- सभामुख पदका लागि डोलप्रसाद अर्यालको मात्र उम्मेदवारी दर्ता भएपछि निर्विरोध हुने प्रक्रिया सुनिश्चित, आइतबार बस्ने प्रतिनिधिसभा बैठकले घोषणा गर्ने
प्रतिनिधिसभाको सभामुख पदमा रास्वपा उपसभापति डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सभामुख पदका लागि अर्यालको मात्र उम्मेदवारी दर्ता भएपछि निर्विरोध हुने प्रक्रिया सुनिश्चित भएको हो । नयाँ प्रतिनिधिसभामा २२ चैतमा सभामुख निर्वाचन हुन लागेको छ ।
संसद् सचिवालयका अनुसार अर्यालको प्रस्तावकमा रवि लामिछाने र समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनील लम्साल रहेका छन् । २२ गते बस्ने पहिलो बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावक र समर्थकले प्रस्ताव राख्ने, उम्मेदवारीमाथि छलफल गर्ने र दर्ताक्रमानुसार निर्णय गर्ने प्रक्रिया पूरा गरिनेछ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अर्यालको एकल उम्मेदवारी परेसँगै उनी निर्विरोध निर्वाचित हुने र आइतबार बस्ने सभाले घोषणा गर्ने बताए । धादिङनिवासी अर्याल काठमाडौं ९ बाट निर्वाचित सांसद हुन् ।
संविधानअनुसार प्रतिनिधिसभाको पहिलो बैठक भएको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचित हुनुपर्छ । पहिलो बैठक १९ चैतमा सम्पन्न भएको थियो ।