प्रधानमन्त्री बालेनलाई भारत, चीन, अमेरिका, जापानको बधाई

आइतबार, १५ चैत, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाहलाई अन्तर्राष्ट्रिय समुदायको बधाई आउने क्रम जारी छ । शुक्रबार प्रधानमन्त्री नियुक्त भएलगत्तै उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत बधाई दिएका थिए । उनले नेपाली, हिन्दी र अंग्रेजी भाषामा अलग–अलग जारी गरेको सन्देशमा दुई देशको मित्रता र सहयोग नयाँ उचाइमा लैजाने प्रतिबद्धता जनाएका छन् ।

‘नेपालको प्रधानमन्त्रीको रूपमा शपथग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहज्यूलाई हार्दिक बधाई । यहाँको यस नियुक्तिले नेपाली जनताले यहाँको नेतृत्वप्रति राखेको विश्वासलाई प्रतिबिम्बित गर्दछ,’ मोदीले भनेका छन्, ‘हाम्रा दुई देशका जनताको आपसी हितका लागि भारत–नेपाल मित्रता र सहकार्यलाई अझ उचाइमा पुर्याउन म यहाँसँग मिलेर काम गर्न तत्पर छु ।’ 

चिनियाँ प्रधानमन्त्री ली छ्याङले प्रधानमन्त्री शाहलाई बधाई सन्देशमा नेपाल र चीन परम्परागत छिमेकी देश भएको, जसलाई पहाड र नदीले जोडेको उल्लेख गर्दै कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्षमा दुवै देशले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको मार्गदर्शनमा द्विपक्षीय सम्बन्ध विकास गरेको बताएका छन् । उनले प्रधानमन्त्री शाहसँग नजिकबाट सहकार्य गर्न तयार रहेको बताउँदै बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)लाई संयुक्त रूपमा अगाडि बढाउने र उच्चस्तरीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेको नेपालका लागि चिनियाँ दूतावासले जनाएको छ । 

जापानका प्रधानमन्त्री ताकाइची सानाएले प्रधानमन्त्री शाहलाई चिठी लेखेर बधाई दिएकी छिन् । नेपालका लागि जापानी राजदूत माएदा तोरुले शीतलनिवासमा प्रधानमन्त्री शाहलाई बधाई दिने क्रममा चिठी हस्तान्तरण गरेका हुन् । जापानी विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री सानाएले चिठीमा नेपाल–जापान द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री शाहसँग सहकार्य गर्न चाहेको उल्लेख गरेकी छन् । 

अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसियाली मामिला व्युरोले प्रधानमन्त्रीलाई बधाई दिँदै आपसी समृद्धि र क्षेत्रीय स्थिरता प्रवर्द्धन गर्न सहकार्य गर्ने भनेको छ । ‘नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई बधाई । संयुक्त राज्य अमेरिका नेपालसँग मिलेर आपसी समृद्धि र क्षेत्रीय स्थिरता प्रवर्द्धन गर्न सहकार्य गर्न उत्सुक छ,’ ब्युरोले भनेको छ । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले पनि बधाई सन्देश पठाउँदै शान्ति, स्थिरता र साझा समृद्धि प्रवर्द्धनमा सफलताका लागि शुभकामना दिएका छन् । पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारी तथा प्रधानमन्त्री सहबाज सरिफले सामाजिक सञ्जाल एक्समा बधाई सन्देश जारी गरेका छन् । जर्दारीले दक्षिण एसियामा नयाँ सहकार्य र सम्बन्ध सुदृढ हुने आशा व्यक्त गरेका छन् । ‘युवा नेतृत्वले क्षेत्रलाई नयाँ दिशा दिइरहेको देख्न पाउँदा खुसी लागेको छ । पाकिस्तान नेपालसँगको दीर्घकालीन सम्बन्धलाई महŒव दिन्छ र सबै क्षेत्रमा सहकार्य अझ गहिरो बनाउने अपेक्षा गर्दछ,’ उनले भनेका छन् ।

चिनियाँ र भारतीय विदेशमन्त्रीको सन्देश
चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाली समकक्षी शिशिर खनाललाई पठाएको बधाई सन्देशमा विगतमा भएका उच्चस्तरीय सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । वाङले चीन र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुवै देशले सुख–दुःखमा साथ दिँदै आएको तथा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा द्विपक्षीय सम्बन्ध निरन्तर विकास गर्दै आएको उल्लेख गरेका छन् । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई दिँदै एक्समा उल्लेख गरेका छन्, ‘हाम्रो परम्परागत साझेदारीलाई थप सुदृढ बनाउन उहाँसँग मिलेर काम गर्न तत्पर छु ।’
 

सुझावित समाचार