बागमती प्रदेश सभा साढे ६ महिनादेखि सभामुखविहीन बन्दा संसद बैठक पनि बस्न सकेको छैन । जसकारण अत्यावश्यक विधेयक पनि प्रभावित भएका छन् ।
तत्कालीन सभामुख भुवनकुमार पाठकले जेन–जी आन्दोलनपछि गत १ असोजमा सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए । प्रदेश सभा सचिव रामकुमार पौडेलका अनुसार सभामुख चयनमा ढिलाइ हुँदा विधेयकहरूमाथि छलफल तथा पारित गर्ने प्रक्रिया प्रभावित भएको छ । गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि बनेको राजनीतिक परिस्थिति, प्रदेश सभा भवनमा भएको आगजनी तथा प्रतिनिधिसभा निर्वाचनको तयारीलगायत कारणले पनि बैठक बस्न नसकेको सरकारको दाबी छ ।
तर, प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठन प्रक्रिया टुंगिसक्दा पनि प्रदेश सरकारले प्रदेश सभा बैठक बोलाउन भने सकेको छैन । पछिल्लोपटक गत २७ साउनमा बैठक बसेको थियो । त्यसदिन मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल भएको थियो ।विश्वासको मत प्राप्त गरेपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । त्यसयता अहिलेसम्म प्रदेश सभा बैठक बस्न सकेको छैन ।
सभामुखमा दलहरूबिच आन्तरिक सहमति जुटन सकेन
सभामुख पदमा दलहरूबिच आन्तरिक सहमति नजुट्दा प्रदेश सभाको गतिविधि ठप्प बनेको छ । गत १९ माघमा बागमती प्रदेश सभाले आठौँ वार्षिकोत्सव मनाए पनि त्यसयता कुनै उल्लेख्य संसदीय गतिविधि हुन सकेको छैन ।
सभामुख पद कसले लिने भन्ने विषयमा सत्तारूढ गठबन्धनभित्रै सहमति नजुटेकाले बैठक अन्योलमा परेको हो । सत्तासाझेदार कांग्रेस र एमालेबिच सभामुख पदको दाबीमा सहमति हुन सकेको छैन । प्रदेश उपसभामुख एमालेकी अप्सरा चापागाईं छिन् । जसले गर्दा कांग्रेसले सभामुख आफूले पाउनुपर्ने दाबी गरेको छ । प्रतिपक्षी नेपाली कम्युनिस्ट पार्टीले उपसभामुख सत्तासाझेदार दलको भएकाले सभामुख पदमा आफ्नो स्वाभाविक दाबी रहने बताउँदै आएको छ ।
सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले भने सभामुखको विषयका कारण बैठक रोकिने अवस्था नरहेको दाबी गरे । उनले सभामुख पदमा कांग्रेसको दाबी रहेको र पार्टीको संसदीय दलले पनि यसबारे निर्णय गरिसकेको बताए । तामाङका अनुसार प्रदेश सभाको अधिवेशन आह्वान नभएसम्म सभामुखको निर्वाचन हुन सक्दैन । अधिवेशन सुरु भएपछि भने १५ दिनभित्र सभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको उनले बताए । सभामुख चयनका लागि सत्तासाझेदार तथा प्रतिपक्षी दलसँग सहमति र सहकार्य गरेर अघि बढिने उनको भनाइ छ ।
चैतभित्र बैठक बोलाउने तयारी
आर्थिक मामिलामन्त्री प्रभात तामाङले २५ चैतभित्र प्रदेश सभाको अधिवेशन बोलाउने तयारी भइरहेको बताए । उनले कांग्रेस संसदीय दलको बैठकले २५ चैतसम्म बैठक बोलाउन सरकारलाई अनुरोध गरेको र सोहीअनुसार तयारी भइरहेको बताए । प्रदेश सभा बैठक ढिलाइ हुनुमा प्रदेश सभा भवनमा भएको क्षति तथा बैठक बस्ने उपयुक्त स्थानको अभाव मुख्य कारण रहेको उनले बताए । प्रतिनिधिसभा निर्वाचनको प्रक्रिया सुरु भएकाले पनि अधिवेशन बोलाउन ढिलाइ भएको उनको भनाइ छ ।
उपसभामुख अप्सरा चापागाईंले संघीय संसद् बैठक सुरु भएपछि प्रदेश सभा बैठक र सभामुख चयन प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताइन् । उनका अनुसार प्रदेश सभा सचिवालय बैठक सञ्चालनका लागि पूर्ण रूपमा तयार भए पनि मन्त्रिपरिषद्ले निर्णय नगर्दा ढिलाइ भएको हो ।
‘मुख्यमन्त्रीज्यूसँग यसबारे छलफल गरिरहेकी छु । उहाँले माथिको हाउस बसोस्, अनि सुरु गरौँला भन्नुभएको छ,’ उनले भनिन्, ‘अहिले सदनका लागि पर्याप्त बिजनेस पनि छ, अब सदन आह्वान गर्न ढिलाइ गर्नुहुन्न ।’
प्रदेश सभा सचिवालयका अनुसार तीनवटा नयाँ विधेयक ल्याउने तयारी छ । दुईवटा विधेयक पहिलेदेखि नै छलफलको प्रतीक्षामा छन् । सचिवालयले सदन सञ्चालनका लागि व्यवस्थापन तयारी पूरा गरिसकेको उपसभामुख चापागाईंले बताइन् । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सभा बैठक तत्काल बोलाउनुपर्ने बताए । लामो समयदेखि बैठक बस्न नसक्दा जनताका मुद्दा ओझेलमा परेको भन्दै उनले अब ढिलाइ गर्न नहुने बताए । ‘सरकारले हल र अन्य समस्या देखाएर संसद् बैठक पन्छाउनुहुँदैन,’ उनले भने, ‘जनताका समस्या र सांसदहरूले आफ्ना क्षेत्रका कुरा राख्ने मञ्चलाई यसरी अवरुद्ध गर्नु उचित होइन, अब सदन सुचारु गर्नुपर्छ ।’