ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश जारी

सोमबार, १६ चैत, २०८२
डिजिटल संस्करण

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुको कारण स्पष्ट पार्न सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले उक्त आदेश दिएको हो।

ओलीको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै अदालतले निवेदकले माग गरेबमोजिम अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरेको हो। सर्वोच्चले ओलीलाई पक्राउ गर्नुको कारणसहित लिखित जवाफ पेस गर्न र बहसका लागि उपस्थित हुन विपक्षी पक्षलाई आदेश दिएको छ।

ओलीलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी श्रीमती राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएकी थिइन्।

भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा गरिएको कार्यसम्पादनमाथि प्रश्न उठेपछि घटनाको छानबिन गर्न सरकारले जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले आफ्नो प्रतिवेदनमा ओलीसँगै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अनुसन्धान गर्न सिफारिस गरेको थियो।

सोही सिफारिसका आधारमा शनिबार बिहान प्रहरी टोलीले ओली र लेखकलाई पक्राउ गरेको थियो। 

सुझावित समाचार