ओली र लेखकको बयान अघि बढ्यो

शुक्रबार, २० चैत, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बयान सुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालय र प्रहरीले बुधबार लेखकको तथा बिहीबार ओलीको बयान लिएको छ । 

ओली अस्पतालमा भर्ना भएकाले अस्पतालमा गएर सोधपुछ गरिएको स्रोत बताउँछ । उता दुवैलाई जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि म्याद थपको आदेश गरेको छ । बयानसमेतका कार्य बाँकी रहेको भन्दै दुई दिनको म्याद थप गरिएको हो । 

पूर्वगृहमन्त्री लेखकको बयान सम्पन्न भएको तथा ओलीको बयान भइरहेकै हुँदा अनुसन्धान गर्न बिहीबारदेखि लागू हुने गरी दुई दिनको म्याद थपको आदेश भएको हो । आज पनि स्वास्थ्य अवस्थाको कारण देखाउँदै पूर्वप्रधानमन्त्री ओलीले भिडियोकै माध्यमबाट अनुसन्धान अधिकारीहरूसमक्ष बयान दिएका थिए । 

आदेशमा भनिएको छ, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उपचारार्थ अस्पतालमा रहेको र स्वास्थ्य अवस्था जटिल रहेको भनी निजले म्याद थपको क्रममा श्रव्य–दृश्य माध्यमबाट व्यक्त गर्नुभएकाले बयान कार्य सम्पन्न भएपश्चात् निजको स्वास्थ्य उपचारसमेतलाई असर नपर्ने गरी अनुसन्धान कार्य गर्नसमेत आदेश गरिदिएको छ,’ आदेशमा छ ।

न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले उक्त आदेश गरेको हो । ओली र लेखकमाथि पुरुषोत्तम खतिवडाको जाहेरीले वादी नेपाल सरकार भएको ज्यानसम्बन्धी कसुरमा ओली र लेखकमाथि अनुसन्धान भइरहेको छ । भदौ २३ र २४ को आन्दोलनमा दमन गरेको भन्दै उनीहरूलाई गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले सुझाएको थियो । त्यसैअनुसार गत शनिबार बिहान उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएकोमा आइतबार जिल्ला अदालत काठमाडौंले पाँच दिनको म्याद थप गरेको थियो । उनीहरू दुवैलाई थुनामुक्त गर्नुपर्ने भन्दै दायर रिटहरू सर्वोच्चमा विचाराधीन छन् । 

सुझावित समाचार