ओलीनिवासमा एमाले नेताहरू महेश बस्नेत, रामकुमारी झाँक्री, क्षितिज थेबेलगायत नेता एवं कार्यकर्ता थिए
शुक्रबार मध्यराति ओली र लेखकलाई पक्राउ गर्ने सहमति जुटेपछि प्रहरीले रातिभन्दा शनिबार बिहान पक्राउ गर्नु उचित हुने प्रस्ताव गृहमन्त्री सुदन गुरुङसमक्ष गरेको थियो । उक्त प्रस्ताव गृहमन्त्रीले स्वीकार गरेका थिए ।
त्यसैअनुसार नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीले उपत्यकाका प्रहरी कमान्डहरूलाई प्रधान कार्यालयमा बोलाएर ओली र लेखकलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।
ललितपुर परिसरका एसएसपी होविन्द्र बोगटी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का र भक्तपुर परिसरका डिएसपी सूर्य खड्कालाई पक्राउमा खटाइयो भने काठमाडौं परिसरका एसएसपी रमेश थापालाई अन्य सुरक्षा व्यवस्थामा लगाइएको थियो ।
ओलीनिवासमा भने शुक्रबार बेलुकादेखि नै प्रहरी टोली निगरानीमा खटिसकेको थियो । पक्राउ गर्न खटिएको टोली साढे ४ बजे पुग्यो । ओलीनिवासमा एमाले नेताहरू महेश बस्नेत, रामकुमारी झाँक्री, क्षितिज थेबेलगायत जागै थिए ।
प्रहरीले पक्राउ गर्न आएको जानकारी गराए । उनीहरूले ओली भर्खरै सुतेको जानकारी दिए । उनीहरूले नै ओलीलाई प्रहरी पक्राउ गर्न आएकोबारे जानकारी गराएपछि ओलीले प्रहरीका अधिकारीलाई पठाउन निर्देशन दिए । सामान्य कुराकानीपछि ओलीले पक्राउ पुर्जीमा हस्ताक्षर गरेको एक प्रहरी अधिकारीले बताए ।
कोठाबाट बाहिर निस्किएर ओलीले आफ्ना नेता तथा कार्यकर्तालाई भनेका थिए, ‘मैले गिरफ्तारी दिएँ ।’ ओलीले त्यसो भनेपछि त्यहाँ रहेका नेता–कार्यकर्ताले प्रहरीलाई अवरोध गरेनन् ।
आफ्नै गाडीमा राखेर उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौं लगिएको थियो । त्यहाँ करिब दुई घण्टा राखेपछि त्रिवि शिक्षण अस्पताल लगिएको हो । त्यस्तै, पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गर्न भने एसपी नवरत्न पौडेल र मनोहर भट्टको टोली खटिएको थियो । उनलाई करिब ६ बजे पक्राउ गरिएको थियो । पक्राउ गर्न लेखकले पनि प्रहरीलाई सघाएका थिए ।