संघीय संसद्काे पहिलो बैठकमा के–के हुन्छ ?

मंगलबार, १७ चैत, २०८२
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले संविधानको धारा ९३(१) बमोजिम १९ चैत बिहीबार २ बजे संघीय संसद् भवन सिंहदरबारमा बस्ने गरी दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । २१ फागुनको निर्वाचनपछिको पहिलो संसद् बैठक बिहीबार बस्दै छ । 

अधिवेशन आह्वान भएसँगै संसद् सचिवालयले १९ गते २ बजे बैठकमा उपस्थित हुन सांसदहरूलाई अनुरोध गर्दै सूचना जारी गरेको छ । आउँदो बिहीबार २ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक बस्नेछ । प्रतिनिधिसभाको बैठक नयाँ भवनस्थित बहुउद्देश्यीय हलमा बस्नेछ भने राष्ट्रिय सभाको संसद् सचिवालय परिसरमा रहेको कृषि समितिमा बनाइएको नयाँ हलमा बस्नेछ । 

पहिलो बैठकमा के–के हुन्छ ? 
ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा बस्ने पहिलो बैठकको सुरुवातमा राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाइन्छ । ज्येष्ठ सदस्यले आफ्नो शुभकामना मन्तव्य दिने अभ्यास पनि छ । बैठकमा सरकारले आफूले ल्याएका अध्यादेशहरू पेस गर्न सक्छ ।

यसैगरी दलीय प्रतिनिधित्वको आधारमा शुभकामना मन्तव्य दिने अभ्यास छ । सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने अध्यक्षमण्डलको चयन दलीय आधारमा पहिलो बैठकले गर्छ । प्रतिनिधिसभा नियमावली नयाँ बनाउन मस्यौदा समिति गठन गर्ने तथा आवश्यक अन्य समितिहरू पनि पहिलो बैठकले गठन गर्न सक्छ । 

सुझावित समाचार