प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको ‘पावर्ड बाई’ प्रायोजकमा यामाहा नियुक्त भएको छ । युवा खेलाडीको सपना साकार पार्ने र नेपाली खेलकुदको उत्साहलाई सम्मान गर्ने उद्देश्यले यो सहकार्य गरिएको बताइएको छ ।
एक महिनासम्म चल्ने प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान)ले हरेक वर्ष आयोजना हुँदै आएको छ । यो प्रतिष्ठित प्रतियोगिताले प्रत्यक्ष प्रसारण, मोटरसाइकल एवं नगद पुरस्कारसहितका विभिन्न प्रमुख अवार्डहरू वितरण गरिने पोस्ट–म्याच कार्यक्रममार्फत उच्चस्तरीय ब्रान्ड भिजिबिलिटी प्रदान गर्ने जनाइएको छ ।
उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गर्न यामाहाले आकर्षक पुरस्कारको समेत व्यवस्था गरेको बताएको छ । प्रतियोगिताका उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र ‘प्लेयर अफ द म्याच’लाई जनही एक–एकवटा यामाहा सलुटो मोटरसाइकल प्रदान गरिनेछ, जसले उनीहरूको खेल कौशल, मिहिनेत र उत्कृष्ट प्रदर्शनलाई सम्मान गर्ने अपेक्षा गरिएको छ ।
सम्झौतापछि क्यानका सचिव पारस खड्काले भने, ‘पिएम कपमा यामाहाको सहभागिताले हामीलाई खुसी लागेको छ । यस्ता सहकार्यले घरेलु क्रिकेटलाई थप मजबुत बनाउनुका साथै खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न प्रेरित पनि गर्नेछ ।’
एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली युवाको उत्साह झल्काउने प्रतियोगितालाई समर्थन गर्न पाउँदा गौरवबोध भएको बताए । कम्पनीका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले यामाहा सधैँ सपनाको शक्तिमा विश्वास गर्ने बताए ।