।
स्थानान्तरण भएको स्थानमा पनि स्तरोन्नति ढिलाइ हुँदा कोशी प्रदेश सभाको हिउँदे अधिवेशन विराटनगर– ७ स्थित महानगरपालिकाको सभागृह भाडामा लिएर २५ माघदेखि सञ्चालन हुन थालेको थियो।
आमसञ्चार विधेयक पारित
प्रदेश सभाले आमसञ्चार विधेयक पारित गरेको छ। सोमबार बसेको कोशी प्रदेश सभाको बैठकले लामो समयदेखि विचाराधिन आमसञ्चार विधेयक सर्वसम्मतिले पारित गरेको हो।
कोशी प्रदेश सरकारले पत्रकार र पत्रकारिताको हकहितविरोधी दण्ड सजाय र जरिवानासमेत प्रावधान राखेर सञ्चार विधेयक पारित गर्न खोजेको भन्दै कोशीका पत्रकारहरूले चर्को विरोध गरेका थिए। त्यसैले, जेन-जी आन्दोलनअघि नै समितिले दफावार छलफल गरेर संसदमा पेस गरेको उक्त विधेयक छलफल नै रोकिएर बसेको थियो।
पत्रकारहरूको चौतर्फी विरोधपछि फेरि प्रदेश सभाले उक्त विधेयक समितिमै फिर्ता पठाएर विवादित दफाहरू संशोधन गराएर पुनः संसदमा पेस गरेपछि सोमबार उक्त विधेयक सर्वसम्मतिले पारित भएको हो।